सूक्ष्म सन्देशका कलात्मक लघुकथा

Shree-Om-Shresthaदिनप्रतिदिन बढ्दै गएको प्रविधिले गर्दा मानिसलाई समय महँगो हुन थालेको छ । विज्ञानको अकल्पनीय विकासले सानो कुरामा नै संसार पाउन थालिएको छ । यसको प्रभाव साहित्यमा पनि परिरहेको छ । यही कारण लामो रचनाको महत्त्व भएर पनि छोटा आकारका रचनाहरू बढी पाठकीय हुन थालेका छन् । जसमध्ये लघुकथा पनि एक हो । लघुकथा छोटो भईकन पनि पूर्ण हुने आख्यानको लघु रूप हो । लघुकथा बढीमा तीनसय शब्द सीमाभित्र लेखिने भएकाले आजको समय सापेक्ष साहित्य पनि बन्दै आएको छ ।
थोरै समयमा जीवन र समाजको एउटा कथालाई पूर्ण रूपमा प्रस्तुत गर्नुपर्ने भएकोले लघुकथा लेखन एक प्रकारको चुनौती पनि हो । लघुकथाको लोकप्रियता, यसले पाएको बजार र यसको चुनातीलाई सहज स्वीकारेर निरन्तर लघुकथा लेखिरहेका छन्, सुमन सौरभ । सुमन अरू लेखकहरूजस्तै धेरै विधामा कलम चलाउँदैनन् । उनी लघुकथा मात्र लेखिरहेका छन् । लघुकथाप्रति उनको प्रतिबद्धता र समर्पण उदाहरणीय र प्रशंसनीय पनि छ ।
‘चौथो लिंगी’ उनको तेस्रो लघुकथा संग्रह हो । यस पूर्व उनका आधुनिक लघुकथाहरू (२०५२) र पराइ विचार (२०६५) प्रकाशित छन् । दुई दशकदेखि लघुकथामा समर्पित सुमन सौरभ वि.सं. ०६७ को राष्ट्रव्यापी लघुकथा प्रतियोगितामा प्रथम पुरस्कारले पुरस्कृत छन् । उनी लघुकथा समाजको कोषाध्यक्षका रूपमा पनि लघुकथा विकासको लागि क्रियाशील छन् ।
साझा प्रकाशनद्वारा प्रकाशित लघुकथा संग्रह ‘चौथो लिंगी’ शीर्षक आफैँमा फरक सोचको छ । अहिले समाजमा पुलिंगी, स्त्रीलिंगी र तेस्रो लिंगी प्रचलित भए पनि सुमनले चौथो लिंगीको परिकल्पना गरेका छन् । प्रस्तुत संग्रहभित्र रहेका ४३ वटा लघुकथामध्येको एक लघुकथाको शीर्षक हो ‘चौथो लिंगी’ । नारीलाई सन्तान जन्माउने साधन मात्र ठान्ने पुरुष सोच र त्यसको परिणति यस लघुकथामा रहेको छ । अनिच्छत गर्भ विरोधी आइमाईको श्राप लागेर प्रकृतिले उल्टो मोड लिन्छ र प्रसव पीडाको अनुभवका लागि गर्भधारण गर्ने पुरुषलाई सुमनले चौथो लिंगीको संज्ञा दिएका छन् ।
यस संग्रहका लघुकथा पृथक्पृथक् सोचका छन् । चलनचल्तीका भन्दा फरक परिकल्पना र शैलीका कारण लघुकथा विविध स्वादका बनेका छन् । ‘अमानव’ शीर्षकको लघुकथामा मानवको जैविक रसायन धुने क्लिनिकमा गएर सम्पूर्ण दुर्गुण हटाउने व्यक्ति रातभरि निदाउन सक्दैनन् । भोलिपल्ट सोही समस्या लिएर क्लिनिकमा जाँदा डाक्टरले स्पष्ट भन्छन्, दुर्गुणविनाको मानव मानव नै होइन । क्षमा, अब मेरो केही सीप लाग्दैन । यहाँ मानको मात्र उपचार गरिन्छ, गैरमानको होइन ।
‘साँचो कुरा’ मा पुख्र्यौली पेसाको रूपमा सुँगुर पाल्दै आएका साहुनीको कुरा सुनेपछि सानो सुँगुर आफ्नो आमालाई गएर सोध्छ –हामीलाई त साहूहरूले पालेका रे नि हो आमा ? अवोध बच्चालाई सम्भाmाउँदै आमा सुँगुर भन्छिन् —मान्छे झूठो बोल्छन् । हाम्रा बाउबाजेले उनीहरूका बाउबाजेलाई पालेका थिए र अहिले हामी उनीहरूलाई पालिरहेका छौँ ।
यसरी सुमन आफ्ना लघुकथामा नयाँ दृष्टिकोण प्रस्तुत गर्छन् । केही नभनेको जस्तो गरेर सजिलोसँग गम्भीर विषय उप्काउँछन् । पढेपछि दोहर्‍याएर पढ्न बाध्य बनाउँछन् । नारी पुरुषबीच भएका विभेदका अनेक सन्दर्भ छन् । तर, सुमनले आशीर्वाद दिँदा हुने विभेदमाथि लघुकथा लेखेका छन्– आशिषमा । बाबुआमाले छोरालाई आशीर्वाद दिँदा भाग्यमानी भएस् भन्ने र बुहारीलाई सौभाग्यवती भएस् भनेर छोराकै दीर्घायुको लागि आशिष दिने परम्पराको विरोध गर्छन् । ‘मौन प्रस्ताव’मा अरूका कारण भोकै बस्नुपर्ने गरिबहरूको बाध्यतालाई देखाइएको छ । ‘विजयोन्माद’ मा बैरीका कुनै पनि अवशेष नरहने गरी भत्काउन र जलाउन लगाउने सम्राट बिरामी हुँदा उपचारविहीन लेखिएको पुस्तक पनि जलाइएको कारण बाँच्न सक्दैनन् ।
सन्तानको रहर पूरा गर्न जजमानको मृत्यु कुनै पण्डितको गरिबी, जागिर नपाएपछि प्रमाणपत्रहरू बिक्रीमा राख्ने शैक्षिक बेरोजगारको पीडा, पुरुषमाथि हुने घरेलु हिंसाको सुनवाइ हुने ठाउँको खोजी, प्रेमीको प्रतिविम्ब खोजेर लोग्नेलाई माया गर्ने स्वास्नीको चरित्र, पानीमा भिजेर खोकी लागेको बालक माछालाई खोकीबाट बचाउन एक्वारियम भित्र ……कफड्रप हाल्ने बालमनोविज्ञान, महिलामात्र वेश्या हुन्छ भने रूढीगत सोचलगायतका फरक विषवस्तु र सन्दर्भका लघुकथा ‘चौथो लिंगी’ भित्र संगृहीत छन् ।
सुमन सौरभले लघुकथाहरूमा सूक्ष्म सन्देशलाई कलात्मक ढंगले प्रस्तुत गरेका छन् । उनी लघुकथाको उपयुक्त शीर्षक राख्न पनि सिपालु छन् । कौतूहलतापूर्वक लघुकथाको प्रारम्भ गरी रोचकतापूर्वक नाटकीय ढंगले अगाडि बढाउन र मीठो प्रभावसहित लघुकथाको अन्त्य गर्छन् । यही कारण संग्रहका लघुकथामा गम्भीर बनेका छन् । लघुकथाको नाममा नहुनपर्ने कमजोरीहरूबाट बचेका छन् । लघुकथाको संरचनागत विशेषतालाई आत्मसात गरेका छन् ।
समग्रमा सुमन सौरभका लघुकथाहरू नवीन अवधारणा र शैलीका छन् । यही नै उनको विशेषता बनेको छ भन्ने तथ्यको पुष्टि लघुकथाकार किशोर पहाडीले यसरी गरेका छन्, ‘सुमन आफ्नो लघुकथामा यस्तो विषय लिन्छन्, जसलाई अरूले ग्रहण गरेको हुँदैन । सुमन त्यस विषयलाई यसरी प्रस्तुत गर्छन्, जसलाई अरूले यसरी प्रस्तुत गर्न सकिन्छ भनेर सोचेकै हुँदैनन् । सुमन त्यस विषयलाई यसरी अन्त्य गर्छन्, कि, पाठकहरू त्यस लघुकथाको तिक्खरतामा धेरै समयसम्म प्रभावित भएर रहन्छन् ।’

प्रतिक्रिया