एमाले नेता विष्टको परिवार शोकमा

Gokarna-Bistaगुल्मी, ११ वैशाख । एमाले युवा नेता गोकर्ण विष्ट र प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गगन विष्टको परिवार शोकमा डुबेको छ । गोकर्ण र गगनका बाबा–आमाको बुधबार हुन लागेको चौरासी पूजाका लागि राजधानीबाट गुल्मी आउँदै गरेका विष्ट परिवारका सदस्यसहित आफन्त दुर्घटनामा परेपछि रुवाबासी चलेको छ । चौरासी पूजाका लागि राजधानीबाट आउँदा उनीहरू चढेको टाटा सुमो जिप मंगलबार पाल्पाको खस्यौलीमा दुर्घटना हुँदा परिवारका सदस्यसहित चार जनाको मृत्यु भएको छ ।

परिवारका सदस्यसहित आफन्त चढेको गाडी पाल्पाको खस्यौली–१ सिरुखर्कमा दुर्घटना हुँदा गगनकी पत्नी लतासहित चारको मृत्यु भएपछि विष्ट परिवार मात्र होइन, सम्पूर्ण गुल्मेली नै स्तब्ध बनेका छन् । बा ७ च ३३१८ नम्बरको जिप दुर्घटना हुँदा तीन आफन्तको पनि मृत्यु भएको छ । दुर्घटनामा विष्ट परिवारका ज्वाइँ ज्ञानबहादुर जिसी, जिसीकी छोरी आस्था र दाजु रामबहादुरको पनि मृत्यु भएको छ । दुर्घटनामा ६ जना आफन्तजन घाइते भएका छन् ।
खस्यौलीमा बाटोमा हिँडिरहेको पाडोलाई जोगाउँदा जिप दुर्घटनामा परेको पाल्पा प्रहरीले जनाएको छ । भीमबहादुर र चिन्तकला विष्टको चौरासी पूजाका लागि गुल्मी आउँदै गरेका आफन्तजन दुर्घटनामा परेका हुन् । दुर्घटनामा ज्ञानबहादुरकी श्रीमती उमा, छोरा आदर्श र गगनका छोरा सिद्धान्त घाइते भएका छन् । चालक ज्ञानबहादुर श्रेष्ठ पनि घाइते छन् । गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमााडौं पठाइएको प्रहरीले जनाएको छ ।
बुधबार हुने भनिएको चौरासी पूजाका लागि विष्टको घर इस्मामा जम्मा भएका आफन्तको हाँसो पीडामा बदलिएको छ । ध्वजापताका तथा यज्ञमण्डपले सुन्दर सजिसजाउ भए पनि घर भने शोकले उजाड बन्न पुगेको छ । विष्ट परिवारमा चौरासी पूजाका लागि आएका आफन्त दुर्घटनाको खबरले स्तब्ध बनेको पत्रकारसमेत रहेका छिमेकी टोपलाल अर्यालले बताए । दुर्घटनाको खबर थाहा पाउन आफ्नो मोबाइलमा पनि दिनभर फोनको ओइरो लागेको अर्यालले सुनाए ।
जग्गे पूजाको तयारी गरेर फर्किएको इस्माका ब्राह्मण श्यामलाल अर्यालले बताए । ‘विष्ट बाबुको घरमा भोलि (बुधबार) बाबाआमाको पूजा थियो, भर्खरै सबै काम सकेर घर फर्कंदै छु,’ उनले सुनाए, ‘के गर्नु दैवको खेल † यस्तो शुभ घडीमा दु:खको खबर सुन्नुपर्‍यो ।’
मंगलबार दिउँसो मात्र घर आइपुगेका गोकर्ण तथा उनकी पत्नी पनि इस्माबाट घटनास्थल लागेका छन् । उनीहरूले गगनकी पत्नीको निधनको खबर दिउँसोसम्म भाइलाई नसुनाएको बताए ।
चौरासी पूजा, तुलादान र लाखबत्ती पूजाको प्रसाद ग्रहणका लागि गोकर्णले झन्डै ५ सयलाई निम्ता गरेका थिए । पूजामा १ हजार ५ सय बढीको उपस्थितिको तयारी थियो । पूजाका लागि घरमा परिवार र आफन्तको जमघट बढ्दै थियो । पूजाका लागि घरवरिपरिको सजावट र यज्ञमण्डपसमेत तयारी अवस्थामा थियो । पूजाकै लागि आउँदै गरेको परिवार र आफन्तसहितको जिप दुर्घटनामा परेर चारजनाको मृत्यु भएपछि विष्ट दम्पत्तीको चौरासी पूजामा जुटेको सिंगो गाउँ नै शोकमग्न भएको छ ।
गाउँलेले मंगलबार दिनभरमा पूजामा जलाउने बत्तीबाट घ्यू निचोर्ने, तुलादानका लागि सिक्का पैसा थैलोमा भर्ने काम पूरा गरेका थिए । अर्का छिमेकी गणेश अधिकारीले पूजाको सबै तयारी पूरा गरी गोठमा भएका गाईभैँसी दुहुने क्रममा घटना भएको खबर आएको सुनाए । ‘दिनभर खुसीसाथ तयारीमा जुटेका सयौँ गाउँले अहिले शोकमग्न छन्,’ अधिकारीले भने, ‘खबर पाएपछि कोहीकसैसँग बोल्न सकेका छैनन्, सबैले एक अर्कालाई हेर्ने र आँखाबाट आँसु झार्ने मात्र भएको छ ।’

प्रतिक्रिया