टिम अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

डडेलधुरा, १८ वैशाख । टिम अस्पतालका कर्मचारी आकस्मिकबाहेकका सेवा ठप्प पारी आन्दोलनमा उत्रेका छन् । केही राजनीतिक दलका कार्यकर्ताले अवरोध गरेका कारण अस्पताल सञ्चालन सम्झौता नवीकरण रोकिएको भन्दै उनीहरू विरोध स्वरूप आन्दोलनमा उत्रिएका हुन् ।

अस्पताल सञ्चालन गर्दै आएको मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)ले स्वास्थ्य मन्त्रालयलाई १ जेठसम्म अस्पताल सञ्चालन सम्झौता नवीकरण नभए अस्पताल बन्द गर्ने अल्टिमेटम दिएपछि कर्मचारी आन्दोलित बनेका हुन् । उनीहरूले अस्पतालको भविष्य अन्योलमा परेको तथा रोजगारीको सुनिश्चितताको मागसमेत गरेका छन् ।
एचडिसिएसले वैशाखभित्र सम्झौता नवीकरण वा अन्य कुनै व्यवस्था गरि अस्पतालको सेवालाई निरन्तरता दिन मन्त्रालयलाई अल्टिमेटम दिइसकेको छ । मन्त्रालयले सम्झौता नवीकरण नगरे १ जेठदेखि अस्पतालको सम्पूर्ण दायित्व सरकारलाई जाने संस्थाका कार्यकारी अध्यक्ष डा. तीर्थ थापाको भनाइ छ । एचडिसिएसले ५ वैशाखमा नै मन्त्रालयलाई पत्राचार गरि अस्पतालको भविष्यका विषयमा तत्काल टुंगोमा पुग्न आग्रह गरेको थियो ।
मन्त्रालयको जवाफ नआएसम्म आफ्नो जिम्मेवारी यथावत रूपमा बहन गर्न एचडिसिएसले निर्देशन दिए पनि कर्मचारीले भने अस्पतालको सेवालाई निरन्तरता दिन र आफूहरूको रोजगारीको सुनिश्चितता गर्न माग गर्दै आन्दोलन जारी राखेका छन् । कर्मचारीले जिल्लाका राजनीतिक दल, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयमार्फत मन्त्रिपरिषद् अध्यक्षलाई समेत ज्ञापनपत्र बुझाइसकेका छन् । एचडिसिएसले भने मुख्य कार्यालयबाट अर्थ व्यवस्थापक हरि घिमिरे र अस्पताल संयोजक कपिल जैसीलाई डडेल्धुरा पठाइ कर्मचारीको हिसाब चुक्ता गर्न र अस्पतालको चलअचल सम्पत्ति सरकारलाई बुझाउन तयारी थालेको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारी–गैरसरकारी साझेदारी नीतिअनुरूप एचडिसिएसले सन् २००७ देखि अस्पतालको व्यवस्थापन सम्हालेको थियो । ५० शय्याको अस्पतालमा ६२ जना नेपाली र ४ जना विदेशी स्वयंसेवक गरी ६६ जना कार्यरत छन् ।

प्रतिक्रिया