जातीय मुद्दालाई ठाउँ दिएकोमा युवानेता असन्तुष्ट

काठमाडौं, १० वैशाख । एमाओवादी र एमालेलगायत कम्युनिस्ट पार्टीका युवा नेताहरूले जातीय मुद्दालाई अगाडि सारेर वर्गलाई नेतृत्वले ठग्न खोजेको बताएका छन् ।

कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनीहरूले वर्गसंघर्षमा विश्वास राख्ने पार्टी बनाउन आ–आºनो ठाउँबाट संघर्ष गर्नुपर्ने बताए । ‘नेपाली कम्युनिस्ट आन्दोलनका ६५ वर्ष र नेपाली समाजको वर्गचरित्रबारे लेखाजोखा’सम्बन्धी बहसमा उनीहरूले एमाले र एमाओवादी नेतृत्वले अवलम्बन गरेको राजनीतिक विचारले दिनुपर्ने प्रश्नका जवाफ खोजेका थिए ।
‘वर्गसंघर्ष हरायो एकल जातीय राज्य बनाउने कि बहुजातीय भन्ने प्रश्नले संविधानसभा सिध्यायो,’ एमाओवादी नेता राम कार्कीले आºनो पार्टीको नीतिमाथि प्रश्न उठाउँदै भने, ‘जातीय मुद्दा अगाडि सारेर वर्गलाई ठग्न खोजेको होइन यो ?’ कार्कीले केही जातिमाथि भएको पक्षपातलाई समानतामा बदल्नुपर्ने धारणा व्यक्त गरे ।
उनले एमाओवादी नेतृत्वले ‘सामन्तवादको प्रतिनिधित्व गर्ने मधेसी दलहरू’सँग अंकमाल गरेर वर्गसंघर्षलाई तिलाञ्जली दिएको भन्दै असन्तुष्टि पनि जनाए । ‘आज हाम्रो पार्टी बहुरंगी मधेसी दलहरूसँग छाँद हाल्न पुगेको छ, एमाले–कंग्रेस नभए बाँच्नै नसक्ने भएको छ,’ उनले भने, ‘मधेसी दलहरूको वर्गस्रोत के हो ? यी मधेसी नेताहरू मन्त्री बन्दा मुसहर झाँगड, डोमले के पाए ? तर उनीहरू मधेसी मुक्ति भनेर हिँडिरहेका छन् ।’
एमाले नेता घनश्याम भुसालले जातीय उत्पीडन छैन भन्नेहरू अतिवादी र जातीय उत्पीडनले सबै दुर्गति भयो अब इतिहासको उत्पीडनबाट मुक्ति पाउन अलग बस्नुपर्छ भन्नेहरू डलरले चल्ने प्रतिक्रियावादी भएको दाबी गरे । एमाओवादीले मधेसी मोर्चाको गठबन्धन त्यागे एमालेले पनि कांग्रेससँगको मोर्चा त्याग्ने नेता भुसालले बताए । ‘म घोषणा गर्छु समाजको परिवर्तन र राष्ट्रको अस्तित्व सत्यानाश गर्ने मधेसी मोर्चासँगको सहकार्य एमाओवादीले त्यागोस् हामी कांग्रेससँग चुनावी तालमेल गर्दैनौँ यो राष्ट्रको एकता र पहिचानको खतराका कारण गर्न लागिएको सहकार्य हो,’ उनले भने ।
उनले एमालेले २० वर्षसम्म लोकतान्त्रिक अभ्यास गरेर समाजमा गरेको परिवर्तन र एमाओवादीले जनयुद्धका नाममा १६ हजारको बलिदानी गरेर ल्याएको परिवर्तनको औचित्य सावित गर्नुपर्ने बताए । ‘हेटौंडाबाट अहिले यस्तो घोषणा गर्नु थियो भने १६ हजार नेपालीको रगत किन बगाएको त्यसको औचित्य पुष्टि गर्नुस्, राष्ट्रियताका लागि सुरुङ खन्न लाइन लगाएर दिल्लीमा गरिएको कागजमा के लेखिएको थियो त्यो भन्नुस्,’ उनले भने । एमाओवादीको हेटौंडा महाधिवेशनले पारित गरेको राजनीतिक प्रतिवेदन जालझेलको दस्ताबेज भएको जिकिर गर्दै उनले पार्टीलाई टिकाउन मात्रै बिहानै बेलुकै कुरा फेर्नुपर्ने अवस्थावाट एमाओवादी नेतृत्व गुज्रेको तर्क गरे । ‘प्रचण्डको प्रतिवेदन सिद्धान्तको जालझेल मात्रै हो, अहिले गलामा लगाएको माला हातले थेगेर हिँड्नुपर्ने भए पनि इतिहासले एकदिन चिहानबाट उठेर चड्कन हान्छ त्यतिबेला प्रचण्ड अहिलेजस्तो पार्टीमा कार्यकर्ता टिकाउन यस्तो झुट बोलेँ भनेर सुख्ख पाउनुहुन्न,’ उनले भने ।
विश्लेषक मुमाराम खनालले कार्की र भुसालले नेपाली क्रान्ति र समाज परिवर्तनको सन्दर्भमा उठाएका कुरा उनीहरूको पार्टी नेतृत्वले स्वीकार गरे एउटै पार्टी हुनसक्ने बताए । नेकपा संयुक्तका महासचिव सुनील मानन्धरले पनि कार्की र भुसालले प्रस्तुत गरेका विचारमाथि टिप्पणी गरेका थिए ।
६५ वर्षअघि २२ अप्रिलका दिन पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको गठन भएको थियो । ५ जना सदस्य भई गठन भएको कम्युनिस्ट पार्टी दर्जनभन्दा बढी समूहमा विभाजित छन् ।

प्रतिक्रिया