इपिएलमा गोललाइन प्रविधि प्रयोग गरिने

लन्डन : प्रिमियर लिग फुटबल (इपिएल) मा यसै वर्ष अर्थात् २०१३–०१४ देखि गोल–लाइन प्रविधि प्रयोग गरिने भएको छ । लिगले यससम्बन्धमा भएको मतदानपश्चात् यस्तो मत दिएको हो । यो प्रविधि प्रयोग गर्ने जिम्मेवारी (ठेक्का) बेलायतस्थित ‘हक आई’ कम्पनीलाई दिइएको छ ।
हक आइले प्रयोग गर्ने प्रविधिमा हरेक गोलमा सातवटा क्यामेरामार्फत निगरानी गर्नेछ र कम्पनीको दाबी के भने त्यसरी निस्कने परिणाममा मिलिमिटरसम्मको दूरी पनि सही र सटीक निस्कन्छ । कम्पनीले अर्को दाबी पनि के गरेको छ भने हालसम्म कुनै पनि प्रसारणक्रममा देखाइएका ‘रिप्ले’हरूमा उनीहरूको निर्णयलाई गलत ठहर्‍याइएको छैन ।
अगस्तमा हुने टुर्नामेन्टका लागि फुटबल एसोसिएसनले वेम्बली स्टेडियममा केही पहिलेदेखि नै यो प्रविधि जडान गरिने जनाएको छ । पाँच ठूला क्लबले यसै साता बसेको बैठकमा यो प्रविधि अपनाउने पक्षमा मतदान गरेका थिए ।
हक आई कम्पनीले टेनिस र क्रिकेटमा पनि यो प्रविधि उपलब्ध गराउँदै आएको छ । यसको फुटबलसम्बन्धी प्रणालीमा बलले गोललाइन पार गरेको स्थिति छ भने रेफ्रीसँग रहेको घडीमा खास किसिमको तरंग उत्पन्न हुन थाल्नेछ र त्यससँगै त्यसमा एउटा अप्टिकल सिग्नल लगाइने छ जसले एक सेकेन्डभित्रै त्यसको सूचना दिनेछ ।
यो प्रविधि खोज्ने श्रेय पाएका पल हकिन्स भन्छन्, ‘यस प्रविधिले खेललाई सुस्त बनाउने छैन र के पनि नठानियोस् भने यो प्रविधिको प्रयोगले गर्दा फुटबल खेल पनि रग्बी बन्न पुग्नेछ ।’
उनले अगाडि भने, ‘एक सेकेन्डभित्रै रेफ्रीको घडीमा गोल भएनभएको सूचना सम्प्रेषित भइसक्ने छ र त्यसपछि टेलिभिजन स्क्रिनमा त्यसको रिप्ले देखाइनेछ । री–प्लेबाट हामीले रेफ्रीलाई सम्प्रेषण गरेको सूचना सत्य थियो भन्ने प्रमाणित हुनेछ ।’
फुटबलमा गोल–लाइन प्रविधि प्रयोग गर्ने माग सन् २०१२ मा भएको युरोकप प्रतियोगितापछि निकै बढ्दै गएको थियो । त्यतिबेला युक्रेनलाई इंग्ल्यान्डले १–० ले पराजित गरेको थियो । त्यस म्याचमा पछि युक्रेनको प्रहारमा बलले गोललाइन नाघेको जस्तो देखिएको थियो र उसले बराबरी गोल (इक्वालाइजर) को माग पनि गरिएको थियो तर युक्रेनको त्यो माग अस्वीकार भएको थियो । (बिबिसी)

प्रतिक्रिया