डढेलोले ध्वस्त हुन लाग्यो रेसुंगा

गुल्मी : तीन हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको धार्मिक तथा ऐतिहासिक रेसुंगा क्षेत्रको अधिकांश भू–भाग डढेलोले ध्वस्त भएको छ । बुधबार दिउँसोदेखि लागेको आगो अझै पनि नियन्त्रण बाहिर रहेको छ । बुधबार रातिबाटै आगो निभाउने कोसिस भए पनि सकिएको थिएन । नेपाल प्रहरी र नेपाली सेनाका जवानले समूहले बुधबार राति १ बजेसम्म आगो नियन्त्रणमा ल्याउने कोसिस गरेको थिए ।
स्थानीयवासीको सहयोग नहुँदा आगो निभाउन नसकिएको डिएपी गुरुविष्णु काफ्लेले बताए । वन क्षेत्रभित्रका पशुपंक्षी, महत्त्वपूर्ण जडीबुटी, रुखविरुवा जलेर नष्ट भएका छन् । बिहीबार अगलागी नियन्त्रणमा तम्घासका स्थानीय बासिन्दाले कुनै सहयोग गरेका थिएनन् । ‘प्रहरी र सेनाका जवानबाहेक बिहीबार २० जना स्थानीयवासी मात्रै आगो निभाउन आएका थिए,’ प्रमुख जिल्ला अधिकारी कवीन्द्र नेपालले भने । रेसुंगा क्षेत्रबाट प्रत्यक्ष लाभ उठाने तम्घास, सिमीचौर र दुबीचौरका अधिकांश स्थानीय बासिन्दा रमिते बनेर बसेको आरोप नेपालले लगाए । आगोलागीले रेडियो नेपाल, एनसेल, भ्यु टावर, यज्ञशालालगायतका मन्दिर तथा भौतिक संरचना जोखिममा परे पनि प्रहरीले सतर्कता बढाएकाले त्यसमा भने क्षति पुगेको छैन् ।
उद्योग वाणिज्य संघ तथा स्थानीय सञ्चार माध्यमको अपिलमा स्थानीयवासीले शुक्रबार तम्घास बजार बन्द गरेर आगो नियन्त्रण गर्न सहयोग गरेका थिए । शुक्रबार साँझ आगो नियन्त्रणमा आएको खबर सेलाउन नपाउँदै दुई घन्टा पछि आगो फेरि फैलिएको थियो । आगोले रेसुंगा धरोहर वरिपरिका सम्पूर्ण भाग डढाएर कुरूप बनाएको छ । आगलागीसम्बन्धी जनचेतना अभाव र हेलचेक्रयाईंका कारण हरेक वर्ष आगलागी हुने गरेको छ । शुक्रबार साँझ पराल्मीको ताम भन्ने ठाउँबाट सुरु भएको आगो नियन्त्रण बाहिर पुगेको छ । आगो नियन्त्रणको लागि सिमीचौर, दुबीचौर र पराल्मीका स्थानीयले कोसिस गरिरहेका छन् । रेसुंगामा राणाकालदेखिका मन्दिर, पौवालगायत संरचना रहे पनि प्रत्येक वर्ष लाग्ने आगोको कारण बचाउन मुस्किल परेको छ । हावाहुरीको कारण आगो नियन्त्रणमा समस्या भएको हो । अप्ठ्यारो जंगल र हावाहुरीका कारण नियन्त्रणमा लिन नसिकिएको जिल्ला दैवी प्रकोप उद्वार समितिले जनाएको छ । एक सय ७० ओटा गाई पालिएको गौशाला क्षेत्र पनि आगोको उच्च जोखिममा रहेको छ ।
आगो नियन्त्रणमा नआउँदा कैयौँ जडीबुटी तथा बन्यजन्तुको अस्तित्व संकटमा परेको छ । उद्योग वाणिज्य संघ रेसुंगा क्षेत्रलाई प्रयोग गरेर मनग्य पर्यटक ल्याउने कोसिस गरेको थियो । आगलागीले वाणिज्य संघको यो अभियानमा ठूलो धक्का लागेको छ । रेसुंगाको मुहानको पानीबाट वरिपरिका दर्जनबढी गाविस र करिब २५ कि.मि टाढा वलेटक्सारसम्मका ७० हजार बढी जनता आश्रित रहेको भए पनि जंगल नष्ट हुँदै जाँदा खानेपानीको समस्या पर्न थालेको छ ।
६५ हजार प्रकारका फूल फूल्ने प्रजातिका वनस्पति, १ हजार ८ सय २२ प्रजातिका ढुसी, ४ सय ६५ प्रजातिका झ्याउ, ६ सय ८७ प्रजातिका एलगी, ६२ प्रजातिका चरा, ६ सय ४० प्रजातिका पुतली, ६ हजारभन्दा बढी प्रजातिका मछाहरु, १ सय ४७ प्रजातिका घस्रिने जीवजन्तु, ४३ प्रकारका उभयचर, १ सय ४४ प्रकारका माकुराहरू, १ सय ८१ प्रकारका स्तनधारीहरू र अन्य किटपतंगहरू पाइने जैविक विविधताको धनी रेसुंगामा बर्सेनि लाग्ने आगोले यिनीहरूको अस्तित्वमा संकट परेको छ । यस क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरे पनि अहिलेसम्म आगो लगाउनेलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया