दीपक मनाङे छुटे

Deepak-Manangeकाठमाडौं : ठगी अभियोगमा पक्राउ परेका ‘डन’ राजीव गुरुङ उर्फ दीपक मनाङे मंगलबार छुटेका छन् । राजनाथ उपाध्याय नामको व्यक्तिलाई दिएको २० लाख ५० हजारको चेक बाउन्स भएपछि महानगरीय प्रहरी प्रभाग स्रोह्रखुट्टेले २७ चैतमा पक्राउ गरेका मनाङे हनुमानढोकामा थुनामा थिए ।
बयान गराउन तथा बहसका लागि मनाङेलाई मंगलबार दिउँसो काठमाडौं जिल्ला अदालत पुर्‍याइएको थियो । जिल्ला अदालतको एक नम्बर इजलासबाट भएको आदेशअनुरूप मनाङेलाई प्रहरीले छाडेको हो । कानुन व्यवसायीको जिम्मामा रिहा गर्न र खोजेको बेला अदालतमा उपस्थित हुन अदालतले आदेश दिएको छ ।
चेक बाउन्सपछि उपाध्यायले दिएको उजुरीका आधारमा प्रहरीले मनाङेलाई पक्राउ गरेको थियो । उपाध्यायले बाउन्स चेक बराबरको रकम पाएको उल्लेख गर्दै अदालतको इजलासमा बैंक दाखिलाको भौचर पेस गरी उजुरी फिर्ता लिने बताएपछि मनाङेलाई अदालतले रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीश बालकृष्ण उप्रेतीको इजलासले अदालतले चाहेको बेला उपस्थित गराउने सर्तमा हाजिरी जमानतमा रिहा गर्न आदेश दिएको थियो । ‘अदालतले चाहेको बेला उपस्थित हुने गरी कानुन व्यवसायीको जिम्मा लगाउनु र थप अनुसन्धान गर्न आवश्यक भए अनुसन्धानको प्रक्रिया थाल्न जिल्ला प्रहरी कार्यालय हनुमानढोकाका नाममा आदेश दिनु’ आदेशमा भनिएको छ । (सौस)

प्रतिक्रिया