हाई परी !

Pari-Thapaमेरो नामबारे धेरै जना कन्फ्युज हुन्छन् । अनि जिज्ञासापूर्ण प्रश्नहरू गरिरहन्छन् । सायद नाम अलि अनौठो भएर पनि होला । फेसबुकमा मलाई केटी ठानेर च्याट गर्नेहरू पनि निकै भेटिन्छन् । लेख्छन्– ‘हाई परी, हाई सुन्दरी, हेलो डार्लिङ, हाई सिस्टर †’ मलाई राम्ररी नचिनी फ्रेन्ड रिक्वेस्ट पठाउने केटासाथीहरूले यस्ता म्यासेज बढी पठाइरहेका हुन्छन् । केटी ठानेर जिस्किन खोज्छन् । धेरैजसो केटाको प्रश्न हुन्छ– ‘अनि फ्रोफाइलमा चाहिँ किन केटाको फोटो राखेको नि ? आफ्नै फोटो राख न †’ मलाई नचिन्ने अनि नदेख्नेहरूलाई के थाहा म को हुँ भन्ने । नाम देखेकै आधारमा केटीजस्तो लाग्दो हो । यस्ता प्रश्न सोध्नेहरूलाई देखेर कहिलेकाहीँ हाँसै उठ्छ मलाई त । तर, प्रायजसो चाहिँ सामान्य रूपमा लिन्छु । साँच्चैको परी नै होली भनेर मसँग जिस्किन खोज्छन्, वास्तै गर्दिनँ ।
फेसबुकमा नाम एउटा अनि फोटो अर्को राख्ने प्रवृत्ति पनि छ । यसै कारण केटाहरूले म केटी हुँ भनेर शंका गर्दा रहेछन् । मलाई नचिन्ने युवापुस्ताबीच म नेता होइन, सुन्दरीका रूपमा परिचित छु । तर, पुराना पुस्ता अनि राजनीतिक व्यक्तित्वका बीच मेरो जुन वास्तविक परिचय स्थापित भएको छ, त्यही नै मेरा लागि काफी छ । हुन त चिनेकै साथीहरू पनि कहिलेकाहीँ जिस्किँदै भन्छन्– के छ त सुन्दरी †
मेरो जन्म मलेसियामा भएको । त्यहीँका पण्डितले न्वारनमा जुराइदिएको मेरो नाम प्रीतम हो । कक्षा २ पढ्दासम्म त्यही नाम स्कुलमा पनि थियो । नाम प्रीतम भए पनि हजुरबुबाचाहिँ मलाई परि भन्नुहुन्थ्यो । किन भन्नुभयो, त्यसको कारण मलाई थाहा छैन । तीन कक्षामा पुग्दा स्कुलमा पनि उहाँले मेरो नाम परि नै लेखाइदिनुभयो । नौ कक्षामा एसएलसीको रजिस्ट्रेसन फारम भर्ने बेला थुप्रै साथीले आफ्नो नाम फेरे । बाबुआमाले राखिदिएको भन्दा नौलो र आधुनिक बनाए आफ्नो नामलाई । सरले मलाई पनि नाम फेर्ने भए फेर भन्नुभयो । सुझाव दिनुभयो– ‘तर तीन अक्षरभन्दा बढीको नाम उपयुक्त हुँदैन । समयअनुसार युनिक लाग्ने नाम राखे झन् राम्रो ।’ मलाई पनि परि नाम फेरौँ जस्तो लाग्यो, अनि पुरानै प्रीतम राख्न खोजेँ । तर, सरलाई प्रीतमभन्दा परि नै युनिक लागेछ । फेरि भन्नुभयो– ‘परि नै युनिक छ, यही नै राख न त ।’ सरका सल्लाहमा म परि नै रहेँ, सधैँभरिलाई ।
यो नामका कारण झमेला पनि निकै बेहोरेको छु । टियुमा विद्यार्थी रहँदा एकचोटि नामकै कारण विवाद भयो । आफ्नो फुर्सद नभएकाले साथीलाई फारम भर्न लगाएको थिएँ । फाराममा नाम केटीको, फोटो केटाको देखेपछि फारम लिने सरलाई शंका लागेछ । लिनै मानेनछन् । जसको फारम हो, ऊ आपैँm आउनुपर्छ भनेर अड्डी लिएछन् । केही नलागेपछि म आफँै उपस्थित भएँ । मलाई देखेपछि ती सर छक्कै परे । टियुमै छँदाको अर्को घटना । हामीले अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि क्याम्पस प्रशासनसँग हल माग गरेका थियौँ । निवेदनमा मेरै नाम लेखिएको थियो । विभागप्रमुख सरले मलाई भेट्न बोलाउनुभयो । म पुग्नासाथ छक्क पर्दै भन्नुभयो– ‘ए, म त कुनै सुन्दरीसँग पो भेट होला भन्ने सोच्दै थिएँ ।’
