निभ्यो एउटा जूनकिरी

Bishow-Sigdelउनी विगत केही वर्षदेखि चिकित्सा विज्ञानले थपिदिएको जीवन बाँचिरहेका थिए । झरीमा नुहाएर जीवन्त हुने गढवालका पहाडझँ उनको मृगौला डाइलोसिसले जीवन्त हुन्थ्यो । उनी यही डाइलोसिसले किस्ताबन्दीमा थपिदिएको जीवन बाँच्दै थिए । यसरी बाँच्दा पनि उनको सम्पूर्ण ध्यान लेखनमै हुन्थ्यो । उनी ‘गढवाल पोस्ट’लाई स्तम्भ लेख्थे । भेट्न आएका स्ट्रग्लिङ राइटर्सलाई हौसला दिन्थे । कथाहरूका प्लट बुन्थे । आफू बाँचेको समाजका यावत् कमी कमजोरीप्रति टाठो नजर राख्थे । पहाडका नागबेली सडक हेर्दै तन्द्रामा पुग्थे । भारतीय अंग्रेजी साहित्यको चिरफार गर्थे । र, बाँकी समय पहाडको कन्दरामा ध्यानमा डुब्ने योगीभैँ ध्यानमग्न हुन्थे । यसरी नै टाठो, तन्द्रा र ध्यानको अवस्थामा रहँदा रहँदै सुधीर थपलियाल ११ जुलाई २०१२ मा बिते ।
भर्खर–भर्खर पहाडकी रानी मसुरीमा अध्यापन गर्न थालेको थिएँ म । कलेजका अतिरिक्त क्रियाकलापअन्तर्गतका कविता, वक्तृत्वकला, वादविवाद आदि प्रतियोगितामा अरू निर्णायकहरू फेरिए पनि एउटा अनुहार भने सधैँ दोहोरिरहन्थ्यो । लामो ओभरकोटमा प्रत्येकपटक बेग्लाबेग्लै ह्याट अनि हातमा छडी बोकेको निर्णायकमण्डलको त्यो स्थायी सदस्यप्रतिको मेरो जिज्ञासा बढ्दै गइरहेको थियो । सुधीर थपलियाल नामको त्यस निर्णायकको प्रथम परिचय फ्रेन्च भाषाका अध्यापक विधानीबाट पाएँ । भारतीय अंग्रेजी साहित्यमा राम्रो दख्खल भएका सुधीर थपलियालका कृतिहरू खोजेर पढँे, गढवाल पोस्टको उनको स्तम्भ त्यस परिचयपछि पढ्न थालेँ । उनको ‘द लभ्स् एन्ड फाइफ अफ मिस्टर टी’ पढेपछि भने उनलाई फोन गरेँ र भेट्न समय लिएँ । प्रथम भेटघाटपछि बिस्तारै उनको सौम्य व्यवहार र सहृदयताले ममा रहेको संकोच हटेर गयो र हाम्रो भेट बाक्लिन थाल्यो । यस्तै भेटहरूमध्ये एक भेटको याद आइरहेछ ।
IMG_2811अंग्रेजी वर्ष २०१० नोभम्बरको एक साँझ मसुरीको किंक्रेकस्थित उनको घरमा म पुगेको थिएँ । उनको आग्रहअनुसार मेरा केही कविताका अनुवाद उनलाई हेर्न दिएको थिएँ । पढेपश्चात् उनले मलाई तत्कालै घरमा बोलाएका थिए । बार्लोगन्जबाट देवदारको जंगल भित्रभित्रै कुद्ने सडकभरि म सुधीर थपलियालका उपन्यासका पात्रहरूसँग संवाद गर्दै अगाडि बढेँ । उनले पटकथा र संवादमा ढालेको रस्किन बन्डको ‘द रुम अन द रुफ’को रस्टीले संघर्ष गरेको देहरादुन झल्याकझुलुक देवदारका रूखको सियाँलबाट देखिन्थ्यो र तत्कालै मेरो हिँडाइको गतिसँगै बिलाइहाल्थ्यो । रूखहरूका छहारीमा उग्राइरहेका वस्तुभाउजस्तै सानासाना सुन्दर कटेजहरू ध्यानमा मग्न साधुजस्तै देखिन्थे । म तिनीहरूलाई जंगलको रहस्यमा रम्न दिएर नबिथोलिकन अगाडि बढ्दै थिएँ । मेरा कविताबारे उनको के धारणा हुन सक्ला भन्ने कुराले दिनहँुको मेरो प्रात: भ्रमणको बाटोलाई अलिक लामो बनाइदिएको थियो ।
