स्पर्म र ओभम्को कथा

amar-neupane२०६५ साल भदौ २१ गते । जिटिजेटको परियोजनामा म नेपालगन्ज आख्यान लेख्न गएको थिएँ । मेरो मस्तिष्कमा आख्यानको रित्तो किताब थियो । दुई महिना नेपालगन्ज बसेर रित्तो किताब भर्नुथियो, भरेँ । त्यही आख्यानको नाम हो— पानीको घाम ।
पहिलोपटक जहाज चढेर जाँदै थिएँ नेपालगन्ज । नेपालगन्ज पनि पहिलोपटक जाँदै थिएँ, जहाज पनि पहिलोपटक चढ्दै थिएँ ।
नेपालगन्ज गएर कथा लेख्ने हो भन्ने मात्र थियो मस्तिष्कमा तर के कथा लेख्ने, थाहा थिएन । नेपालगन्ज पुग्नासाथ अचम्म के भयो भने– जे देखे पनि, जसलाई देखे पनि यसलाई कथा बनाउन सकिएला कि नसकिएला भन्ने लाग्न थाल्यो । एउटा टाँगा देख्ता पनि लाग्यो, यो टाँगा, घोडा र टाँगावालाको कथा कस्तो होला ? लेख्न सक्ने हो भने त गजबको कथा बन्छ होला ।
रिक्सावाल, पानपसले, बुर्का लगाएका महिला… यस्ता अनेकाँै मानिस बाटोमा यसै देख्ता प्रत्येक व्यक्ति कथाहरूको विशाल पुस्तकजस्तो लाग्यो । त्यहाँबाट एउटा या दुइटा कथा झिक्न पाए पनि कस्तो हुँदो हो जस्तो पनि लाग्यो ।
०००
Amar-एयरपोर्टमा ओर्लेपछि नेपालगन्ज सहरतिर जान म रिक्सा चढँे । रिक्सा चलाउने भाइको नाम सुरेश सोनखर रहेछ । नेपालगन्जको भदौरे घाम एकदम कडा थियो । सोधेँ— नेपालगन्ज कति किलोमिटर पर्छ भाइ ?
— पाँच/छ किलोमिटर ।
— गाह्रो हुन्न त भाइ यति लामो बाटो रिक्सा चलाउन ?
— कहाँ गाह्रो हुन्छ हजुर † मान्छे पाइरहेछु । मान्छे पाइएन भने पो गाह्रो हुन्छ त ।
आफ्नो कामप्रतिको लगाव, प्रेम र धर्मका बारेमा यहाँभन्दा सुन्दर र सटिक उत्तर अरू के होला ?
कुरैकुरामा मैले यसै सोधेँ— बिहे भयो भाइको ?
— भयो । अब गौना बाँकी छ । अर्को साल गौना गर्ने अनि ऊ हाम्रो घरमा आउँछ ।
मैले अलिअलि जिस्क्याउने पारामा सोधेँ— लभ गरेको कि मागेको ?
उसले कडा भएर बोल्यो— कहाँ लभ हुन्छ हजुर गरिबको † बापले मागेको ।
मैले प्रेमको शाश्वत रूप हुन्छ भनेर प्रमाणित गर्न भनेँ— लभ त मनले गर्ने कुरा हो नि । धन किन चाहियो भाइ ?
उसले सोझै प्रतिवाद गर्‍यो— धन भएन भने कसरी हेर्छ केटीले ?
उसले फेरि मलाई अर्को महत्त्वपूर्ण
व्यवहार सिकायो ।
कुरैकुरामा बिपी चोक आइपुगेछ । यसो हेरेँ । त्यो सालिक बिपीको हो भन्ने यसै पनि चिनियो । तर, पनि सुरेशलाई मैले यसै सोधँे— यो कस्को सालिक हो भाइ ?
उसले पूर्णआत्मविश्वासका साथ भन्यो— वो पहिलेको राजा थियो नि बहुत राम्रो राजा थियो । अहिलेको राजाले सब खतम् गरिदियो †
अचम्म लाग्यो, जुन सालिकलाई सुरेशले दिनमा कम्तीमा सत्रचोटि घुम्छ, उसैलाई आजसम्म यो सालिक कसको हो भन्ने थाहा रहेनछ । तर पनि उसले नभनेरै धेरै कुरा भन्यो । सालिक भनेको राजाको मात्र बनाइन्छ । कुनै सहरको चोकमा जनताको छोराको सालिक हुँदैन भन्ने ठानेको रहेछ सुरेशले । दरबार हत्याकाण्डसम्बन्धी आफ्नो धारणा राख्यो । देशमा गणतन्त्र आइसक्ता पनि राजा नै छन् भन्ने सोचेको रहेछ ।
मैले भनेँ— अहिले त राजा नै
छैनन् भाइ ।
उसले मलाई हप्काउने शैलीमा भन्यो— राजा नभएको देश कहाँ हुन्छ बे †
जसका लागि नेताहरूले गणतन्त्र ल्याए, उसैलाई गणतन्त्र आएको थाहै रहेनछ । हुन पनि हो, हाम्रो देशका नेतृत्व वर्गले जनतालाई शासन व्यवस्थामा गणतन्त्रको आभास दिए पनि व्यवहारमा दिन सकेका छैनन् ।
तैपनि मैले सोधेँ— संविधानसभाको चुनावमा भोट हाल्यौ, भाइले ?
— हाँ ।
— केमा ?
— कांग्रेसमा ।
— हार्‍यो नि त †
— हारे पनि जिते पनि के फरक पर्छ हजुर ? हामी सधैँ रिक्सा चलाउने न हुन्छु †
सुरेशजस्ता सर्वहारा वर्गले अब नेताहरूबाट अपेक्षा गर्न छोडेछन् । भोट हाल्नका लागि हाल्दा रहेछन् । ठिकै त हो, जुन पार्टी सत्तामा गए पनि त्यसको फाइदा जहिले पनि हुनेखानेले मात्र त लिएका छन् ।
किनकिन मलाई सोध्न मन लाग्यो— के
चिह्नमा भाइ ?
उसले भन्यो— हँसिया हथौडामा †
उसको उत्तरले म हाँसेँ । हाँसेपछि भने म गम्भीर भएँ । तर, ऊ गम्भीर भएन ।
त्यसपछि म बस्ने होटल आयो । सुरेश फक्र्यो । पछि होटलमा खाना खान लाग्दा मैले सुरेशलाई एकदम मिस गरेँ । उसलाई मैले मेरै स्वार्थका लागि भए पनि सँगै खाना खाऊँ न सुरेश भाइ भन्नुपथ्र्यो । ऊ भोकै थियो होला । अरू एकदुई घन्टा बसेर ऊसँग कुरा गर्न पाएको भए कथा लेख्नका लागि कति धेरै प्लटहरू सुरेशबाट पाउने थिएँ ।
पछि धेरैपटक सुर्खेत रोडमा सुरेशलाई खोजेँ तर भेटिनँ । साँच्चै सुरेश कहाँ गयो होला ?
उसले आफ्नो गाउँको नाम कर्मोहना भनेको थियो । केही दिनपछि म सोध्दै–सोध्दै उसको गाउँ गएँ । उसको घर । तर, ऊ घरमा थिएन । रिक्सा चोरी भएछ । साहुको रिक्सा । तेह्र हजार डन्डा तिर्नुपर्ने भएछ । सुरेशसँग त्यतिका पैसा थिएन । भएको भए त ऊ आफँैले रिक्सा किन्ने थियो । त्यसैले ऊ पैसा कमाउन भारतको बहराइच गइसकेको रहेछ ।
म नेपालगन्ज दुई महिना बसँे । सुरेशसँग कहिल्यै भेट भएन । त्यसपछि झन् त्यो दिन सुरेशसँग सँगै खाना खाएर दुईतीन घन्टा कुरा गर्न नसकेकोमा खुब पछुतो लागिरह्यो । आजसम्म पनि मनमा त्यो थकथकी लागिरहेको छ ।
जेहोस्, सुरेश नेपालगन्ज जाँदा पहिलोपटक यसै भेटिएको तर सबैभन्दा महत्त्वपूर्ण पात्र लाग्छ मलाई ।
राँझा विमानस्थलदेखि नेपालगन्ज सहरसम्म आइपुग्दा पौने घन्टामा सुरेशसँग यस्ता अनेकौंँ कुरा भए, जुन कुरालाई मैले आख्यानात्मक रूपमा ‘पानीको घाम’ मा प्रस्तुत गरेको छु ।
०००
त्यसपछि मैले अब सकेसम्म कोही पात्रलाई पनि मिस गर्दिनँ भन्ने सोच्दै पात्र खोज्न थालेँ । तर, अर्को अचम्म के भयो भने कसैले पनि बोल्न चाहेनन् । कतिले त मलाइर् शंकास्पद आँखाले पनि हेरेको महसुस गरेँ । दस वर्षसम्म नौलो मानिस देख्ता तर्सिने बानी परेकाले पनि यस्तो भएको होला । लाग्यो, अझै परिस्थिति सहज भइसकेको रहेनछ ।
म सकेसम्म विनम्र हुने प्रयास गर्दै भन्थेँ— तपैँ’को जीवनको त्यस्तो घटना भन्नोस्, जुन घटनालाई तपाईं दिनमा कम्तीमा एकपटक सम्झनुुहुन्छ ।
तर प्राय: सबैले एउटै कुरा भने— तपैँ’लाई हामी किन भन्ने ? को हो र तपँै ? तपैँ हाम्रो कथा लेखेर लेखक बन्ने ? पैसा कमाउने ? हामीलाई के दिनुहुन्छ ? सब मानिसहरू हामीलाई ठग्न आउँछन् †
आफ्नो फोटो खिचेको थाहा पाए भने भन्थे— हाम्रो फोटो खिचेर तपैँ बेच्नुहुन्छ । पैसा कमाउनुहुन्छ । नाम कमाउनुहुन्छ । हामीलाई के हुन्छ ?
मलाई साह्रै गाह्रो भएको थियो । एक पान पसल्नीकहाँ अनौठो घटना घट्यो । सुरुमा वातावरणलाई सहज बनाउन मैले पान किनेर खाएँ । जर्दा परेछ । म पान खान नजानेको मान्छे । खुब कोक्याउन थाल्यो । मैले नओकली नहुने भयो । ओकलेँ । चपाएर निल्न नसकेको पान बाटो र नालीमा भद्दा किसिमले पर्‍यो । त्यो पान पसल्नीलाई भनेको थिएँ— दिदी कसैलाई भन्न नसकेको कुरा भन्नोस् न । जस्तो कि तपैँ’ले आफ्नो आमाबालाई पनि भन्न नसकेको, साथीभाइ र आफ्नै लोग्ने तथा छोराछोरीलाई भन्न नसकेको तर कहिल्यै बिर्सन नसकेको तपैँको जीवनका कुरा भन्नोस् न । म नेपालगन्जका मानिसहरूको कथा लेख्न आएको हुँ ।
उसले भनेकी थिई— को हो र तपँै मैले कसैलाई भन्न नसकेको कुरा सुन्ने ? के सुनेर मेरो समस्या समाधान गर्न सक्नुहुन्छ ?
म त एकदम डराएँ । बोल्नै सकिनँ । को हँु भनूँ ? को होइन भनूँ ? लोग्नेमान्छे भएको भए पनि त्यति डर लाग्दैनथ्यो होला । स्वास्नीमान्छे भएकाले पनि झन् डराएँ । म केही नबोली बसेँ । मेरो अनुहारमा पनि सायद डर देखिएको थियो । एकछिन पछि उसले अलि सहजजस्तो भएर भनी— मेरो जीवन तपैँ’ले चपाएर निल्न नसकी ओकलेको त्यही पानजस्तो छ । तेही हो मेरो कथा । मैले कसैलाई भन्न नसकेको कुरा †
उसको कुराले मलाई गम्भीर बनायो । बाफ रे † कस्तो होला त उसको चपाएर निल्न नसकी ओकलेको जीवनकथा ? तर, भन्नोस् न भनेर कर गर्न सकिनँ । म खिन्न भएर त्यहाँबाट फर्किएँ ।
नेपालगन्ज दुई महिना बसेर फर्कन लाग्दा त्यो पसल्नी बाटोमा भेटिई । के सोचेर हो कुन्नि, उसले मलाई आफ्नो चपाएर निल्न नसकी ओकलेका
जीवनकथा भन्छु भनेकी थिई तर मसँग समय थिएन । किनभने, दुई घन्टामा मेरो फ्लाइट थियो ।
जीवनको विडम्बना भनेको नै यस्तै रहेछ ।
०००
भट्टी पसलतिरका मानिसले त अवश्य पनि बोल्छन् होला भनेर म त्यतातिर पनि गएँ । तर, त्यहाँ पनि केही न केही समस्या आइलाग्थ्यो र कुरा पूरा हुन पाउँदैनथ्यो । मलाई लाग्यो, जीवन नै यस्तै छ त म के गरूँ ? जीवन जस्तो छ, म त्यस्तै कथा लेख्छु ।
एक दिन एउटा भट्टी पसलमा एउटा अधबैँसेले आफ्नो कथा भन्न तयार
भइहाल्यो । भन्न थाल्यो— म खत्तम थिएँ । दस वर्षअगाडि जुवाको लाइनमा आएँ । तेसपछि रक्सीको लाइनमा आएँ । अहिले पनि रक्सीकै लाइनमा छु । रक्सीले मात्र पुगेन । गाँजाचरेसको लाइनमा पनि छु । अहिले म ठीक छु । रुपेडियामा मजदुरी गर्छु । भन्सार छलेर सामान ल्याउँछु । पुलिसले धेरैचोटि समातिसक्यो । सबै पुलिसहरू चिनिसकँे अहिले त । पुलिसलाई पनि गाँजा चाहिन्छ । दिन्छु । सब ठीक हुन्छ…†
बडो चाख लिएर उसको कुरा सुनिरहेको थिएँ । बोल्दाबोल्दै अचानक उसले मलाई खुब तर्सिएझैँ हेर्‍यो, आत्तियो । आत्तिएरै सोध्यो— आप पुलिसवाले है ?
मैले नआत्तिएरै भनेँ— होइन, म लेखक हँु ।
तर, उसले पत्याएन । त्यतिखेर मेरो कपाल अलि छोटो थियो, प्रहरीको जत्तिकै । जिउडाल पनि सायद त्यस्तै । साँझको बेला । संयोगले त्यही बेलामा नजिकैको मोडमा पुलिस देखियो । उसले मलाई सिभिल पोसाकमा जासुसी गर्न आएको पुलिस सम्झेछ क्यारे । ऊ भाग्यो ।
पछि उसलाई दुईपटक देखेँ, बाटोमा । एकपटक घरबारी टोलमा, अर्कोपटक त्रिवेणी मोडमा । दुवैपटक मलाई देख्नासाथ ऊ पुलिसलाई देखेझँै डराएर भाग्यो । त्यसपछि उसलाई भेटिनँ ।
०००
नेपालगन्ज जाने बेलामा जनकराज सापकोटा भाइले मलाई भनेका थिए— दाइ † मधेसमा जाँदा सुकिलोमुकिलो भएर, राम्रा लुगा लगाएर नजानुहोला । कोही बोल्दैनन् । सायद मैले जनक भाइले भनेबमोजिम गर्न सकिनँ । तर, प्रयास भने गरेको हुँ ।
सामान्य टिसर्ट या सर्ट, पुरानो खालको पाइन्ट, टाउकोमा क्याप, खुट्टामा चप्पल लगाउँथे । र क्यामेरा बोकेर टोलटोल डुल्थँ । जोसँग मिल्छ कुरा गर्न थालिहाल्थेँ ।
एक दिन खुसी हँदै मित्र भोजराज नादिरलाई आफूले खिचेका फोटाहरू देखाउँदै थिएँ । बुर्का लगाएका महिलाहरूको पनि फोटाहरू थिए । नादिर त एकदम डराए— अबदेखि यस्तो फोटो नखिच है । कस्सो तिमी बाँच्यौ ।
— कस्तो फोटो ?
— यस्तो बुर्का लगाएको †
— सायद उनीहरूले थाहा पाएनन् र तिमी बाँच्यौ । या त्यस्तै सोझा खालका परेँ । कहिलेकाहीँ यतिकै नाममा नेपालगन्जमा धार्मिक द्वन्द्व हुन बेर लाग्दैन । यो ठाउँ एकदम संवेदनशील ठाउँ हो ।
त्यसपछि मैले कहिल्यै बुर्का लगाएका मुस्लिम महिलाहरूको फोटो खिचिनँ ।
०००
यो रचनागर्भ ‘पानीको घाम’को सुरुको कथा ‘कथान्त’को हो । यस पुस्तकमा उन्नाइसओटा कथा छन् । एउटा–एउटा पढ्दा कथा हुन्छ । पढिसकेपछि उपन्यास । त्यसैले यसको विधा आख्यान राखेको छु । यो पुस्तक अहिलेको समयजस्तै टु इन वान हो । कथा पनि, उपन्यास पनि ।

प्रतिक्रिया