अग्निपीडितको राहत सामग्री राख्ने ठाउँ छैन

बर्दिया, ११ वैशाख । आगलागीबाट गाउँ नष्ट भएपछि वेलवा–७, चेपाङ गाउँका अग्निपीडितलाई बास बस्ने ठाउँको अभाव भएको छ । तत्कालका लागि स्थानीय विद्यालय तथा आफन्त र छिमेकका घरमा बस्दै आएका उनीहरू हुरी, बतास र पानी पर्न थालेपछि थप समस्यामा परेका छन् ।

गत साता भएको भिषण आगलागीबाट सिंगो वस्ती खरानी भएको थियो । आगलागीबाट चेपाङ गाउँका ९३ घरपरिवारका एक सय ३६ पीडितले स्थानीय लक्ष्मी मावि तथा आफन्त र छिमेकीको घरमा शरण लिएका छन् । स्थानीय विद्यालयको ९ वटा कोठामा २२ घरपरिवार, ११ घरपरिवार त्रिपालमुनी र अन्य घरपरिवार आफन्त तथा छिमेकीको घरमा बसेको राहत वितरण समितिका सदस्य इन्द्र देवकोटाले जानकारी दिए ।
विद्यालय सञ्चालनमा आउने दिन नजिकिँदै गएकाले पढाइ सुरु भएपछि विद्यालयमा शरण लिएकाहरुलाई थप कठिनाई हुने देवकोटाले बताए । पिडितहरूलाई विभिन्न संघसस्थाले राहत सामग्री दिएका छन् । तर, राहत राख्ने ठाउँ पनि छैन, उनीहरूसँग । ‘बासको व्यवस्था नहुँदा बालबालिका र गर्भवती महिलालाई सबैभन्दा बढी आपत परेको छ,’ देवकोटाले भने ।
विभिन्न संघ सस्थाहरूले उपलब्ध गराएका खाद्यान्न, भाँडाकुडा, कम्बल, त्रिपाल, लत्ता कपाडालगायत राहत सामग्री विद्यलयको २ वटा कोठामा राखिएका छन् । राहत सामग्री वितरण गरे पनि राख्ने ठाउँ नभएको गुनासो आउने गरेको राहत वितरण समितिका अर्का सदस्य गोविन्द देवकोटाले जानकारी दिए । आगलागीबाट खण्डहर नष्ट भएका घरका भग्नावशेष र खरानी तत्काल हटाउन र बासको व्यवस्था मिलाइदिन सरोकारवाला निकायसँग उनले माग समेत गरे ।
विद्यालयको एउटै कोठामा ६ घरपरिवारका झन्डै दुई दर्जनभन्दा बढी सदस्य सुत्ने गरेका छन् । पीडित अमर थापाका अनुसार एउटै कोठामा धेरैजना बस्नुपर्ने र राहत सामग्री पनि त्यही कोठामा राख्नुपर्ने भएकाले ज्यादै अप्ठेरो परेको बताउँछन् ।
प्रमुख जिल्ला अधिकारी एवं दैवीप्रकोप उद्दार समितिका अध्यक्ष धुव्र राज जोशीले पीडितहरूको बसोबासका लागि पहल गरिरहेको बताए । आगलागीबाट झन्डै ७ करोड बराबरको धनमाल क्षति भएको थियो ।

प्रतिक्रिया