म कक्षामा बस्दा साथीहरू अचम्म मान्थे

Rajendra०३७ सालमा एसएलसी सकेपछि काठमाडौंको सरस्वती कलेजमा भर्ना भएँ । आफू अझ परिपक्व अनि जिम्मेवार व्यक्ति भएको अनुभूति हुँदै थियो । ठूलै खड्गो पार गरेजस्तो उत्साह । स्कुलमा छँदा लाग्थ्यो– ‘म अझै बच्चै हुँ, थुप्रै कुरा जान्न बाँकी नै छन् । कलेजको विद्यार्थी हुनु भनेको विशिष्ट हुनु हो, जसलाई सबैले सम्मानको नजरले हेर्छन् ।’
कलेज जाँदा स्कुले विद्यार्थी हुँदाको बखतभन्दा निकै छाँटिएर हिँड्ने भएँ । नुवाकोटको गाउँमा छँदाको जस्तो लवाइ अब परिवर्तन हुन थाल्यो । स्कुलमा पो जस्तो भएर गए पनि हुन्थ्यो, अब त अलग देखिनुपर्छ भन्ने सोच पलाएको थियो । फेरि काठमाडौंको वातावरणमा आफूलाई समावेश गराउनु पनि त थियो । गाउँमा छँदा सीमित मान्छेसँग संगत हुन्थ्यो । कलेजमा त विभिन्न ठाउँमा फरकफरक मान्छेसँग भेट हुने । बिल्कुलै नौलो अनुभव सँगालिरहेको थिएँ, कलेजका प्रारम्भिक दिनमा ।
स्कुल पढ्दादेखि नै अखिलको राजनीतिक प्रभाव थियो ममा । कलेज आएपछि पनि पढाइभन्दा राजनीतितिरै बढी समय बित्न थाल्यो । भाषण, संगठन निर्माण, कलेज प्रशासनसँगको वार्ता, यस्तै–यस्तै.. । आइएमा छँदै माथिल्ला क्लासका विद्यार्थीको पनि नेता पो हुन पुगेँ । गाउँबाट आउँदा योजना बनाएको थिएँ– ‘बिहान कलेज जान्छु, दिउँसो जागिर खान्छु ।’ आउनासाथ केही ठाउँमा जागिरका लागि प्रयास गरेँ तर पाइनँ । राजनीतितिरै बरालिएँ । जिम्मेवारी बढ्दै जाँदा विस्तारै जागिरको मोह घट्न थाल्यो । कलेजमा नेताका रूपमा स्थापित भएँ ।
उति बेलाको राजनीतिक गतिविधि पञ्चायती व्यवस्थाको गतिले निर्धारित गथ्र्यो । पञ्चायत कमजोर भएका बेला हामीलाई खुलाजस्तो हुन्थ्यो । बलियो भएका बेला दबिएर बस्नुपथ्र्यो । यसैकारण कलेजभित्रको राजनीतिमा पनि उतारचढाव आइरहन्थ्यो । पढाइ तीन सिफ्टमा हुन्थ्यो । बिहान, दिउँसो र साँझ । म तीनै सिफ्ट कलेजमै हुन्थेँ । राजनीति सम्पर्कका लागि सबै सिफ्टका विद्यार्थीसँग घुलमिल हुनु जरुरी थियो । आफू कक्षामा बस्न नभ्याउने भएकाले एक जना जान्ने साथी कक्षामा राख्थेँ । उनी सरले पढाएका कुरा राति सबै मलाई पढेर सुनाउँथे । त्यसैका आधारमा परीक्षा दिन्थेँ ।
