म्यान यु २०औँ पटक च्याम्पियन

लन्डन : म्यानचेस्टर युनाइटेड सर एलेक्स फर्गुसनको प्रशिक्षणमा १३ औँ तथा समग्रमा २०औँ पटक इंग्लिस प्रिमियर लिग फुटबलको विजेता बनेको छ । सोमबार राति एस्टन भिल्लालाई ३–० ले हराउँदै म्यान युले चार खेल खेल्न बाँकी छँदै उपाधि जित्ने निश्चित गरेको हो । पाँच खेल खेल्न बाँकी रहेको निकटतम प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई म्यान युले १६ अंकले पछि पारेको छ । सर्वाधिक लिग उपाधि जित्ने कीर्तिमान पछिल्लोपटक जितेर बनाएको म्यान युले यस विधामा लिभरपुललाई दुई कदमले पछाडि पार्‍यो । लिभरपुलले १८ पटक लिग जितेको छ ।
फर्गुसनको २७ वर्षको कार्यकालअघि म्यान यु सातपटक मात्र विजेता बनेको थियो । सन् १९९२/९३ संस्करणमा फर्गुसनले आफ्नो प्रशिक्षणमा म्यान युलाई पहिलो लिग उपाधि दिलाएका थिए । म्यान युको पछिल्लो जितमा डच स्ट्राइकर रविन भान पर्सीले ह्याट्रिक पूरा गरे । पहिलो हाफमा तीन गोल गरेपछि यी डच स्टार जारी लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा लुइज सुआरेजलाई एक गोलले पछि पारेर शीर्षस्थानमा उक्लिएका छन् । (एजेन्सी)

प्रतिक्रिया