सप्तरीमा आगलागी बढ्दो

राजविराज, ३ वैशाख । सुख्खा मौसम र हावाहुरीका कारण सप्तरीमा आगलागीका घटना बढ्दै गएको छ । पछिल्लो पटक आइतबार र सोमबार मात्र तिलाठीलगायतका आधा दर्जन गाविसमा आगलागी भएको थियो । आइतबार साँझ जिल्लाको तिलाठी गाविसमा भएको आगलागीमा परी ६० घर जलेर नष्ट भएका छन् । घटनामा करिब एक करोडको क्षति भएको छ । वडा नं. ५ निवासी देवनारायण यादवको घरमा विद्युत् सर्ट भई सुरु भएको आगलागीमा ४, ५ र ६ नं वडाका करिब ६० भन्दा बढी घर जलेर नष्ट भएका छन् उनीहरूका तीन भँैसी र १३ बाख्रापाठासमेत जलेर मरेका छन् ।

आगलागीका कारण डम्बर यादव, देवनारायण यादव, रामगुलाव यादव, दोरीक यादव, खुसीलाल यादव, रामनारायण यादव, सुधिर यादवलगायतको घर जलेको प्रहरीले जनाएको छ । सदरमुकाम राजविराजबाट करिब १५ किलोमिटरको दूरीमा रहेको घटनास्थलमा पुग्ने बाटो जिर्ण भई तत्कालै दमकल पुग्न नसकेका कारण आगलागीबाट अधिक क्षति भएको जनाइएको छ । यद्यपि, करिब सात बजे सुरु भएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, राजविराजस्थित नेपाली सेना, राजविराज नगरपालिकाको दमकल र स्थानीयको पहलमा डेढ घन्टा पछि नियन्त्रणमा आएको थियो ।
सोही दिन साढे एक बजे जिल्लाको रौतहट–९ मा भएको आगलागीमा परी दुई परिवारका पाँच घर जलेर नष्ट भएका छन । स्थानीय कारि यादवको घरबाट अचानक सुरु भएको आगोले उनको दुई र रामप्रसाद यादवको तीन वटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट दुई बाख्रासहित चार लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । त्यस्तै बिहान करिब पाँच बजे वसविट्टी–६ र मलेठ–६ मा अचानक लागेको आगोले ६ परिवारका १० घर जलेर नष्ट भएका छन् । आगलागीमा करिब १० लाख रुपियाँको क्षति भएको प्रहरीको अनुमान छ । आगोले मलेठ–६ का डम्बर सदा, प्रभु सदा तथा वसविट्टी–६ कुन्दन साफीलगायतको १० वटा घर जलेका छन् भने आगो नियन्त्रणका क्रममा अन्य दुई घर भत्काइएका छन् । आगलागीमा परी जग्गा किन्न घरमा राखेको कुन्दन यादवको पाँच लाख नगदसमेत जलेर नष्ट भएको पीडितले जानकारी दिएका छन् ।
यसअघि आइतबार साँझ धनेश्वर यादवको घरमा गहँु झार्न प्रयोग गरिएको थ्रेसरबाट सुरु भएको आगलागीमा परी पकरी–३ मा चार परिवारका नौवटा घर जलेर नष्ट भएका छन् भने उक्त घटनामा सात लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी चौकी पकरीका असई अरुण यादवले जानकारी दिएका छन् । सोही समय फत्तेपुर–४ सिद्धिपुर निवासी ध्रुव बस्नेतको घरमा आगलागी हँुदा करिब १० लाखको क्षति भएको थियो । दुई दिनभित्र भएका यी घटना बाहेक सप्तरीमा यसअघि पनि दर्जनौँ स्थानमा आगलागी भएको र करौडौँको धनमाल जलेर नष्ट भइसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीको रेकर्डमा उल्लेख छ । यसैबीच क्षेत्रीय प्रशासक जनार्दन नेपालले सोमबार आगलागी भएको तिलाठीको निरीक्षण गरेका छन् ।

प्रतिक्रिया