चुनावमा तीन लाखभन्दा बढी कर्मचारी खटाइने

simhadarbarकाठमाडौं, ३ वैशाख । संविधानसभा चुनावको मिति टुंगो नलागे पनि निर्वाचन आयोगले भने आवश्यक तयारी जारी राखेको छ । आयोगले तयार गरेको आन्तरिक तयारी प्रतिवेदनअनुसार आगामी चुनावमा सुरक्षाकर्मीबाहेक तीन लाखभन्दा बढी कर्मचारी परिचालन गरिनेछन् ।

०६४ सालमा भएको संविधानसभा चुनावमा सुरक्षाकर्मीसहित चार लाख कर्मचारी परिचालित थिए । अघिल्लो चुनावमा भन्दा यसपटक बढी जनशक्ति चाहिने अनुमान गर्दै आयोगले सुरक्षाकर्मीबाहेक तीन लाखभन्दा बढी कर्मचारी परिचालन गर्ने तयारी गरेको हो । चुनावमा निजामती क्षेत्रका कर्मचारीलाई पहिलो प्राथमिकता दिइनेछ । त्यसपछि शिक्षक र संस्थानमा काम गर्ने कर्मचारीलाई परिचालन गरिने आयोगले जनाएको छ ।
न्यायक्षेत्रमा कार्यरत कर्मचारीलाई चुनावमा खटाइनेछ । चुनावका लागि छुट्टै कर्मचारी नियुक्त गर्दा व्ययभार बढ्ने भएकाले सरकारी कर्मचारी मात्रै परिचालन गर्ने सोच आयोगले बनाएको हो । ‘निर्वाचनकै लागि भनेर बाहिरबाट कर्मचारी भर्ती गर्दा आर्थिक भार बढ्ने भएकाले आयोगले सरकारी कर्मचारीकै प्रयोगबाट निर्वाचन सम्पन्न गर्ने लक्ष्य लिएको छ,’ निर्वाचन आयोगका आयुक्त अयोधीप्रसाद यादवले भने । अघिल्लो चुनावमा करारमा कर्मचारी राखिएका थिए । त्यस्ता कर्मचारी आफूनिकट दलको लबिङमा लाग्ने पनि पाइएकाले यसपटक आयोग सचेत बनेको छ ।
आयुक्त यादवका अनुसार न्यायक्षेत्रमा आबद्ध धेरै कर्मचारी चुनावमा परिचालित गरिनेछन् । जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृत बनाइनेछ । जिल्लामा कार्यरत निजामती कर्मचारीलाई सोही जिल्लाको निर्वाचन क्षेत्रमा खटाउने आयोगको योजना छ ।
जिल्लाका कर्मचारीले मात्र सम्बन्धित जिल्लाका निर्वाचन क्षेत्रमा चुनाव गराउन कठिन हुने भएकाले केन्द्रका कर्मचारीलाई पनि काजमा जिल्ला पठाइने आयोगले जनाएको छ । ‘अहिले हामीले कुन क्षेत्रबाट कति कर्मचारी परिचालन गर्ने भन्ने तय गरिसकेका छैनौँ तर यसपटकको निर्वाचनमा सरकारी कर्मचारी मात्र परिचालन गरिनेछन्,’ आयुक्त यादवले भने ।
चुनावका लागि कर्मचारीको बन्दोबस्ती गरिदिन आयोगले सरकारसँग आग्रह पनि गरिसकेको छ । आयोगको आग्रहअनुसार सचिवस्तरीय बैठकले चुनावमा सहयोग गर्न र त्यसमा परिचालित हुन सम्पूर्ण कर्मचारीलाई निर्देशनसमेत दिइसकेको छ । बैठकले चुनावमा आवश्यक पर्ने अन्य भौतिक साधनको पनि बन्दोबस्ती गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएको छ ।
मुख्यसचिव लीलामणि पौडेलले चुनावका लागि सबै निजामती कर्मचारी परिचालन गरिने बताए । ‘निर्वाचनमा निजामती कर्मचारी परिचालन गर्ने विषयमा सरकारले कुनै कन्जुस्याइँ गर्दैन, सरकारले चुनावका लागि तयारी अवस्थामा रहन सम्पूर्ण कर्मचारीलाई निर्देशनसमेत दिइसकेको छ,’ पौडेलले भने ।

प्रतिक्रिया