एसएलसी प्रिन्सेजमा ५० छनोट

काठमाडौं : एसएलसी प्रिन्सेज–२०१३ पहिलो चरणको छनोट सम्पन्न भएको छ । ८० भन्दा बढीको प्रतियोगितामा आवेदन फाराम भरे पनि ५० प्रतियोगी मात्र प्रतिस्पर्धाका लागि छनोटमा परेका छन् । जसमा उपत्यकाका ४० र बाहिरका १० प्रतियोगी चयनमा परेका छन् । एजे डब्लु एलेबल कलेजमा अध्यक्ष नवीनमान श्रेष्ठ, सिनियर विमान परिचारिका अञ्जली शर्मा खनाल, कोरियोग्राफर रोजिन शाक्य, एसएलसी प्रिन्सेज २०१० की विजेता परिक्रमा राईलगायत पहिलो चरणको छनोटमा निर्णायक रहेका थिए ।
छनोट प्रतियोगीलाई वैशाख ७ गतेबाट प्रशिक्षणमा सहभागी गराइनेछ । प्रतियोगीले प्रशिक्षणको क्रममा पौडी, शारीरिक व्यायाम, फोटो सेसन गराउनुका साथै व्यक्तित्व विकाससम्बन्धी ज्ञानका साथै विभिन्न सामाजिक स्थानहरू (माइती नेपाल, बालआश्रम, वृद्धा आश्रम, नार्कोनो नेपाल लगायत) मा भ्रमण गराइनेछ । । प्रशिक्षणकै क्रममा राजधानीका विभिन्न कलेजको भ्रमण गराउनुका साथै कलेजमा अध्ययन गराइने सम्पूर्ण विषयका बारेमा पनि जानकारीसमेत दिइनेछ ।
एसएलसी दिएर बसेका युवतीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले सिजन मिडियाले विगत २ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । (सौस)

प्रतिक्रिया