जापानमा नेपाली चौतारीको माधुर्य

Japan-Nepaliथुप्रै नेपाली श्रोता पञ्च लामाको बाँसुरीको धुनमा लट्ठिएका छन्, यसमा कुनै शंकै छैन । तर, त्यो धुनमार्फत पञ्च लामाको व्यक्तिगत परिचय खोज्ने काम विरलै मानिसले गरे होलान् । यस अर्थमा पञ्चको व्यक्तिगत परिचय ओझेलमा परेको छ, उनैको मधुर बाँसुरीवादनले सजिएका थुप्रै लोकप्रिय नेपाली गीतको तुलनामा । अनि तबलावादक श्रवण लामाको हकमा पनि यही यथार्थ लागू हुन्छ । नेपालमा यिनीहरूको खोजी गर्ने कति छन्, थाहा छैन । तर, जापानमा भने यिनीहरूको मोहक सांगीतिक धुनमा लट्ठिनेहरूको ठूलै जमात तयार भइसकेको छ । थुप्रै संगीतानुरागीहरू यिनीहरूलाई भेट्न आतुर हुन्छन् । यी दाजुभाइको मादकशैलीको वाद्यवादन क्षमताले जापानमा यिनीहरूको प्रसिद्धि बढाइरहेको छ ।
१६ वर्षअघि जापानको टोकियोमा स्थापित चौतारी ब्यान्डका सदस्य हुन् यी दाजुभाइ । उनीहरूले सिर्जेका सयौँ नेपाली धुन सुन्नेको संख्या नेपालमा भन्दा विदेशमा बढी छ अहिले । ‘माथिमाथि सैलुंगेमा’, ‘चोट के हो व्यथा के हो’, ‘सिमेसिमे पानीमा’ जस्ता तीन हजार बढी नेपाली गीतको लोकप्रियतामा पञ्चको बाँसुरीकलाको पनि ठूलो योगदान छ । यी गीतको सफलताबाटै अनुमान लगाउन सकिन्छ, उनको क्षमताको पनि । चौतारी ब्यान्डमा अहिले यी दाजुभाइबाहेक कासाई खेन, थाकेडा होरोकी, इथो डरबुकाजस्ता जापानी संगीतकर्मी पनि संलग्न छन् ।
१८ वर्षअघि जापानीले खोलेको नेपाली रेस्टुरेन्टमा बाँसुरी बजाउन जापान आइपुगेका पञ्चले जापानीसँगै मिलेर चौतारी ब्यान्ड खोलेका हुन् । त्यसपछि उनले तबलावादक भाइ श्रवणलाई पनि यतै बोलाए । अनि दाजुभाइ ब्यान्डमार्फत जापानका विभिन्न सहरमा सांगीतिक प्रस्तुतिमार्फत जम्न थाले ।
यस बाट आम्दानी हुने कमाइ उनीहरूले व्यक्तिगत प्रयोजनमा मात्र खर्चेका छैनन् । मातृभूमिको सेवामा लगाएका छन् । जसले उनीहरूको सांगीतिक क्षमता मात्र होइन, मानवीय महानता पनि प्रस्ट्याउँछ । यसमा पनि कारण छ– नेपाल गएका बखत उनीहरूले जन्मथलो सर्लाहीको घुर्कौलीमा स्कुलको अभाव देखे । स्कुल भेट्न निकै टाढा जानुपर्ने अवस्था थियो । त्यसपछि यी दाजुभाइ जापान फर्किए अनि स्कुल खोल्न ‘च्यारिटी कन्सर्ट’ मार्फत रकम जम्मा गर्न थाले ।
दश वर्षअघि उनीहरूले गाउँमा स्कुल स्थापना गरिछाडे, जनहित पञ्च इसाका प्रावि । अंग्रेजी माध्यमबाट सात कक्षासम्म पढाइ हुने त्यो स्कुलमा अहिले तीन सय ७४ विद्यार्थी पढ्छन् । त्यस्तै श्रवण द्वन्द्वपीडित बालगृह खोलेर द्वन्द्वपीडित र अनाथ गरी ५७ जना बालबालिकालाई नि:शुल्क शिक्षा पनि दिइरहेका छन् । ‘५७ जनाका लागि चाहिँ उच्च शिक्षा पनि व्यवस्था हुने गरी पैसा जुटाइरहेका छौँ’, पञ्चले भने । लामा दाजुभाइले स्कुल र बालगृहका लागि अहिलेसम्म करिब एक करोड ७० लाख रकम नगद खर्चिसकेका छन् । नगदबाहेक अन्य सहयोग पनि गरेका छन् । ‘यो वर्ष मात्र १३ लाख रकम दिइयो’, उनले भने । जापानमा स्कुलका लागि नियमित च्यारिटी कन्सर्ट गरेर रकमको जोहो गरिँदै आएको श्रवणले बताए ।
अहिले जापानका विभिन्न सहरमा महिनामा २४ वटासम्म सांगीतिक प्रस्तुति पस्किन्छन् यी कलाकारद्वय । आठ वर्षअघि पिएस म्युजिक कम्पनी खोलेका उनीहरूले चौतारी, झरना यात्रा, प्रे, हिमालय बिट, बेम्बो स्प्रिटजस्ता सिडी तथा एसियन पाराडाइज डिभिडी निकालिसकेका छन् । श्रवण भन्छन्, ‘मौलिक तथा लोक नेपाली संगीतलाई अन्तर्राष्ट्रिय जगतमा प्रचार गर्न पाउँदा खुसी लाग्छ ।’ जापानबाहेक, कोरिया, थाइल्यान्डलगायत मुलुकमा समेत बेलाबेला प्रस्तुति दिन पुगिरहन्छन् उनीहरू ।
चार वर्षयता नेपाल आउँदा पनि हरेकपटक सांगीतिक प्रस्तुति दिन भ्याउँछन्, यी सहयात्री दाजुभाइ । उद्देश्य उही हुन्छ, स्कुलका लागि सहयोग रकम जम्मा गर्नु । ‘हामीलाई सांगीतिक कार्यक्रम गर्दा जति रमाइलो लाग्छ, त्योभन्दा बढी घुर्कौलीमा पढिरहेका विद्यार्थी देख्दा लाग्छ ।’
– महेन्द्रप्रसाद सापकोटा, टोकियो, जापान

प्रतिक्रिया