राज्यलक्ष्मी र लक्ष्मीलाई स्वर्ण

weightliftingवीरगन्ज, ५ वैशाख । नेपाल प्रहरीकी राज्यलक्ष्मी थापा र लक्ष्मी वनले ‘शालिमार प्रथम महिला तथा पुरुष खुला राष्ट्रिय भारत्तोलन प्रतियोगिता– २०७०’ मा स्वर्णपदक जितेका छन् । यी दुवै खेलाडी नेपाल प्रहरीका हुन् । राज्यलक्ष्मीले ६९ केजी तौलमा स्नाचमा ५० र क्लिन एन्ड जर्कमा ६५ केजीसहित कुलमा ११५ केजी तौल उठाउँदै स्वर्ण जितेकी हुन् । सो स्पर्धामा सिरहाकी पुष्पा चैधरीले ४० र ५० केजीसहित कुल ९० केजीका साथ रजत र दाङकी कल्पना चौधरीले ३२ र ४० केजीका साथ कुल ७२ केजी उठाउँदै कांस्य पदक प्राप्त गरे ।

त्यस्तै, लक्ष्मी वनले ७५ केजी तौल समूहमा स्नाचमा ५२ केजी र क्लिनमा ६८ केजीसहित कुल १२० केजी भार बहन गर्दै स्वर्णपदक प्राप्त गरिन् । सो स्पर्धामा कञ्चनपुरकी चम्पा ठकुल्लाले ४० र ५७ केजीका साथ कुल ९७ केजी उठाउँदै रजत पदक प्राप्त गरिन् । सो स्पर्धामा दुई मात्र खेलाडीको सहभागिता रहेको थियो ।
यसैगरी महिलाको ४८ केजी तौलमा सप्तरीकी कविता चौधरीले स्वर्ण पदक प्राप्त गरिन् । उनले स्नाचमा ४५ केजी र क्लिनमा ५० केजीसहित ९५ केजी भार बहन गरिन् । कैलालीकी कञ्चन चौधरीले ३७ र ४५ केजीका साथ कुल ८२ केजीका साथ रजत र कास्कीकी टीका माया गुरुङले ३५ र ४६ केजीसहित कुलमा ८१ केजी उठाउँदै कांस्य पदक प्राप्त गरिन् ।
वीरगन्जस्थित पौडी पोखरी तथा हेल्थ क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको पुरुषतर्फको खेलको ६२ केजी तौल समूहमा सिराहाका हेमशंकर चौधरीले स्नाचमा ७५ केजी, क्लिन एन्ड जर्कमा १०० केजी र कुलमा १७५ केजी भार बहन गर्दै स्वर्ण पदक प्राप्त गरे । आर्मीका हरि राणाले ७८ केजी, ९५ केजी र कुलमा १७३ केजीका साथ रजत र आर्मीकै तुलाराम महतोले ७५ केजी, ९२ केजी गरी कुल १६७ केजीका साथ कांस्य पदक प्राप्त गरे ।
६९ केजीमा आर्मीका राजु रानाले स्वर्ण पदक पाए । उनले स्नाचमा १०० केजी, क्लिनमा १३० केजी र कुलमा २३० केजी उचालेका थिए । दोस्रो स्थानमा प्रहरीका अनिल मल्ल रहे । उनले स्नाचमा १००, क्लिनमा ११० र कुलमा २१० केजी भार बहन गरे । सप्तरीका डिगम्बर यादवले कांस्य पदक पाए । उनले स्नाचमा ९० केजी, क्लिनमा १०७ गरी कुल १९७ केजी तौल उचाले ।
कार्यक्रमको अन्तिम दिन भारत्तोलन खेलको विकासमा योगदान पुर्‍याएको नेपालगन्ज निवासी प्रशान्त शाहलाई सम्मान गरियो । यस्तै, वीरगन्ज निवासी नीता थापालाई १५ हजारले सम्मान गरियो । उनले ५६ सालमा राखेको ४८ केजी तौल समूहको कीर्तिमान अझैसम्म पनि कसैले तोड्न सकेका छैनन् ।
दुईदिने प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना, स्टार क्यासिनो, वीरगन्ज पौडी पोखरी तथा हेल्थ क्लब र १७ जिल्लाका २९ महिला र ६८ पुरुष खेलाडीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया