एउटै चुनाव चिह्न, एउटै उम्मेदवार

काठमाडौं, १५ वैशाख । तराई–मधेस लोकतान्त्रिक पार्टीले मधेसी दलहरूमा सैद्धान्तिक भिन्नता नभएको भन्दै आगामी संविधानसभा चुनावमा एउटै चुनाव चिह्न र उम्मेदवार बनाएर जाने प्रस्ताव अघि सारेको छ । सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थले मात्रै मधेसी दलहरूमा विभाजन आएको उसको ठहर छ ।

तमलोपाको शुक्रबार सकिएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी चुनावमा मधेसी दलबीच मोर्चाबन्दी बनाउने अभियान थाल्ने निर्णय गरेको छ । ‘हामीले निर्वाचन क्षेत्रमा एक उम्मेदवार एउटै चुनाव चिह्न बनाएर जाने विषयमा छलफल थालेका छौँ,’ तमलोपाका नेता हृदयेश त्रिपाठीले सौर्यसँग भने ।
आºनो पार्टीले सबै मधेसी दल एकै ठाउँ उभिएर चुनावमा जानुपर्ने प्रस्ताव अघि सारेको नेता त्रिपाठीले बताए । यस विषयमा मधेसी दलबीच गृहकार्य पनि भइरहेको उनले बताए । ‘एक भएर चुनावमा प्रस्तुत हुनेबारे गृहकार्य भइरहेको छ,’ त्रिपाठीले भने ।
चुनावमा मधेसी दलहरू एक ठाउँ नउभिए जनताले दण्डित गर्ने नेता त्रिपाठीले बताए । ‘मधेसी जनतामा मधेसकै दलप्रति आशा र आक्रोश छ, चुनाव र संविधान निर्माणको विषयमा एक भएर अघि नबढे मधेसी जनताले दण्डित गर्छन्,’ उनले भने । आगामी संविधानमा मधेसीका मागलाई स्थापित गर्न पनि यस्तो कदम आवश्यक भएको उनको भनाइ छ ।
एउटै पार्टी बनाउन एक वर्षअघि नेता त्रिपाठीकै नेतृत्वमा मधेसी दलहरूले कार्यदल बनाएका थिए । केही चरणमा छलफल भए पनि त्यसले कुनै गति लिएको थिएन । मधेस आन्दोलन र संविधानसभाको गठनपछि राष्ट्रिय राजनीतिमा मधेसी दलको प्रभाव र भूमिका बढेको उल्लेख गर्दै त्रिपाठीले मधेसी मोर्चाबाहिरका दलसँग पनि छलफल थाल्ने बताए ।
पार्टी बैठकले अध्यक्ष महन्थ ठाकुरलाई अन्य दलसँग छलफल थाल्न जिम्मेवारी दिएको छ । मधेसी जनअधिकार फोरम नेपाल र फोरम लोकतान्त्रिकसँग छलफल थालिने उनले बताए । चाँडै मधेसी दलहरूको बैठक बोलाएर मोर्चाबन्दी गर्न पार्टीले अघि सारेको प्रस्तावमा छलफल थालिने नेता त्रिपाठीले बताए ।
तर, एक मधेसी नेताले भने स्वार्थले घेरिएका मधेसी दलबीच तत्काल एउटै उम्मेदवार र चुनाव चिह्न बनाउने विषयमा सहमति हुने सम्भावना नरहेको दाबी गरे । ‘सामान्य विवादमा पनि पार्टी विभाजनको पीडा मधेसी दलले नै व्यहोरेका छन्, चुनाव चिह्न, उम्मेदवार र घोषणापत्र पनि एउटै बनाएर जाने विषय त्यति सजिलो छैन,’ ती नेताले भने ।

प्रतिक्रिया