कोसीटप्पुमा विश्वको १० प्रतिशत खरमुजुर

Majurकाठमाडौं, १५ वैशाख । अति संकटापन्न पक्षी खरमुजुर कोसीटप्पु वन्यजन्तु आरक्षमा विश्वको १० प्रतिशतको संख्यामा रहेको पाइएको छ । सन् २०१२ को अप्रिल र मेमा चरा विशेषज्ञ डा. हेमसागर बरालसहितको पक्षीविद्को टोलीले गरेको अध्ययनबाट यस्तो तथ्य फेला परेको हो ।

कोसीटप्पु आरक्षभित्र र आसपासमा गरी ६० वटा खरमुजुर नोटिस भएको अध्ययनले देखाएको छ । संकटापन्न जीवजन्तु एवं वनस्पतिको अन्तर्राष्ट्रिय जर्नल ‘जर्नल अफ थ्रेटन्ड टेक्सा’मार्फत शुक्रबार सार्वजनिक तथ्यांकअनुसार आरक्षको एक सय ६३ दशमलव एक वर्गकिलोमिटर क्षेत्रफलमा मात्र ४७ वटा खरमुजुर फेला परेका छन् ।
खरमुजुर आरक्षको भित्री भागमा उल्लेख्य फेला परेकाले आसपासका क्षेत्रसमेत गरी कम्तीमा ६० वटा रहेको अनुमान अध्ययनकर्ताको छ । जुन विश्वभरका खरमुजुरको १० प्रतिशत हो । ‘संसारभरका औसत करिब ६ सयमा कोसीटप्पुका ६० वटा खरमुजुर विश्वकै १० प्रतिशत हुन आउँछ,’ मुख्य अध्ययनकर्ता डा. बरालले भने, ‘यो अध्ययनले कोसीटप्पु खरमुजुरका लागि विश्वकै सबैभन्दा महत्त्वपूर्ण स्थान रहेको देखाएको छ ।’
उनका अनुसार खरमुजुर नेपालबाहेक भारत र क्याम्बोडियामा मात्रै पाइन्छ । तीनै देशमा गरेर औसतमा करिब ६ सय अर्थात् दुई सय ५० देखि नौ सय ९९ सम्म खरमुजुर रहेको अनुमान गरिएको छ । बंगलादेश र भियतनाममा रहेका खरमुजुर भने केही समयअघि मात्रै लोप भइसकेका छन् ।
एक सय ४८ व्यक्ति संलग्न रहेर आरक्षमा पहिलोपटक गरिएको अध्ययनमा खरमुजुरका भाले २९ र पोथी १८ व फेला परेका थिए । यसअघि मुलुकभरि एकैपटक एउटा मात्र चरा प्रजातिको अनुसन्धान गर्ने क्रम खरमुजुरबाटै थालिएको थियो । नेपालका चराबारे अनुसन्धान गरी पुस्तकसमेत प्रकाशन गरिसकेका क्यारोल र टिम इन्स्किपले सन् १९८२ मा उक्त प्रजातिको सर्वेक्षण गरेका थिए । उक्त अध्ययनपछि पनि संरक्षित क्षेत्रमा मात्र सीमित खरमुजुरबारे अनुसन्धानकर्ताले पटक–पटक गरी यिनको संख्या अनुगमन, आनीबानी तथा वासस्थानको अध्ययन गरिसकेका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका चरा विशेषज्ञ लक्ष्मणप्रसाद पौडेलले सन् २००७ मा गरेको अध्ययनले २८ देखि ३६ वटा खरमुजुर रहेको देखाएको थियो । उक्त अध्ययनअनुसार खरमुजुरको संख्या सन् १९८२ को दाजोमा ५६ प्रतिशत र सन् २००१ को भन्दा ३० प्रतिशत घटेको पाइएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष गरिएको सर्वेक्षणमा ११ वटा भेटिएको थियो । यस सर्वेक्षणका अनुसन्धानकर्ता बेदहादुर खड्का, हेम सुवेदी र धनबहादुर चौधरीका अनुसार वासस्थान विनाशलगायतका कारण यो प्रजाति लोपोन्मुख छ । अति संकटापन्न प्रजातिका रूपमा रहे पनि नेपालमा यसबारे जनचेतना नरहेको सरोकारवाला बताउँछन् । केही गिद्धका प्रजाति जत्तिकै संकटमा रहेको यो प्रजाति आइयुसिएनको अति संकटापन्न प्रजातिको वर्गमा सूचीकृत छ ।
खरमुजुर घासेमैदानमा पाइने लामा खुट्टा, मजबुत शारीरिक बनावट, लामो घाँटी र टाउकोमा कल्कीजस्तो देखिने हुन्छ भने बच्चावस्था र पोथीहरू खैरा हुन्छन् । प्रजनन समयको वयस्क भाले प्राय: कालो देखिन्छ जसको पखेटा सेता रङका हुन्छन् । यो लगभग पुच्छरविनाको मुजुरजत्रै हुन्छ । यस प्रजातिको पोथी भालेभन्दा निकै ठूलो हुन्छ । यो तराईका संरक्षित क्षेत्रभित्र रहेका घाँसे मैदानका ठूला फाँट र खर भएका ठाउँमा बस्न रुचाउने चराविशेषज्ञ डा. बरालले बताए ।
सय वर्षअघि मात्र भारतीय उपमहाद्वीपको निकै ठाउँमा पाइने यो प्रजातिका चरा वासस्थानको विनाश तथा चोरी–सिकारले गर्दा घट्दो क्रममा छ । विश्वव्यापी रूपमा यसको संख्या घटेकाले विश्वको सम्पूर्ण जैविक विविधताको आँकडा राख्ने र वार्षिक रूपमा यिनको स्थिति मूल्यांकन गर्ने संस्था आइयुसिएनले यस प्रजातिलाई अति संकटापन्न पक्षीका रूपमा सूचीकृत गरेको छ ।
गत वर्षदेखि हिमाली प्रकृति र चितवन राष्ट्रिय निकुञ्ज मिलेर चितवन राष्ट्रिय निकुञ्जमा खरमुजुर बढाउन घाँसेमैदानको व्यवस्थापन गर्ने कार्यक्रम सुरु भइसकेको छ । खरमुजुर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ द्वारा पूर्ण संरक्षित नौवटा पक्षी प्रजातिमध्ये एक हो । यो प्रजाति साइटिस (वनस्पति तथा वन्यजन्तुमा हुने व्यापार नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय महासन्धि) को अनुसूची १ मा सूचीकृत छ ।

प्रतिक्रिया