अब शंका नगर्नुस्

काठमाडौं, १७ वैशाख । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूहरूलाई शंका नगर्न भारतीय नेताहरूलाई आग्रह गरेका छन् ।

कांग्रेस आईका विदेश विभाग प्रमुख करण सिंहसँग सोमबार भएको भेटमा दाहालले आफ्नो पार्टी लोकतान्त्रिक प्रक्रियामा अघि बढिसकेको र आफूहरू खुला समाजको अवधारणामा रहेको भन्दै यसबारे शंका नगर्न आग्रह गरेका हुन् । ‘प्रचण्डजीले आफूहरू सबै विषयमा प्रस्ट भइसकेकाले अब शंका गर्न नहुने तर्क गर्नुभयो,’ सिंहले भने । भेटपछि दाहालले सिंहसँगको भेटवार्ता सकारात्मक भएको प्रतिक्रिया दिए ।
सिंहले भारत राजनीतिक स्थायीत्वमार्फत सम्पन्न नेपालको पक्षमा रहेको स्पष्ट पार्दै त्यसका लागि छिटोभन्दा छिटो संविधानसभा चुनाव हुनुपर्ने र त्यसका लागि सहयोग गर्न भारत तयार रहेको बताएका थिए । उनले भेटवार्ता उपलब्धिमूलक भएको जानकारी गराउँदै अब नेपाल र भारतबीचको सम्बन्ध नयाँ किसिमले जानुपर्ने बताए । नेपालमा कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषय नेपालका राजनीतिक दलहरूको भएकाले यसमा भारतको कुनै हस्तक्षेप नहुने उनको भनाइ थियो । भारत भ्रमणका लागि शनिबार दिल्ली पुगेका दाहालले सोमबार झन्डै आधा घन्टा सिंहसँग वार्ता गरेका थिए ।
दाहालले भारतीय सुरक्षा सल्लाहकार शिवशंकर मेनन र जनता दल युनाइटेडका अध्यक्ष शरद यादवलगायतसँग पनि भेट गरेका थिए । भेटवार्तामा दाहालले संविधानसभा चुनाव गर्नका लागि अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन गरिएको उल्लेख गर्दै मन्त्रिपरिषद्ले चुनावको तयारी गरिरहेको जानकारी गराएका थिए । दाहालले स्थिर सरकार गठनका लागि आफूहरू प्रयत्नशील रहेको जानकारी दिँदै त्यसका लागि भारत सरकार र भारतीय जनताको सकारात्मक सहयोगको आवश्यकता रहेको बताएका थिए । भारतीय नेताहरूले दाहालको आग्रहलाई सकारात्मक रूपमा लिई सहयोगको वचन दिएका थिए ।

प्रतिक्रिया