वैद्यको प्रतिवेदनमा असन्तुष्टि

Mohan Baidhaकाठमाडौं, १२ वैशाख । नेकपा–माओवादीको केन्द्रीय समितिको विस्तारित बैठकमा अध्यक्ष मोहन वैद्यको राजनीतिक प्रस्तावको आलोचना भएको छ ।

बुधबारको बैठकमा समूहगत छलफलमा सहभागीले वैद्यको प्रतिवेदनप्रति असन्तुष्टि जनाएका हुन् । स्रोतका अनुसार बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमा १८ वटा समूह बनाई छलफल थालेकोमा बुधबार १५ समूहले आफ्नो धारणा सुनाएका छन् । बुधबार उपाध्यक्ष सिपी गजुरेल, सचिव नेत्रविक्रम चन्दले उक्त प्रतिवेदनका विषयमा थप प्रस्ट पार्दै आफूहरूको समर्थन रहेको बताएका थिए ।
केन्द्रीय सदस्यहरूले भने अध्यक्षको प्रतिवेदनको दिशा ठीक भए पनि कतिपय कुरा अस्पष्ट भएकाले त्यसलाई प्रस्ट पार्नुपर्ने माग राखेको स्रोतले जनाएको छ । अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन प्रक्रियाविरुद्ध जारी आन्दोलनलाई थप सशक्त बनाउनुपर्ने, पार्टीलाई वैकल्पिक शक्तिका रूपमा स्थापित गर्नुपर्ने, यथावस्थामा संविधानसभा चुनावमा भाग लिन नहुने धारणा बैठकका सहभागीले राखेको एक केन्द्रीय सदस्यले बताए ।
मंगलबार सुरु बैठक बिहीबार बिहान ११ बजे पुन: बस्ने गरी स्थगित भएको उक्त पार्टीले जनाएको छ ।

प्रतिक्रिया