दाहाल आज भारत जाँदै

Prachandaकाठमाडौं, १४  वैशाख । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल आज(शनिबार) भारत भ्रमणमा जाँदै छन् ।

वैशाख पहिलो साता उत्तर छिमेकी मुलुक चीनको भ्रमण गरेका दाहाल आज दक्षिणी छिमेकी राष्ट्र भारत जान लागेका हुन् । चार दिने भारत बसाइका क्रममा दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री डा. मनमोहन सिंह, विदेशमन्त्री सलमान खुर्सिद, विपक्षी दलकी नेत्री सुस्मा स्वराज, कांग्रेस संयुक्त प्रगतिशील गठबन्धन (युपिए)का अध्यक्ष सोनिया गान्धीलगायत उद्योगी–व्यवसायीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । दाहालका सहयोगी शिव खकुरेलका अनुसार शनिबार सवा ४ बजे जेट एयरको विमानबाट उनी भारत प्रस्थान गर्ने कार्यक्रम छ । दाहालको भ्रमण टोलीमा पत्नी सीता, पार्टीका नेता कृष्णबहादुर महरा र खकुरेल सहभागी हुनेछन् ।
दाहालले आफ्नो भारत भ्रमणका विषयमा शुक्रबार साँझ राष्ट्रपति डा. रामवरण यादवलाई जानकारी गराएका थिए । राष्ट्रपतिसँग भ्रमणबारे छलफलका लागि दाहाल साँझ राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए । राष्ट्रपतिले दाहाललाई भारत भ्रमणको सफलताको शुभकामना दिएका थिए । त्यस्तै दाहालले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग पनि शुक्रबार नै भेट गरेका थिए ।
दाहालको भारत भ्रमण पार्टीगत : बोगटी
यसैबीच एमाओवादी महासचिव पोष्टबहादुर बोगटीले पार्टी अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमण पार्टीसँगको सम्बन्ध सुधारमा केन्द्रित हुने बताएका छन् ।
राजधानीमा शुक्रबार आयोजित एक साक्षात्कारमा महासचिव बोगटीले दाहालको भ्रमणले भारतसँगको सम्बन्ध ‘नयाँ’ ढंगले स्थापित गर्ने विश्वास व्यक्त गरे । ‘भारतसँगको सम्बन्धमा विगतमा हाम्रो पनि केही कमी–कमजोरी भए पनि अब नयाँ शिराबाट सम्बन्ध स्थापित गर्न चाहन्छौँ,’ बोगटीले भने, ‘हाम्रो अध्यक्षको यो भ्रमण सद्भाव र पार्टीगत भ्रमण हो ।’

प्रतिक्रिया