सात इजलासका ताला खोलिए

courtकाठमाडौं, ३ चैत । सर्वाच्च अदालतमा रहेका १० मध्ये सात इजलास विगत पाँच महिनादेखि बन्द थिए । न्यायाधीश अभावका कारण तोकिएका पेसीमध्ये मुस्किलले १५ प्रतिशत मात्रै सुनुवाई हुने गथ्र्यो । न्यायपरिषद्ले पूर्व पाँच न्यायाधीशलाई पुन: अस्थायी न्यायाधीशका रूपमा नियुक्तीको सिफारिस गरेपछि शुक्रबारदेखि सर्वाेच्चका सबै इजलास खुलेका छन् । तोकिएका पेसीमा सुनुवाईले पनि तीव्रता पाएको छ । 

शुक्रबार कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले न्यायपरिषद्बाट सिफारिस भएका प्रकाशचन्द्र वस्ती, वैद्यनाथ उपाध्याय, तर्कराज भट्ट, भरतबहादुर कार्की र ज्ञानेन्द्रबहादुर कार्कीलाई पद तथा गोपनियताको सपथ गराए । त्यस लगत्तै पेसी तोकिएपछि इजलासमा पसेका न्यायाधीश वस्ती र भरतबहादुर कार्कीले पाँच नम्बर इजलासबाट पाँच मुद्दाको सुनुवाई गरे ।
त्यस्तै, वैद्यनाथ उपाध्याय र ज्ञानेन्द्रबहादुर कार्कीले ६ नम्बर इजलासबाट ठूला करदाता विरुद्ध राजस्व न्यायाधीकरणले दायर गरेको एक मुद्दामा सुनुवाई गरे । न्यायाधीश तर्कराज भट्टको एकल इजलासले चारवटा मुद्दाको सुनुवाई गर्‍यो ।
सर्वाेच्च अदालतमा करिब १४ हजार मुद्दा विचाराधिन रहेका छन् । ती मुद्दाको छिनोफानो गर्न प्रधानन्यायाधीशसहित १४ स्थायी र आवश्यकता अनुसार थप ६ जनासम्म अस्थायी न्यायाधीश रहने व्यवस्था छ । तर, बिहीबारसम्म सर्वोच्चमा पाँच न्यायाधीश मात्रै कार्यरत थिए । पाँच न्यायाधीशले सुनुवाई गर्न तीन इजलासभन्दा बढी हेर्न नसक्ने अवस्था भएपछि सात इजलासमा ताला लगाइएका थिए । पाँच अस्थायी न्यायाधीशको नियुक्तीपछि ताला खोलिएका छन् ।

प्रतिक्रिया