चट्याङबाट पाँचको मृत्यु

काठमाडौं, ९ बैशाख । शनिबार राति हावाहुरीसँगै आएको चट्याङका कारण कैलाली, डोटी र नुवाकोटमा गरी पाँच जनाको मृत्यु भएको छ ।

कैलाली बौनिया गाविस २ मैनापोखरीस्थित घरमा बसिरहेकी २९ वर्षीय सोसुलाल चौधरी र उनकी पत्नी टीकादेवी चौधरीको चट्याङबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सोसुलालको घटनास्थल र टीकादेवीको उपचारको क्रममा मृत्यु भएको हो । सोसुलालको छोरा निराजन चट्याङ लागेर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको कैलाली प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हेमबहादुर शाहीले बताए । शाहीले चट्याङ लागेर चार वटा चौपाया पनि मरेको जानकारी दिए ।
यसैगरी डोटीको घन्टेश्वर गाविस ३ मा चट्याङ लागेर ६५ वर्षीया रामकली डाँगी र ५५ वर्षीया पारासिंह मल्लको मृत्यु भएको छ । घरमा बसिरहेको बेला चट्याङ लागेर गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि अत्तरियास्थित पद्मा अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको डोटी प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी नुवाकोट बुङताङ गाविसमा चट्याङका कारण एक बालिकाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । बिहान १० बजेको समयमा परेको चट्याङका कारण बुङताङ गाविस वडा नं. ४ बस्ने बुद्धि तामाङकी ११ वर्षीय छोरी जसमाया तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
एक्कासी परेको चट्याङका कारण जसमायाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव निरीक्षक लक्ष्मण गौतमले बताए । चट्याङ लागेर सोही ठाउँका ६० वर्षीय रोलपोङ तामाङको टाउकोमा गम्भीर चोट लागेको छ । तामाङको टाउकोमा १९ वटा टाँका लगाइएको अवस्थामा स्थानीय मेडिकलमा उपचार भइरहेको छ । यस्तै, ६५ वर्षीय राम तामाङको दाहिने हातमा चट्याङ लागेको छ । चट्याङले तामाङको दाहिने हात नचल्ने भएको छ । चट्याङबाट गाउँका आधा दर्जन घर चर्किएका छन् । शेरबहादुर तामाङ र मीनबहादुर तामाङको एक/एक वटा भैँसी मरेको छ ।
यसैबीच घाँस काट्न गएकी लच्याङ गाविसकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । लच्याङ गाविस वडा नं. २ का सोमलाल तामाङकी ४० वर्षीय श्रीमती ठूलीमाया तामाङको शनिबार बिहान भीरबाट खसेर मृत्यु भएको हो । भीरबाट खसेर गम्भीर घाइते तामाङको उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

प्रतिक्रिया