चुनावविरोधीलाई जनताले बहिष्कार गर्छन् : पौडेल

वीरगन्ज : नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेलले चुनावको माध्यमबाट मात्र जनताको लोकतान्त्रिक अधिकार सुरक्षित हुने उल्लेख गर्दै यसविरुद्ध लाग्ने शक्तिलाई जनताले बहिष्कार गर्ने बताएका छन् ।
प्रेस युनियन पर्साले शनिबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपसभापति पौडेलले नेकपा–माओवादी र मधेसी जनअधिकार फोरम नेपाललाई चुनावमा भाग लिन आग्रह गर्दै यस्तो बताएका हुन् । पौडेलले संविधानसभाको दोस्रो चुनाव गराएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्नु अहिले मुलुकको मूल लक्ष्य र कार्यभार भएको स्पष्ट पारे । संविधानसभा चुनावलाई सफल बनाउनु नै सबैको पहिलो दायित्व भएको उल्लेख गर्दै उनले भने, ‘मंसिर पहिलो साताभित्र संविधानसभा चुनाव हुन्छ र त्यसको केही समयपछि मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त गर्नेमा नेपाली कांग्रेस पूर्णविश्वस्त छ ।’
उनले केन्द्रिकृत सत्ताको आकांक्षाबाट ओतप्रोत भएर माओवादीले राष्ट्रपतिको प्रत्यक्ष चुनाव प्रणाली ल्याउन खोजेको आरोप लगाए । ‘राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन प्रणाली भनेको केन्द्रिकृत शासन व्यवस्था ल्याउनु हो र यो व्यवस्थाले बन्ने संघ वा संघीय राज्यले पूर्णस्वायत्तता प्राप्त गर्न सक्दैन,’ उनले भने, ‘नेपाली कांग्रेस पूर्णस्वायतता र सबैको पहिचानसहितको संघीयतामा विश्वास राख्छ ।’ (सौस)

प्रतिक्रिया