समायोजनमा आएका लडाकुको दर्जा निर्धारण

Ladakusकाठमाडौं, १६ वैशाख । नेपाली सेनाले समायोजनमा आएका माओवादी लडाकुको दर्जा निर्धारण गरेको छ । ७१ लडाकुलाई अधिकृत तह दिइने भएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले आइतबार पत्रकार सम्मेलन गर्दै समायोजनको खाका सार्वजनिक गरेको हो । अधिकृत तहबाहेक १ हजार ३ सय ७२ लडाकुलाई पदिक तथा अन्य दर्जामा समायोजन गरिनेछ ।
सेनाका अनुसार विशेष समितिको सिफारिस अनुसार अनमिनको प्रमाणित तह र प्रवेश मिति अनुसार (नागरिकताको प्रमाणपत्रका कारण प्रवेश मिति संशोधन गरेको भए सोहीअनुसार) समायोजनमा जाने हरेक पूर्वलडाकुको तहअनुसार ज्येष्ठताको क्रम निर्धारण गरिनेछ । त्यस्तै, विभिन्न निर्णयले निर्दिष्ट गरेअनुसार समायोजनमा गएका तालिमरत पूर्वमाओवादी लडाकुको दर्जा निर्धारण गरिएको छ ।
‘सकलदर्जाले आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेपश्चात् ब्रिजिङ कोर्समा समावेश गरिनेछ । कोर्स सकिएपछि सिपाहीदेखि सुबेदारसम्म र अधिकृतको हकमा उपसेनानीदेखि सेनानीसम्मको दर्जा प्रदान गरिनेछ,’ सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अधिकृतहरूको हकमा सैनिक प्रतिष्ठान, खरिपाटीबाट पास आउट भएपश्चात् सबै अधिकृतलाई आयुक्त पद दिनेगरी उपसेनानी दर्जा दिइनेछ । पद पाएपछि सबै अधिकृतलाई तीनमहिने ब्रिजिङ कोर्समा समावेश गराइनेछ । कोर्सको पहिलो चरणको ६ हप्ते तालिममा सबै अधिकृतलाई समावेश गराइनेछ । तालिम पूरा गरेका २५ उपसेनानीलाई थप ६ हप्ताको पेसासम्बन्धी ज्ञान, सम्बन्धित निर्देशनालयको जिम्मेवारी र भूमिकाबारे तालिम दिइनेछ ।
सहसेनानी र सेनानीका ४६ उम्मेदवारलाई ६ हप्ताको प्रथम चरणको तालिमपछि सहसेनानी दर्जामा पदोन्नति गरिनेछ । ६ हप्ते सिसिएससी तालिमको परिमार्जित सिलेबस र एकहप्ते सम्बन्धित निर्देशनालयको जिम्मेवारी र भूमिकासम्बन्धी तालिमपछि ३० जना सहसेनानी र बाँकी १६ जना अधिकृतलाई सेनानीको दर्जा प्रदान गरिनेछ । उनीहरूलाई युनिटमा पठाइनेछ ।
एक महासेनानी र दुई प्रमुख सेनानीका हकमा भने ३० फागुन २०६९ मा भएको मन्त्रिपरिषद्को निर्णयअनुसार हुने सेनाले जनाएको छ । ‘नेपाली सेनाको
अधिकृत तहमा समायोजनको क्रममा रहेका पूर्वलडाकुका सम्बन्धमा नेपाली सेनाका अधिकृतहरूको वृत्तिविकासमा प्रतिकूल असर नपर्ने गरी प्रचलित नियम, अभ्यास र मापदण्ड पूरा गरेपछि अधिकतम दुई जनालाई प्रमुख सेनानी तथा एक जनालाई महासेनानीमा समायोजन हुनसक्ने गरी सहमति दिन’ भन्ने सरकारको निर्णय अनुसार १६ सेनानीमध्ये तीन जनालाई गणपति तालिम गराई प्रमुख सेनानीमा पदोन्नति गर्ने, एक प्रमुख सेनानीलाई महासेनानी दर्जामा पदोन्नति गर्न सरकारसमक्ष सिफारिस प्रक्रिया अगाडि बढाइने सेनाले जनाएको छ ।
बाँकी अन्य दर्जाका लागि पनि मन्त्रिपरिषद्को निर्णयलाई नै आधार बनाइएको छ । जसअनुसार प्रत्येक लडाकुको तह र ज्येष्ठता क्रम निर्धारण गरिने र सोहीअनुसार सुबेदार १४, जमदार ४२, हुद्दा १ सय ७०, अमल्दार १ सय ९३, प्युठ १ सय ८० र सिपाही ७ सय ९० हुनेछन् ।
तालिम पूरा गरेकामध्ये सिपाही दर्जा तोकिएका लडाकुलाई सम्बन्धित युनिटमा पठाइनेछ । सबैलाई तीन महिनाको दर्जा विशेष तालिम दिइनेछ । प्युठ र अमलदारको भने सेनाले तर्जुमा गरेको परिमार्जित बिल्लादार तालिमसहित सम्बन्धित निर्देशनालयको भूमिका, जिम्मेवारी र पेसागत ज्ञानसम्बन्धी थप ६ हप्ते तालिम दिइनेछ । त्यसपछि मात्रै उनीहरूलाई युनिटमा पठाइनेछ ।

हुद्दा, जमदार, र सुबेदारको हक १२ हप्ते विशेष तालिमका साथै सम्बन्धित निर्देशनालयको भूमिका र जिम्मेवारीसम्बन्धी दुईहप्ते तालिम दिइनेछ । त्यसपछि मात्रै युनिटमा खटाइनेछ ।

प्रतिक्रिया