सवारीसाधनबाट सुटुक्क पैसा असुल्छ प्रहरी

चन्द्रौटा, १२ वैशाख । कपिलवस्तुको कृष्णनगरमा चेकजाँचका लागि बसेका प्रहरीले गाडी चालकबाट सुटुक्क रकम असुल्दै आएको रहस्य खुलेको छ । चेक जाँचका लागि कृष्णनगर खानेपानी कार्यालयनजिकको सडकमा बसेका प्रहरी हवल्दार ज्ञानप्रसाद लामिछानेले लु १ ख ५७०७ नम्बरको बसका कर्मचारीबाट ५० रुपियाँ लिएको सार्वजनिक भएपछि यस्तो रहस्य खुलेको हो ।

चेकजाँचका क्रममा भन्सार छलेर सवारीसाधनका यात्रुले ल्याएका समानमा कडाई नगरून् भनेर सवारीसाधनका कर्मचारीले प्रहरीलाई रकम दिने गरेको बस चालकहरू बताउँछन् । हवल्दार लामिछानेलाई रकम दिँदै गरेको अवस्थामा फेला परेका खलासी सन्तोष विकले सधैँझैँ बुधबार पनि आफ्नै खुसीले रजिस्टरभित्र लुकाएर पैसा दिएको बताए । बिकले आफूखुसी रकम दिएको बताए पनि भन्सार छलेर ल्याइएका समानमाथि प्रहरीले निगरानी नगरोस् भनेर रकम दिने गरेको सवारीचालक बताउँछन् । प्रहरी र सशस्त्र प्रहरीले कृष्णनगरमा चेकजाँचका नाममा दिनहँु पैसा असुल्ने गरेको स्थानीय पत्रकार मनोज ओझा बताउँछन् ।
सर्वसाधारण तथा सवारीचालकबाट रकम असुली कार्य सशस्त्र प्रहरीबाट समेत हुने गरेको एक व्यापारी बताउँछन् । भारतबाट सामान किनेर ल्याउँदै गरेका एक व्यापारीका अनुसार भारतमा किनेर भन्सार छलेर ल्याएको समान छोडेबापत प्रहरी तथा शसस्त्र प्रहरीले २० देखि सय रुपियाँ असुल्ने गरेका छन् । प्रहरीले हाकाहाकी रकम माग्ने गरेको उनी बताउँछन् ।

प्रतिक्रिया