एकपटक पोखराबाट बुटवल जानु थियो । साथीले बसको टिकट ल्याइदिए । नाम सुन्दा टिकट काट्नेलाई म केटी हुँ भन्ने लागेछ । बसको एकापट्टि तीन जना बस्ने सिट थियो । त्यहाँ तीन जना केटी बस्ने गरी मलाई बीचको ठाउँ मिलाइदिएछ । पछि मलाई देखेपछि ऊ ट्वाँ…. पर्‍यो । उल्टै बोली फेरेर यसो पो भन्न थाल्यो– ‘मैले सरलाई गज्जबको सिट मिलाइदिएको छु नि †’ दुईतिर केटी, बीचमा म । मलाई साह्रै गाह्रो भयो । बाटोमा सिट साटेर छेउमा बसेँ ।
०४८ सालमा चुनाव जितेर सांसद भएँ । सुरुमा धेरैलाई म केटी भन्ने लागेको रहेछ । संसद् सुरु हुनु केही दिनपहिला संसदीय मर्यादा, पद्धतिबारे जानकारी गराउने कार्यक्रम थियो । संसद्मा कसरी पेस हुने, कपडा कस्तो लगाउनेजस्ता विषयमा जानकारी गराइन्छ त्यो बैठकमा । मलाई देख्नासाथ कांग्रेस नेता कृष्णप्रसाद भट्टराईले हाँस्दै भने– ‘परिलाई केटी भनेको त केटा पो रहेछन् †’ उहाँ मात्रै होइन, धेरै जना मलाई प्रत्यक्ष देखेपछि छक्कै पर्छन् । सांसद भएकै बेला भुटान भ्रमणमा गएको थिए । सोही क्रममा आयोजित कार्यक्रममा मेरा लागि तयार पारिएको सिटमा त ‘मिस परि’ पो लेखिएको रहेछ । मैले आयोजकलाई भनेँ– ‘म मिस हो कि मिस्टर ?’ उनीहरूले ‘सरी’ भने अनि तुरुन्तै सच्याइदिए ।
भूमिगत राजनीतिमा छँदा म अनि मेरो नामबारे कमै मान्छेलाई थाहा थियो । खुला राजनीतिमा आएपछि मेरो नाम पनि खुला भयो । चिनेकाहरूले अब सामान्य रूपमा लिन थालिसके । फेसबुकमा रहेका तर नचिनेका मित्रहरूचाहिँ मलाई केटी ठानेर ‘भेटौँ न’ भनिरहेका हुन्छन् । तर म किन जान्थेँ र ? औपचारिक कार्यक्रममा पुग्दा पनि समय निकालेर मेरो नामबारे जिज्ञासा राख्नेहरू थुप्रै हुन्छन् । कति हाँस्छन् पनि । अरू हाँसेको देख्दा मलाई पनि हाँसो उठ्छ । तर, मलाई आफ्नो नामप्रति कुनै गुनासो छैन । जे भए नि ससुरालीले भने अहिलेसम्म मलाई मेरो नामबारे कुनै प्रश्न सोधेका छैनन् । मलाई पहिल्यैदेखि चिनिराखेको र त्यो नामले मलाई बोलाउँदा नौलो नगागेकाले पनि होला । नत्र त सालासालीका प्रश्नको जवाफ दिँदादिँदा हैरानै भइन्थ्यो होला ।
हिजोआज धेरै ठाउँमा साहित्यिक नामजस्तो देखाउन ‘पी थापा’ लेख्छु । नजिकका साथीहरूले बोलाउनुपर्दा हेलो पी भन्छन् । परि लेख्दा अरूले दीर्घ लेख्छन्, तर म ह्रस्व लेख्छु । थुप्रैले सोध्छन्– के हो त यसको अर्थ ? म जवाफ दिन्छु– यो केवल नाम मात्रै हो, मेरो परिचायक ।
प्रस्तुति : चमिना

प्रतिक्रिया