चैते धान रोपाइँ सकिँदै

बनेपा: कृषकहरूले काभ्रेमा सुरु गरेको चैते धानको रोपाइँ सकिन लागेको छ । झन्डै ९० प्रतिशत चैते धानको रोपाइँ सकिएको कृषि विकास कार्यालय काभ्रेले जनाएको छ । कुलो लाग्ने र बार्‍है मास पानी हुने क्षेत्रमा हुने चैते धानखेती काभ्रेको पनौती नगरपालिका, महादेवस्थान, कुशादेवी, र्‍याले, पात्लेखेत, देवभूमि बालुवा, अनेकोट, रविओपी, देउपुर गौरीविसौना, पाँचखाल र खोपासी गाविसमा हुँदै आएको छ ।
चैते २, चैते ४, कञ्चन, हर्दिनाथ र परवानीपुर जातका चैते धानको खेती काभ्रेमा हुने गरेको छ ।
काभ्रेमा चैतको पहिलो सातादेखि नै चैते धानको रोपाइँ सुरु भएको थियो । कृषि कार्यालय काभ्रेका योजना अधिकृत श्रीकान्त घिमिरेका अनुसार आर्थिक वर्ष ०६९/७० मा कुल खेतीयोग्य जमिनको एक हजार २ सय १० हेक्टर क्षेत्रफलमा चार हजार ८ सय ८० मेट्रिक टन चैते धान उत्पादन भएको थियो ।
यो वर्ष पनि सोही अनुपातमा धानको उत्पादन हुने अनुमान गरिएको छ । ‘बर्सेनि यसको उत्पादन घट्ने वा बढ्ने केही भएको छैन’ योजना अधिकृत घिमिरेले भने ।

प्रतिक्रिया