हाम्रो कलेजलाइफ अहिलेको विद्यार्थीको जस्तो मस्तीपूर्ण थिएन । स्ववियुको दुई कार्यकाल सभापति भएँ । कलेजको पढाइ सकिइसक्दा पनि म स्ववियु सभापति छँदै थिएँ । नुवाकोटको पार्टी काम गरेर यहाँ आउँथे, स्ववियुको काम गर्न । कुनै दिन म क्लासमा बसेको देखे साथीहरू अनौठो मान्दै भन्थे– ‘तपाईं पनि यहाँ ?’ उनीहरू सोच्थे– राजेन्द्र राजनीतिबाट पलायन भएर पढाइतिरै लाग्न थालेछ कि कसो ? मेरा लागि राजनीतिभन्दा पढाइ गौण विषय हो भन्ने धारणा उनीहरूमा थियो । जे भए नि छवि राम्रै बनाएको थिएँ, सबैले सम्मानको नजरले नै हेर्थे ।
क्याम्पसमा मन्डलेहरूको पनि राम्रै संगठन थियो । उनीहरू मलाई दु:ख दिन खोज्थे । तर, आक्रमण गर्ने आँट गरिहाल्दैनथे । किनकि, मसँग पनि विद्यार्थीहरूको राम्रो सम्बन्ध थियो । २०–३० जना साथी प्राय: सधैँ सँगै हुन्थे, जसकारण विरोधीहरू हच्किन्थे । ०५० सालसम्म म त्यहाँको विद्यार्थी थिएँ । बहुदलपछि पार्टी काम गर्न जिल्ला गएँ ।
कलेजमा छँदा मनोरञ्जन गर्नेतिर उति ध्याउन्न पनि हुँदैनथ्यो । जे गर्दा पनि राजनीति अनि परिवर्तनको आन्दोलनमा औँलो उठ्ने गतिविधि नहोस् भन्नेमा सचेत थियौँ । संगठनका खातिर खाँदा, बस्दा, हिँड्दा पनि सोचेर अगाडि बढ्नुपर्ने । नेताको बानीव्यवहार पनि संगठनप्रति अरू विद्यार्थीको आकर्षण जगाउन महत्त्वपूर्ण पक्ष थियो । साँच्चै भन्ने हो भने त्यतिबेला हाम्रो कुनै निजी जीवनै थिएन । त्यसैकारण कलेजका सम्झनलायक रमाइला क्षण मसँग छैनन् । अहिले सम्झँदा अध्ययनमा जति मेहनत गर्नुपथ्यो, त्योचाहिँ गरिएन कि जस्तो लाग्छ । राजनीतिक क्षमतावृद्धि गर्न पनि अध्ययन जरुरी हुन्छ, त्यो गर्न सकिएन । सधैँै ब्याक लागेर पास भएँ । अघिल्लो दिन संगठनको काममा व्यस्त अनि भोलिपल्ट परीक्षा दिन गएपछि रिजल्ट राम्रो होस् पनि कसरी † कलेजको राजनीति गर्दा जेल पनि परिन्थ्यो ।
प्रायजसो कलेज प्रशासन र स्ववियुबीच हुने अन्तद्र्वन्द्व भने मैले कम गराएको थिएँ । प्रशासनसँग मेरो राम्रो सम्बन्ध थियो । स्ववियु र प्रशासन सधैँ द्वन्द्व नै गरिरहन्छन् भन्ने कुरा हाम्रोमा चाहिँ गलत साबित भएको थियो । अखिलप्रतिको विद्यार्थीहरूको झुकावलाई राम्रैसँग क्याच गरेका थियौँ । राम्रो नम्बर ल्याउनेलाई मात्र भर्ना लिने चलन मैले परिवर्तन गराएँ । एसएलसी पास गरेका प्रत्येक विद्यार्थीले क्याम्पस पढ्न पाउनुपर्छ भनेर प्रशासनसमक्ष माग राख्यौँ । धेरै दबाब मात्र पूरा भयो । सरस्वती क्याम्पसमा सुरु भएको यो व्यवस्था विस्तारै अरू कलेजमा पनि पुग्यो ।
प्रस्तुति : चमिना

प्रतिक्रिया