चट्याङ लागेर कैलाली र डोटीमा तीनको मृत्यु

kailali

धनगढी, ८ वैशाख । हावाहुरीसँगै परेको चट्याङ लागेर कैलाली र डोटीमा तीन जनाको मृत्यु भएको छ ।
शनिबार राति कैलाली बौनिया–२, मैनापोखरीस्थित घरमा बसिरहेका बेला टीकादेवी चौधरीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक हेमबहादुर शाहीले जानकारी दिएका छन् ।
चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । उनका छोरा निराजन चट्याङ लागेर गम्भीर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । चट्याङ लागेर चार वटा चौपाया पनि मरेका छन् ।
त्यसैगरी डोटी जिल्लामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । घण्टेश्वर–३ मा चट्याङ लागेर ६५ वर्षीया रामकली डाँगी र ५५ वर्षीया पारासिंह मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया