कम्युनिस्ट नेताबीच वाक्युद्ध

Puspakamal-Dahalकाठमाडौं, १२ वैशाख । दुई ठूला कम्युनिस्ट पार्टी एकीकृत माओवादी र एमालेबीच चुनाव केन्द्रित वाक्युद्ध सुरु भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दुई दिनअघि बर्दिया पुगेर एमाले सकिएको अभिव्यक्ति दिएलगत्तै बुधबार एमाले अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालले दाहालको मानसिक अवस्था ठीक नभएको भन्दै जवाफ फर्काएका छन् ।

हेलिकोप्टर चाटर्ड गरेर बर्दियाको पार्टी कार्यक्रममा पुगेका एमाओवादी अध्यक्ष दाहालले आउने चुनावमा आफ्नो प्रतिस्पर्धा कांग्रेससँग हुने भन्दै एमाले मुलुकमा कतै नरहेको बताएका थिए । बुधबार राजधानीमा एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष खनालले दाहालको भनाइ पागलपनको पराकाष्ठा भएको आरोप लगाए ।
अध्यक्ष खनालले अब हुने चुनावपछि एमाओवादीलाई बत्ती बालेर खोज्नुपर्ने टिप्पणी पनि गरे । ‘एमाले छैन भन्ने एमाओवादीको भनाइ पागलपनको पराकाष्ठा हो,’ खनालले भने, ‘यही रबैया रह्यो भने आगामी निर्वाचनपछि उसलाई बत्ती बालेर खोज्नुपर्छ ।’ खनालले जिम्मवार पार्टीको नेता भएर आबेग र उत्तेजनाको राजनीति नगर्न पनि दाहाललाई सुझाव दिए ।
एमाओवादीले अघिल्लो चुनावमा ब्ल्याकमेलिङ गरेका आधारभूत वर्गले उसलाई चिनिसकेकाले जातीय राजनीतिको बैसाखी टेकेर एमाले सिध्याउने सपना नदेख्न खनालले एमाओवादी अध्यक्ष दाहाललाई चेतावनी दिए । ‘एमाओवादी मधेसी मोर्चाको बैसाखी टेकेर निर्वाचन लड्ने तयारीमा छ,’ खनालले भने, ‘हिम्मत भए एक्लै मैदानमा आओस्, एमाले पनि एक्लै भिड्छ ।’ मुलुकको विभाजन गर्नेगरी विखण्डनकारी र संकीर्णतावादी शक्तिहरूसँग एमाओवादीले मोर्चाबन्दी गरे लोकतन्त्र र संविधान लेखनका लागि लोकतान्त्रिक तथा प्रगतिशील शक्तिसँग एमालेले पनि तालमेल गर्ने उनले बताए ।
खनालले यसअघि भएको संविधानसभा चुनावमा २७ वटा शिविरबाट लडाकु बाहिर आएर जनतालाई धम्क्याएर माओवादीले चुनाव जितेको दाबी गर्दै यसपालि उसलाई जनताले देखाइदिने चेतावनी दिए । उनले एमाओवादी सुक्ख्खा पहिरोजस्तो गरी आएको र पहिरोजस्तै गरी तल झर्ने दाबी गरे । एमाओवादीलाई धुन्धुकारीको संज्ञा दिँदै खनालले १६ हजार नेपालीको अनाहकमा ज्यान लिएपछि एमालेको बाटोमा आउन बाध्य भएको बताए । एमाओवादीले विखण्डनकारी, राष्ट्रविरोधी र उग्रवामपन्थी सोच नत्यागेसम्म उसँग सहकार्य हुन नसक्ने बताए ।
त्यस्तै, बुधबार नै सर्लाही पुगेका एमाले वरिष्ठ नेता नेपालले पनि एमाओवादी अध्यक्ष दाहाललाई एमाले नै नदेख्ने मानसिक रोग लागेकाले उपचारार्थ राँची लैजानुपर्ने टिप्पणी गरे । मुलुकमा एमाले नभएको दाहालको भनाइबाट आक्रामक देखिएका नेपालले पूर्वराजा ज्ञानेन्द्रले जनताको शक्ति नदेखेर अन्धो बन्दा विनाश बेहोर्नुपरेको उदाहरण दिए ।
‘एमाले कहाँ छ भन्ने थाहा नपाउनेसम्मको मानसिक रोगका शिकार भएका नेता यहाँ छन्,’ नेपालले भने, ‘अब तिनलाई मानसिक उपचारका लागि राँची पठाउनुपर्छ ।’
नेता नेपालले एमालेलाई अन्धाले नदेख्ने, बहिराले नसुन्ने र बौलाहाले नबुझ्ने बताए । ‘जनताको शक्ति नदेख्दा पूर्वराजाले आफ्नो शासनको सर्वनाश बेहोर्नुपर्‍यो, अहिले केहीलाई त्यही रोग सरेको छ, आउने चुनावबाट उसको पनि सर्वनाश हुनेवाला छ । उसले सत्तामा बसेर गरेका कर्तुतहरूको एक–एक हिसाब जनताले गरिरहेका छन्,’ नेता नेपालले भने ।
आफूलाई नेपाली कम्युनिस्ट आन्दोलनको मूलधार दाबी गर्दै आएका एमाले र एमाओवादी चुनाव घोषणाको पूर्वसन्ध्यामा वाक्युद्धमा उत्रेका हुन् । शान्तिपूर्ण जनआन्दोलनबाटै परिवर्तन र सरकारमार्फत प्रगतिशील सुधारका काम गर्ने कार्यनीतिमा रहँदै आएको एमाले र सशस्त्र संघर्षबाट मात्रै आमूल परिवर्तन हुने विश्वासमा रहेको एमाओवादीबीच आफूलाई कम्युनिस्ट आन्दोलनको मूलधार देखाउने होड चल्दै आएको छ ।

प्रतिक्रिया