“पुल निर्माणले सास्ती”

Bridgeसुर्खेत, १५ वैशाख । रत्न राजमार्गअन्तर्गत वीरेन्द्रनगर–१०, ११ र लाटीकोइली–९ स्थित इत्राम खोलामा निर्माणाधिन पक्की पुलले स्थानीयलाई सुविधाभन्दा बढी सास्ती दिने अवस्था सिर्जना भएको भन्दै पुल आसपासका स्थानीयले आपत्ति जनाएका छन् । पुल निर्माण गर्नुपूर्व यसबाट पर्ने प्रभावको विस्तृत अध्ययनविनै डिजाइन गरिएकाले पुल आसपासको बस्ती डुबानमा पर्ने गुनासो उनीहरूले गरेका छन् ।

‘पुल निर्माण गर्नुअघि सरोकारवाला समुदायसँग समीक्षा र छलफलसमेत गरिएन,’ खजुरा टोल विकास संस्थाका अध्यक्ष खिमलाल देवकोटाले भने, ‘पुलको पूर्व–पश्चिम करिब दुई/दुई सय मिटरको दूरीमा पर्ने घर तथा भौतिक संरचनाहरू सडकको सतहभन्दा तल पर्ने भएकाले यी डुबानमा पर्नसक्छन् । यसको क्षतिपूर्ति कसले दिन्छ ?’ उनले पुलको उचाइ सडकको सतहभन्दा बढी हुने गरी गरिएको डिजाइन स्थानीयबासी र सडक उपभोगकर्ताको हितविपरीत भएको बताए । यसबाट व्ययभारसमेत बढ्ने उनले बताए ।
‘पुलको पूर्व–पश्चिम चार सय मिटर कालोपत्रे गरिएको सडकमा पुन: माटो पटान गरी कालोपत्रे गर्नुपर्ने भएकाले लाखाँै रुपियाँ व्ययभार बढ्ने देखिन्छ,’ स्थानीय पूर्णप्रसाद भट्टराईले भने, ‘यसले ठेकेदार तथा प्राविधिकलाई मात्र
फाइदा हुन्छ, सरकार र स्थानीयलाई क्षति पुग्छ ।’ निर्माणाधिन पुलबाट हुने क्षतिका बारेमा सम्बन्धित सबै निकायलाई जानकारी गराउँदा पनि बेवास्ता गरिएको आरोप स्थानीयहरूको छ ।
पुलको उचाइ बढी भएका कारण सडक आसपासको सतह पनि त्यत्तिकै उचाइमा ल्याउनुपर्ने भएकाले झन्डै ९ सय मिटर खानेपानीको पाइपलाइनसमेत पुरिनाले मर्मत तथा व्यवस्थापन गर्न समस्या पर्ने भट्टराइले बताए । स्थानीयले पुल आसपासको क्षेत्र डुबान पर्नबाट जोगाउन पूर्वपश्चिमतर्फको सडकको दुवैतर्फ माटो पटान तथा नाला निर्माण गरिदिनसमेत माग गरेका छन् ।
यता डिभिजन सडक कार्यालय सुर्खेतका प्रमुख भानु जोशीले दीर्घकालीन सोच राखेर डिजाइन गरिएकाले पुलको उचाइ केही बढेको बताए । केन्द्रीय नीतिअनुसार पुल निर्माण गरिएको भन्दै यसले स्थानीयलाई कुनै हानि नगर्ने दाबी उनले गरे । पुल आसपासका क्षेत्र डुबानमा पर्न नदिन सडकको दुवैतर्फ कच्ची नाला निर्माण गरिने उनले बताए ।
जोशीले स्थानीयले सरकारी जग्गा दुरुपयोग गर्दै सडकको क्षेत्र ओगट्न खोजेको उल्टो आरोप लगाए । ‘राजमार्गको दायाँबायाँ २६ मिटर दूरीबाट घर बनाउने र सडक क्षेत्र ओडटेर व्यापार, पार्किङ तथा आँगनका रूपमा यसलाई प्रयोग गर्ने गरेकाले समस्या उत्पन्न भएको हो,’ जोशीले भने । काठमाडौंमा भत्काइएका सडकछेउका घरको उदाहरण दिँदै उनले भने, ‘यहाँ पनि भविष्यमा त्यस्तो समस्या नहोस् भन्नेतर्फ हामी सचेत छौँ ।’

प्रतिक्रिया