असन्तुष्टलाई चुनावमा भाग लिन खनालको आग्रह

काठमाडौं : एमाले अध्यक्ष झलनाथ खनालले लोकतान्त्रिक प्रक्रियालाई सुनिश्चित गर्न असन्तुष्ट राजनीतिक दलहरूलाई संविधानसभा चुनावमा सहभागी हुन आग्रह गरेका छन् ।
पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको १४औँ स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले शुक्रबार ललितपुरको सानेपामा आयोजना गरेको कार्यक्रममा खनालले चुनावबाट लोकतन्त्र सुदृढ गर्नुको अर्काे विकल्प नरहेको बताएका हुन् ।
चुनावका लागि देखिएका चुनौती वार्ताबाटै समाधान गर्न सकिने खनालको भनाइ थियो । ‘लोकतान्त्रिक प्रक्रियालाई सुनिश्चित गर्न सबै दल चुनावमा जानुको विकल्प छैन,’ उनले भने, ‘चुनावका लागि देखिएका चुनौती वार्ता र संवादबाटै समाधान गर्नुपर्छ ।’
उनले अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन प्रक्रियाप्रति असन्तुष्ट भई आन्दोलनरत दलहरूलाई चुनावमा सहभागी गराउनु अन्य दलको पनि कर्तव्य भएको धारणा व्यक्त गरे ।
चुनावमार्फत लोकतन्त्र सुदृढ गर्ने र अग्रगामी सामाजिक, आर्थिक परिवर्तनको आधार तयार गर्नुपर्ने उनले बताए । कम्युनिस्ट आन्दोलनमा विकृति बढेको स्वीकार गर्दै उनले मनमोहन अधिकारीको जस्तो सादा जीवनशैली अपनाएर आन्दोलनको सुदृढीकरण गर्नुपर्ने बताए ।
कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले वर्तमान राजनीतिमा मनमोहन अधिकारीको जस्तो निष्ठा आवश्यक रहेको बताए । सादा जीवनशैली र लक्ष्यप्रति स्पष्ट दृष्टिकोण बनाएर कम्युनिस्ट आन्दोलनप्रति विश्वास जगाउनुपर्ने नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीको भनाइ थियो ।
एमालेका संस्थापक अध्यक्ष अधिकारीको १४ वर्षअघि प्रतिनिधिसभा चुनाव प्रचारका क्रममा बेहोस भई निधन भएको थियो । नेपाल कम्युनिस्ट पार्टीको स्थापनाअघि नै कम्युनिस्ट पार्टीको सदस्य भइसकेका उनी पहिलो जननिर्वाचत कम्युनिस्ट प्रधानमन्त्री थिए ।
०५१ सालमा एमालेको अल्पमतको एकल सरकारको प्रधानमन्त्री बनेका अधिकारी नेतृत्वको सरकारले लोककल्याणकारी काम गरेर ख्याति कमाएको थियो ।
प्रतिष्ठानको सानेपास्थित कार्यालय परिसरमा रहेको अधिकारीको प्रतिमामा एमाले अध्यक्ष खनाल, महासचिव पोखरेल र नेकपा संयुक्तका अध्यक्ष जोशीलगायतले माल्यार्पण गरेका थिए । (सौस)

प्रतिक्रिया