डेढ महिनापछि पूर्वराजा ज्ञानेन्द्र काठमाडौं फर्किए

Gyanendra-Shahaकाठमाडौ, ९ बैसाख । हृदयाघातबाट गम्भीर बिरामी परेका छोरा पारसलाई भेट्न बैंकक गएका पूर्वराजा ज्ञानेन्द्र शाह डेढ महिनापछि आइतबार स्वदेश फर्किएका छन् । पूर्वयुवराज पारस भने अझै केही दिन बैंककमै रहनेछन् । उनलाई पुन:स्थापना केन्द्रमा राखिएको छ ।

झन्डै दुई वर्षदेखि परिवारको सम्पर्कमा नरहेको छोरो हृदयाघातले अचेत भएर अस्पताल भर्ना भएको एक सातापछि पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल शाह बैंकक गएका थिए । उनीहरू गत १६ चैतमा बैंकक गएका थिए । त्यसअघि नै पारसपत्नी हिमानी बैंकक पुगेकी थिइन् ।
पारसको अवस्था गम्भीर हँुदा दु:खी भावमा भगवान्को नाम लिँदै बैंकक लागेको पूर्वराजपरिवार उनको स्वास्थ्यमा चामत्कारिक सुधार आएपछि खुसी हँुदै स्वदेश फर्किएको छ । पूर्वराजा ज्ञानेन्द्रसँगै कोमल, हिमानी र उनका छोराछोरी पनि स्वदेश फर्किएका छन् ।
डेढ महिनाको बैंकक बसाइपछि स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्रले भगवान्को कृपा र नेपाली जनताको प्रार्थनाले छोराको स्वास्थ्यमा सुधार आएको बताए । ‘तपार्इंहरू सबैले पारसप्रति देखाउनुभएको सद्भाव र प्रार्थनाले नै उसको स्वास्थ्यमा सुधार आएको हो, अझै प्रार्थना गरिदिनुस्, ऊ असल बनोस्,’ अन्तर्राष्ट्रिय विमानस्थलमा उनले पत्रकारसित भने ।
छोरा पारस अझै केही न केही रूपले कमजोर रहेकाले बैंकककै पुन:स्थापना केन्द्रमा राखेर आफू स्वदेश फर्केको पूर्वराजा ज्ञानेन्द्रले बताए । ‘छोरा कमजोर नै छ, हृदय अझै कमजोर छ । त्यही भएर केही समय त्यहीँ बस्नुपर्ने भएको छ,’ उनले भने । पूर्ण स्वस्थ भएपछि पारस स्वदेश फर्किने उनले बताए ।
अस्पताल भर्ना गरिएको डेढ हप्तासम्म अचेत रहेका पारसको
स्वास्थ्यमा चामत्कारिक सुधार आएको थियो । उनलाई बैंकककै पुन:स्थापना केन्द्रमा चिकित्सकको निगरानीमा राखिएको छ । स्रोतका अनुसार उनलाई केही हप्तापछि स्वदेश ल्याइनेछ ।
विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्रले छोराको स्वास्थ्य जस्तै देशको स्वास्थ्यमा पनि सुधार ल्याउनुपर्ने बताए । ‘अहिले मैले के बुझेँ भने स्वस्थ देश स्वस्थ नागरिक भएको देश हुनुपर्छ, त्यही कामना लिएर म आएको छु,’ उनले भने ।
गत ८ फागुनको राति अचानक हृदयाघात भएपछि पारसलाई बैंककको समितिवेज अस्पतालमा भर्ना गरिएको थियो । लामो समयसम्म पनि होस आउन नसकेपछि नेपालमा रहेकी उनकी पत्नी हिमानी छोरी पूर्णिकासहित बैंकक गएकी थिइन् । बाबु ज्ञानेन्द्र र आमा कोमल भने अचेत भएको ८ दिनपछि मात्र बैंकक पुगेका थिए । अस्पताल भर्ना भएको ११ दिनपछि १९ फागुनमा पारसको होस खुलेको थियो ।
पूर्वराजपरिवार स्वदेश फर्कने क्रममा विमानस्थलमा राप्रपा नेपालका कार्यकर्ताले स्वागत गरेका थिए । शाहलाई स्वागत गर्न राप्रपा नेपालका केन्द्रीय सदस्य मोहन श्रेष्ठलगायत विमानस्थल पुगेका थिए ।

प्रतिक्रिया