बार्सिलोनाको ऐतिहासिक हार

champions_leugeम्युनिख, १२ वैशाख । युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा मंगलबार राति बायर्न म्युनिखविरुद्ध भिडेको बार्सिलोना ४–० ले पराजित भएको छ । फराकिलो हारसँगै बार्सिलोना लगातार दोस्रोपटक सेमिफाइनलबाटै बाहिरिने सम्भावना बढेर गएको छ ।

साविक उपविजेतासमेत रहेको बायर्नले आफ्नो मैदानमा सानदार विजय हासिल गर्ने क्रममा थोमस मुलरले दुई तथा मारियो गोमेज र अर्जेन रोबेनले एक गोल गरे । सबै गोलमा मुलर छाएका थिए । यद्यपि, बायर्नले गरेको दोस्रो र तेस्रो गोल भने विवादपूर्ण रहे ।
खेलभर कमजोर प्रदर्शन गरेको बार्सिलोनाविरुद्ध पहिलो हाफमा १–० ले अगाडि रहेको बायर्नले मध्याह्नपछि आक्रामक प्रदर्शन गर्दै तीन गोल थपेको थियो । मुलरले हेडमार्फत गोल गर्दै २५औँ मिनेटमा बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए । दोस्रो हाफमा मुलरकै पासमा गोमेजले गोल गरेका थिए । ४९औँ मिनेटमा भएको उक्त गोलमा गोमेज अफ साइड देखिए पनि रेफ्री मौन रहे ।
७३औँ मिनेटमा रोवेनले गरेको तेस्रो गोलका क्रममा मुलरले जोर्दी अल्बालाई छेकेर लडाए पनि यसपटक पनि रेफ्री मौन नै बसेका थिए । ८२औँ मिनेटमा मुलरले ‘ट्यापिङ’ गर्दैै व्यक्तिगत दोस्रो गोल गरेर जारी च्याम्पियन्स लिगमा आफ्नो गोल संख्या सात पुर्‍याए । ११ गोल गरेका रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो यस संस्करणमा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमा रहेका छन् । ‘जब ठूला खेल हुन्छन्, साँच्चै म उग्र हुने गर्छु,’ सानदार प्रदर्शनपछि मुलरले भने
। युरोपियन च्याम्पियन्स लिगको इतिहासमा यसअघि सेमिफाइनलमा कुनै पनि टोली ४–० ले विजयी भएको थिएन । पछिल्लो समय टिकी–टाका शैलीमार्फत क्लब फुटबलमा एकछत्रभैँm राज गरिरहेको बार्सिलोना यस नतिजापछि ठूलो धक्का बेहोर्नपुगेको छ । बार्सिलोनाका लागि यो नतिजा छ वर्षयताकै सबैभन्दा फराकिलो हारका रूपमा रहेको छ । पछिल्लोपटक सन् २००७ मा बार्सिलोना स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा गेटाफेविरुद्ध ४–० ले पराजित भएको थियो । यसअघि युरोपियन च्याम्पियन्स लिगमै बार्सिलोना ४–० को नतिजामा एकपटक मात्र पराजित भएको थियो । सन् १९९७ को संस्करणमा उसले समूह चरणमा डाइनामो किभविरुद्ध उक्त नतिजा निकालेको थियो । घरेलु मैदानमा अप्रिलमा हुने दोस्रो लेगमा बार्सिलोनाले अप्रत्याशित नतिजा निकाले मात्र बायर्न लगातार दोस्रोपटक फाइनल पुग्नबाट रोकिनेछ । बार्सिलोनाका सहायक प्रशिक्षक जोर्दी रौराले अघिल्लो चरण प्रवेश गर्न कठिन रहेको स्वीकार गर्दै दोस्रो लेग इज्जतका लागि खेल्ने बताए ।
बल नियन्त्रणमा बार्सिलोना अगाडि देखिए पनि उसका कुनै पनि खेलाडीले आफूस्तरको प्रदर्शन गर्न सकेनन् । चोटका बीच पनि सुरुआतबाट उत्रिएका लिओनेल मेसी खेलभर ओझेलमा परे । लगातार चारपटकको फिफा वर्ष खेलाडी मेसी गुमनाम भए । चार वर्षअघि युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न, बार्सिलोनासँग ४–० ले पराजित भएको थियो । चोटका कारण डिफेन्डरद्वय जेभियर मास्केरानो र कार्लोस पुयोलको अनुपस्थिति बार्सिलोनालाई खेलभर खड्किएको थियो । बायर्नका प्रशिक्षक जुप हेनकेसले बार्सिलोनाविरुद्धको रणनीति सफल भएको बताए । ‘बार्सिलोनाजस्तो टिमसँग खेल्दा विशेष रणनीति हुनुपर्छ, जसमा हामी सफल भयौँ,’ आगामी सिजन बार्सिलोनाका पूर्वप्रशिक्षक पिप गार्डिओलाद्वारा प्रतिस्थापन हुन लागेका हेनकेसले भने । यस सिजनमा बायर्नले घरेलु लिग बुन्डेसलिगासमेत जितिसकेको छ ।

प्रतिक्रिया