बाँदरबाट किसान आतंकित

चौतारा: सिन्धुपाल्चोकको एक दर्जनभन्दा बढी गाविसका किसान बाँदरबाट आतंकित बनेका छन् ।
मिहिनेत गरेर उत्पादन गरेको लाखौँ मूल्यका खाद्यान्न बाली, तरकारी तथा फलफूल भित्रउनै नपाई बाँदरले क्षति पुर्‍याउन थालेपछि किसान आतंकित बनेका हुन् । दुई वर्षदेखि देखापरेको रातो मुख भएको हजारौँका संख्यामा आएका बाँदरले अन्नबालीका साथै केटाकेटीलाई समेत झम्टन थालेपछि पूर्वी क्षेत्रमा पर्ने पिस्कर, धुस्कुन, तौथली र टेकनपुरसहित चार गाविसमा एक सातादेखि बाँदर खलेट्ने अभियान सञ्चालन भएको छ ।
चार गाविसका करिब ४ सय जना उपस्थित भेलाको निर्णयअनुसार आ–आफ्नो क्षेत्रमा कुकुर तथा लाठा भाटा लिएर बाँदर धपाउने अभियान सञ्चालन गरेको पिस्कर गाविस निवासी पृथ्वीजङ पाण्डेले बताए ।
पाक्न लागेको गहुँ, तोरी, आलु अन्य तरकारीका साथै भर्खर उम्रेका मकैका टुसासमेत नोक्सान गर्न थालेपछि बाँदर लखेट्ने अभियान सुरु गरेको धुस्कुन गाविसका चन्द्रबहादुर थामी बताउँछन् । ‘पहिले यस्तो थाहा थिएन, थामीले निरास हुँदै भने, ‘दु:ख गरेर उब्जाएको कुनै पनि बाली भित्र्याउन नपाएपछि परिवार पाल्नै कठिन भएको छ ।’
वन्यजन्तु संरक्षण ऐनअनुसार बाँदरलाई मार्न निषेध गरिएको छ । वन्यजन्तु राहत निर्देशिका ०६९ हालसालै पारित भएको बताउँदै जिल्ला वन कार्यालयका वन अधिकृत इन्द्रबहादुर प्रसाईंले भने, ‘हात्ती, गैँडा र बँदेलले मानिस मारेमा र खेती नोक्सानी गरेमा क्षतिपूर्ति पाइने व्यवस्था छ । तर, बाँदरको बारेमा केही उल्लेख नभएकाले क्षतिको व्यवस्था भएमा मात्र किसानले राहत पाउन सक्छन् ।’
बाँदरबाट चोकटी, माङ्खा, साँगाचोक, ठूलोसिरुबारी, सानोसिरुबारी, बतासे, पीपलडाँडा, चौतारालगायत दर्जनभन्दा बढी गाविसका किसान पीडित बनेका छन् । आफूले दु:ख गरेर लगाएको बाली भित्र्याउन नपाएपछि प्राय:जसो किसानले हिउँदे बाली लगाउनसमेत छाडिसकेको बताइएको छ ।

प्रतिक्रिया