नुवाकोटमा धामीजात्राको रौनक

Jhakriनुवाकोट, १५ वैशाख । जिउँदो देवताका रूपमा चिनिने नुवाकोट भैरवीमन्दिरका पुजारी धामीसँग सम्बन्धित सिन्दुरे जात्राको रौनकता सुरु भएको छ । नुवाकोटकै प्रमुख धार्मिक जात्राका रूपमा परिचय पाएको सिन्दुरे जात्रा सांस्कृतिक पर्व सुरु भएको छ ।

विधिसम्मत रूपमा १५ दिनसम्म लाग्ने यो मेला पाँच दिन विशेष लाग्ने गर्छ । नुवाकोटको सबैभन्दा ठूलो धार्मिक एवं ऐतिहासिक पर्व मानिने यो पर्वलाई सिन्दुरे जात्राको नामले चिन्ने गरिन्छ । वैशाख पूर्णिमाको आसपासमा धामीधमिनीलाई सिन्दूर हालेर सो जात्रा मनाइन्छ । बिहीबार पूर्णिमाको दिन नुवाकोट भैरवीमन्दिरको रथ देवीघाटको जालपा देवीको मन्दिरमा हिँडाएपछि भव्यता साथ सुरु हुने मेलामा द्वितीयाको दिन भैरवी मन्दिरमा सिन्दूर खेलिन्छ ।
औँसीमा नै नारायणदेवी स्कुलनजिकै पूजाअर्चना गरी नुवाकोटमा नारायण जात्रा मनाए पनि सुरु हुने सिन्दुरे जात्रा चैत शुक्लद्वादशीको दिन भैरवी मन्दिरअगाडि र गुहयेश्वरी मन्दिरअघि सल्लाको लिंगो ठड्याएपछि जात्राको चहलपहल अझ बढ्ने गर्छ भने द्वितीयाको दिन भैरवी मन्दिरमा सिन्दूर जात्रा र राति धामीले बलि खाएपछि सकिन्छ । तीन सय वर्षभन्दा पुरानो मानिएको यो जात्राको मुख्य दिन भैरवी मन्दिरमा सिन्दूर जात्रा गरिनुलाई लिने गरिन्छ ।
चैत शुक्लचतुर्दशीको दिन साततले दरबार राष्ट्रिय संग्रहालयसँगै रहेको भैरवी मन्दिरमा हुने सिन्दुरे जात्राको निम्ता स्वरूप बहिनी भैरवीले दिदी जालापादेवीलाई बोलाउन गएको भन्ने किंवदन्ती रहेको छ । किंवदन्तीअनुसार जालपादेवीसहित भैरवी मन्दिरमा आए पनि दिदी आएको अवसरमा सिन्दूर जात्रा गरी हर्षबढाइँ गरिएको हो । यो वर्ष शनिबार मन्दिरमा सिन्दूर खेलेर जात्रा मनाइनेछ । मेलामा जिल्लाका विभिन्न कार्यालयका प्रमुख, विभिन्न जिल्लाबाट आएका हजारौँ जात्रालुको सहभागिता रहनेछ । जालपादेवीबाट फर्किएका धामी स्थानीय धरमपानीको पाटीबाट बाजागाजासहित भैरवी मन्दिर प्रांगणमा पुगेपछि सिन्दुर जात्रा गरिन्छ । सिन्दूर जात्रासहित तलेजु भवानीको मन्दिरमा रथ भित्र्याइन्छ । द्वितीयाको राति भैरवी परिसरमा राँगा र बोकाको बलि धामीले लिने चलन रहेको छ । यस्तै देवीघाटमा पनि भैरवीका पुजारी धामीले जालपादेवीको मन्दिरमा जिउँदो राँगो, बोका र माछाको भोग खाने गर्छन् । भैरवी मन्दिरका पुजारी धामी हरिमानसिंह डंगोल र धमिनी मन्दिरको रथ र बाजागाजासहित देवीघाट आएपछि मेलाको विशेष रौनकता सुरु हुनेछ ।
देवीघाट जाने क्रममा विधिपूर्वक बाटोमा विभिन्न स्थानमा पूजा र देवीघाटको स्मारकनजिक स्नान गराई धामीलाई जालपा मन्दिरसम्म बाटोमा सेतो कपडा बिछ्याएर लैजाने चलन छ । मन्दिरमा भाकलअनुसारका कुखुरा बोका चढाउनेको भिड लाग्ने गर्छ । मेलाको अवसरमा जालपा मन्दिरमा नेवार समुदायका बालिकाहरूको बेलविवाह (इही) गर्ने चलन पनि रहेको छ ।
आमालाई चिर्पट प्रहार
राजविराज : सामान्य घरायसी विवादमा सप्तरीको जन्डौल–५ निवासी २५ वर्षीय रिक्सल मियाले मंगलबार आमालाई दाउराको चिर्पटले हिर्काएर गम्भीर घाइते बनाएका छन् । चिर्पट प्रहारबाट घाइते आमा छुटहरीया खातुनलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ । आक्रमणबाट खातुनको टाउकोमा गम्भीर चोट लागेको छ । ठेलियास्थित धर्मेश्वर अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । मिया फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया