मुम्बईसँग कोलकाताको हार

mumbaiकोलकाता : इन्डियन प्रिमियर लिग क्रिकेटको बुधबार राति भएको खेलमा मुम्बई इन्डियन्सले साविक विजेता कोलकाता नाइट राइडर्सलाई पाँच विकेटले पराजित गर्‍यो । १ सय ६० रनको लक्ष्य पाएको मुम्बईले एक बल बाँकी रहँदा १ सय ६१ रन जोड्यो ।
जितका लागि मुम्बईलाई अन्तिम चार बलमा नौ रनको आवश्यकता थियो । भाटियालाई हरभजन सिंहले छक्का प्रहार गरेपछि खेल मुम्बईको पक्षमा मोडिएको थियो । अन्तिम दुई बलमा तीन रन आवश्यक रहेको समयमा रायडुले चौका प्रहार गरे ।
मुम्बईका लागि ड्वायन स्मिथले ४५ बलमा ६७ रन जोड्दै विजयको आधार खडा गरेका थिए । उनी कोलकाताका प्रमुख बलर सुनील नारायनको बलमा आउट भए । यसैगरी, रोहित शर्माले पनि २८ बलमा ३४ रन जोडे । उनलाई पनि नारायनले नै आउट गरे । गत सिजन कोलकातालाई उपाधि दिलाउन सबैभन्दा महत्त्वपूर्ण भूमिका निभाएका नारायनले मुम्बईसँगको खेलमा चार ओभरमा १७ रन खर्चिदै तीन विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले ६ विकेटको क्षतिमा १ सय ५९ रन जोड्यो । (एजेन्सी)

प्रतिक्रिया