समितिबाटै चुनाव विथोल्ने षड्यन्त्र : नेपाल

madhav nepal 1काठमाडौं, ६ वैशाख । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उच्चस्तरीय राजनीतिक समिति भित्रैबाट चुनाव विथोल्ने षड्यन्त्र भएको आरोप लगाएका छन् ।
प्रेस चौतारीको काठमाडौं शाखाले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले अनावश्यक बखेडा निकालेर समिति भित्रैबाट निर्वाचन विरोध गतिविधि गर्न नहुँने बताए । ‘उच्चस्तरीय राजनीतिक समिति भित्रैबाट अरुलाई चुनाव विरुद्ध उकास्ने कार्य भएको छ,’ उनले भने, ‘विशेष गरेर एमाओवादीले चुनाव विरोधी गतिविधि त्याग्नु पर्छ ।’
उनले एमाओवादीलाई निर्वाचनप्रति जिम्मेवार बन्न सुझाव दिए । ‘निर्वाचन भन्दा अर्को विकल्प छैन,’ नेता नेपालले भने, ‘एमाओवादीले गैर जिम्मेवार काम त्याग्नु पर्छ । अरुलाई अनावश्यक निर्वाचन विरुद्ध नउकासौं ।’
उनले उच्चस्तरीय समितिमा नेकपा–माओवादी र मधेसी जनअधिकार फोरम नेपाललाई पनि ल्याउन पर्ने बताए । सो विषयमा आफूहरु सधैं तयार रहेको नेता नेपालको भनाई थियो ।
बाबुराम भट्टराई नेतृत्वको सरकारका समयमा भएका राजनीतिक र अन्य महत्वपूर्ण निर्णय रद्द गर्नुपर्ने माग पनि उनले गरे । ‘बाबुराम भट्टराईले गरेका नियुक्त र महत्वपूर्ण निर्णय रद्द गर्नु पर्छ,’ नेता नेपालले भने, ‘ति निर्णयहरु रद्द भए आन्दोलनकारी दलका अधिकांश माग स्वत: पुरा हुन्छ ।’

प्रतिक्रिया