वनका ५२ वटा भौतिक संरचनाको मात्र पुनर्निर्माण

काठमाडौं : माओवादीले चलाएको दशवर्षे द्वन्द्वकालमा मासिएका वनका भौतिक संरचनामध्ये अहिलेसम्म ५२ वटाको मात्र पुनर्निर्माण भएको छ । द्वन्द्वकालमा जिल्ला वन कार्यालय, इलाका वन कार्यालय, रेन्ज पोस्ट, तालिम भवन र सशस्त्र सुरक्षा गार्ड पोस्ट गरी जम्मा तीन सय २२ ओटा संरचना मासिएका थिए ।
वन विभागका अनुसार ३० वटा जिल्ला वन कार्यालय ध्वस्त भएका थिए । जसमा म्याग्दी, लमजुङ, अछाम, अर्घाखाँचीलगायत जिल्ला वन कार्यालय पर्छन् । त्यस्तै, ५२ इलाका वन कार्यालय, दुई सय ३५ रेन्ज पोस्ट, तालिम भवन दुई र सशस्त्र सुरक्षा गार्ड पोस्ट ३ वटा क्षतिग्रत भएका थिए ।
क्षतिग्रस्त र पूरै ध्वस्त भएकामध्ये जिल्ला वन कार्यालयमा एउटा पनि पुनर्निर्माण भएको छैन । अहिलेसम्म रेन्ज पोस्ट, तालिम केन्द्र र सशस्त्र सुरक्षा गार्ड पोस्ट गरी ५२ भौतिक संरचनाको मात्रै पुनर्निर्माण भएको विभागले जनाएको छ । ‘रेन्ज पोस्ट, तालिम केन्द्र र सशस्त्र सुरक्षा गार्ड पोस्ट १५ ओटा र इलाका वन कार्यालय २ गरी १७ ओटा संरचना निर्माण गर्ने प्रस्तावितमा छन्,’ विभागका प्रवक्ता देवेशमणि त्रिपाठीले भने, ‘अहिलेसम्म ५२ ओटा मात्रै बनिसकेका छन् ।’ (सौस)

प्रतिक्रिया