‘फेरि त्यही ठाउँमा पठाउनु आर्यघाट पठाएजस्तै हो’

काठमाडौ, १५ वैशाख । शिक्षा मन्त्रालयले कास्कीको लुम्लेस्थित बालमन्दिर माध्यमिक विद्यालयबाट असुरक्षा र दुव्र्यवहारका कारण विस्थापित विद्यार्थीलाई पुन: त्यही विद्यालयमा पठाउने निर्णय गरेको छ । पीडित विद्यार्थीले भने अब त्यही विद्यालयमा नफर्कने बताएका छन् ।

वैकल्पिक व्यवस्थाको माग गर्दै विद्यार्थी र अभिभावकले एक सातादेखि सानोठिमीस्थित शिक्षा विभागमा धर्ना दिइरहेका छन् । विद्यार्थी र अभिभावकले पालैपालो ९ वैशाखबाट धर्ना दिन थालेका हुन् । दिनभरि धर्नामा बसेर उनीहरू राति त्यहीँ सुत्ने गरेका छन् । वैकल्पिक व्यवस्था नगरिएसम्म धर्ना जारी राख्ने उनीहरूको अडान छ । विद्यार्थी नीराजन भुसालले आफूहरूलाई विद्यालयका शिक्षक र स्थानीयवासीले दुव्र्यवहार गरेर निकालेको हुनाले फेरि त्यहीँ गएर पढ्ने वातावरण नभएको बताए । ‘हामी ज्यान जोगाएर आएका हौँ, अब फेरि त्यहीँ गएर पढ्न सकिँदैन,’ उनले भने, ‘हामीलाई फेरि पनि त्यही विद्यालयमा फर्काउन खोजिँदै छ । त्यहाँ पठाउनु भनेको हामीलाई आर्यघाटमा पुर्‍याउनु हो ।’ नवलपरासी घर भएका ७ कक्षाका विद्यार्थी भुसालले अर्को विद्यालयमा स्थानान्तरण गरेर आफूहरूलाई पढ्ने वातावरण मिलाउन मन्त्रालयसँग आग्रह गरे ।
मन्त्रालयले ३ वैशाखमा बालमन्दिरबाट विस्थापित भएका विद्यार्थीलाई पुन: सोही विद्यालयमा पुन:स्थापित गर्ने निर्णय गरेको थियो । मन्त्रालयले विद्यार्थीलाई आगामी २२ वैशाखदेखि हुने वार्षिक परीक्षामा सहभागी हुन आग्रह गरेको छ ।
गत २१ फागुनमा सरकारी छात्रवृत्तिमा अध्ययन गरिरहेका २२ जिल्लाका ७१ विद्यार्थी विद्यालयका शिक्षक र वार्डेनको दुव्र्यवहार, कडा सजाय र मानसिक यातनाका कारण विद्यालयबाट विस्थापित भएका थिए । यातना सहन नसकेर विद्यालयको छात्रावासबाट भागेर उनीहरू पोखरा पुगेका थिए । विद्यार्थीले पटक–पटक वैकल्पिक व्यवस्था गर्न आग्रह गर्दासमेत मन्त्रालयले चासो दिएको छैन ।
५ देखि ७ कक्षामा अध्ययनरत विस्थापित विद्यार्थीले वार्षिक परीक्षा पनि दिन पाएका छैनन् । ‘मन्त्रालयले हाम्रो अध्ययन गर्ने अझै व्यवस्था गरेको छैन,’ भुसालले भने, ‘हाम्रो पढाइ खेर गइरहेको छ । हामीलाई लुम्लेको विकल्प चाँडै गरेर पढ्ने वातावरण मिलाइयोस् ।’ अध्ययनका लागि व्यवस्था गर्न मन्त्रालयलाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उनले बताए ।
‘हामीले फेरि त्यही विद्यालयमा नपठाउन आग्रह गरेका थियाँै । तर, फेरि पनि उस्तै यातना दिलाउन मन्त्रालयले हामीलाई सोही ठाउँमा पठाउन खोजेको छ । यो हामीलाई मान्य छैन,’ भुसालले भने । छात्रा रेजिना बडुवालले शिक्षक/शिक्षिकाको यातनाले पुन: सोही विद्यालयमा गएर आफूहरू पढ्न नसक्ने बताइन् । ‘बिहान खाना खानेदेखि पढ्ने समयसम्म शिक्षक र वार्डेनले यातना दिन्थे । अब फेरि पनि सोही विद्यालयमा गएर पढ्न सकिन्न, उनीहरू सुध्रे पनि हामीलाई हेर्ने बानीमा परिवर्तन आउँदैन । अनि हामी कसरी त्यहाँ गएर पढ्न सक्छाँै ?’ उनले भनिन् । शिक्षिका र वार्डेनले नकारात्मक काम गर्न दबाब दिने गरेको समेत उनले बताइन् ।
विद्यार्थी विस्थापित भएपछि मन्त्रालयले विद्यालयका प्रधानाध्यापक दयाराम सुवेदी र एक वार्डेनलाई निलम्बन गरिसकेको छ । विद्यार्थी विस्थापित भएपछि छात्रावासमा रहेका उनीहरूका किताब र लुगा स्थानीयवासी र शिक्षकले जलाइसकेका छन् ।
अभिभावक मेघराज पुरीले शिक्षक र स्थानीयवासीले भाग खोस्न आएको भन्दै विद्यार्थीलाई लखेटिएको बताए । ‘विद्यार्थीको किताब र लुगा जलाइएका छन् । हामी पुन: सोही ठाउँमा बच्चालाई पठाएर आगोमा झोस्न चाहन्नौँ,’ उनले भने, ‘कुनै पनि हालतमा ढुक्क भएर पठाउने अवस्था छैन ।’
तीन वर्षदेखि बालमन्दिरमा पढ्दै आएका विद्यार्थीलाई शिक्षकले दुव्र्यवहार गरेपछि एकैसाथ ५० छात्र र २१ छात्राले विद्यालय छाडेका थिए । विभागले प्रतिविद्यार्थी वार्षिक ३० हजारका दरले उक्त विद्यालयलाई रकम उपलब्ध गराउँदै आएको थियो ।
विभागका निर्देशक टेकनारायण पाण्डेले विद्यार्थीलाई वैकल्पिक व्यवस्था गरिन थालिएको बताए । दश कक्षासम्म विद्यार्थीलाई पढाउने जिम्मा सरकारको भएकाले वैकल्पिक व्यवस्था गर्ने तयारी भइरहेको उनले बताए । ‘विद्यालयको वातावरण देख्दा फेरि त्यहीँ विद्यार्थी पठाइन्नँ,’ उनले भने, ‘विद्यार्थीका किताब–लुगा जलेको ठाउँमा विद्यार्थी सुरक्षित हुँदैनन्, त्यसैले अर्को ठाउँमा व्यवस्था गर्दै छाँै ।’

प्रतिक्रिया