अग्ला र होचा

chandra-bd-dangiविश्वका हरेक मानिस एकअर्काबाट भिन्न छन् । यतिसम्म कि यति धेरै मानिसको औँठाछापसमेत एकअर्कोसँग मिल्दैन । विभिन्न देश र महादेशमा बसोबास गर्ने मानिसका रूपरंग नै फरक छन् । कसैको नाक थेप्चो छ त कसैको चुच्चो । कोही गोरो वर्णका छन् त कोही कालो । कोही होचो कदका छन् त कोही अग्लो । संसारका सबैभन्दा अग्ला र होचा दुवै व्यक्तिले गिनिजबुकमा नाम लेखाइसकेका छन् । जीवितमध्ये संसारका सबैभन्दा अग्ला मानिस टर्कीका सुल्तान कोसेन हुन् । अनि होचोचाहिँ नेपालका चन्द्रबहादुर डाँगी ।
अग्लो व्यक्ति

विश्वकै सबैभन्दा अग्ला व्यक्ति मानिएका टर्कीका सुल्तान कोसेन सन् १९८२ डिसेम्बर १० मा जन्मिएका हुन् । उनको उचाइ ८ फिट तीन इन्च छ । विगत २० वर्षमा गिनिज वल्र्ड रेकर्डमा आठ फिटभन्दा माथिको उचाइ दर्ता भएको यो पहिलो हो । गिनिज वल्र्ड रेकर्डका अनुसार मानव–इतिहासमा अहिलेसम्म तथ्य रूपमा दर्ता भएकामध्ये मानिसको उचाइ आठ फिटभन्दा बढी भएका घटना जम्मा दशवटा मात्र छन् । सुल्तानका अरू दुई रेकर्ड पनि छन् । सबैभन्दा ठूला खुट्टा भएका र सबैभन्दा चौडा हात (फैलाउँदा) भएका मानिस पनि उनै हुन् ।
सुल्तानले अधिक उचाइले उत्पन्न गरिदिएको असुविधाका कारण स्कुलको पढाइ पूरा गर्न पाएनन् । बरु खेतीपातीलगायत घरायसी काममा सघाए । अग्लो भएकै कारण उनलाई शरीरअनुसारको पहिरन बनाउन समस्या छ । निकै अग्लो ठाउँमा रहेको काम गर्न उनलाई सजिलो हुन्छ । जस्तो कि अग्लो स्थानको बिजुलीको बल्ब सजिलै फेर्न सक्छन् । अधिक उचाइका कारण गाडीलगायतमा यात्रा गर्दा उनलाई कष्ट हुन्छ ।
होचो व्यक्ति

विश्वकै होचा व्यक्ति नेपालका चन्द्रबहादुर डाँगीको उचाइ २१.५ इन्च छ । अनि तौल १४.५ किलो मात्र । डाँगीको जन्म १९९६ साल मंसिर १५ मा सल्यानको कालिमाटीमा भएको हो । हाल दाङ जिल्लाको पुरन्धारा बस्ने उनी ७२ वर्षका भए । उनी आमाबाबुका पाँचौँ छोरा हुन् । उनका चार दाजु, एक भाइ र दुई दिदीको उचाइ भने औसत छ । डाँगी अहिले आफ्ना भाइसँग बसिरहेका छन् । डाँगीले यो उमेरसम्म आइपुग्दा कुनै पनि औषधि सेवन गरेका छैनन् । उनले विवाह पनि गरेका छैनन् । बूढो भइसक्दा पनि उनलाई कसैलाई चिनेका थिएनन् । तर, जब उनी गिनिजबुकमा सूचीकृत भए, सारा विश्वले चिन्यो । उनी आफ्नो उचाइअनुसारको घरायसी काम सामान्य तबरले नै गरिरहेका हुन्छन् ।

प्रतिक्रिया