शिवालिक पहाडलाई छुँलाछुँला गर्दै सूर्यले आफ्नो रातो आभा पोतेर आकर्षक विन्टर लाइन निर्माण गरिरहँदा म उनको शान्त कटेजमा पुगँ । म पुग्नुभन्दा अगाडिदेखि नै उनी केही साहित्यानुरागीसँग गफमा व्यस्त भइसकेका रहेछन् । म उनलाई अभिवादनपश्चात् कुनाको सोफामा चुपचाप बसेँ । उनले कोठामा उपस्थित व्यक्तिहरूको परिचय दिए र एउटा कविको रूपमा मलाई चिनाइदिए । सबैसँग हात मिलाउने औपचारिकता पूरा गरिसकेपछि म आफ्नै ठाउँमा आई थपक्क बसेँ ।
प्रकाशन गृहबारे तात्तातो बहस चलिरहेको थियो । पेङ्गुइन, रूपा, ह्याचेट, पिकाडोर आदि इत्यादिका लेखकहरूसँगको सम्बन्धका कुरा हुँदै थिए । लेखकहरूले प्राप्त गर्ने रोयल्टीका कुरा गर्दागर्दै सुधीर थपलियालले एकाएक दाहिने हातको साहिँली औँलो अश्लील संकेतसाथ उठाइदिए । हामी किंकर्तव्यविमूढ उनलाई हेरिरह्याँै । एउटा लेखकलाई प्रकाशकले गर्ने अन्याय उनको रोषबाट हामीले अनुभव गर्‍यौँ । सन् १९६७ मा कलकत्ताको स्टेट्सम्यानबाट पत्रकारिता सुरू गरेका दिग्गज पत्रकार ‘द लभ्स एन्ड लाइफ अफ मिस्टर टी’, ‘वार एट लम्बिधर’, ‘क्रसिङ द रोड’ अनि ‘मन्सुरी मकाब्रा’ उपन्यासलगायत अनेकाँ कथा र निबन्धका स्रष्टाको प्रकाशकसँगको अनुभव त यति रोषले भरिएको छ भने अरूको हालत के होला भन्ने सोच्दै बसेँ ।
पहाडी जातिको पहिचानका लागि सन् १९९४ ताका छुट्टै राज्यको माग गर्दै थालिएको आन्दोलनका अगुवा थपलियालका आँखाका पुतली हुँदै अझै जूनकिरी उड्न छोडेका थिएनन् । आफ्नो क्षीण हँुदै गइरहेको शक्तिलाई बटुल्दै जब उनी सामाजिक सरोकारका विषयमा बोल्थे तब म ‘मन्सुरी मकाब्रा’मा उनले भारतीयहरूको धार्मिक अन्धविश्वासलाई गरेको प्रहार सम्झन्थँ । ‘क्रसिङ द रोड’ले उठाएको लैंगिक समानताको प्रश्नले मलाई झकझक्याउँथ्यो अनि समाजका विविध पाटाहरूको स्पष्ट चित्र खिचिएको ‘द लभ्स एन्ड लाइफ अफ मिस्टर टी’सँगै साठीको दशकको कलकत्ता पुग्थँ। आफ्नो लामो कपाल पन्छाउँदै र चस्मा मिलाउँदै जब उनी धाराप्रवाह बोल्थे, समय उनको घरबाहिरको धुपीको हाँगामा उँघिरहेको लाटोकोसेरोमा एकाकार हुन्थ्यो, टक्क रोकिन्थ्यो । मानाँै, समय छामिरहेछ एउटा शब्दशिल्पीको मन ।
उनको सहयोगीले चिया ल्याएपछि हामी चुपचाप चिया पिउन थाल्यौँ । म चिया पिउँदै उनका रचना र यसअघिका भेटमा उनले व्यक्त गरेका विचारमा हराउन थालेँ । उनको सामान्य बोलिचालीमा जस्तै उनका प्राय: रचनामा मसुरीको घुमाउरो बाटो वर्षमा तीन चार महिना धुम्मिने हुस्सु र कुहिरोको भागदौड, यस्तो बेला मुस्किलले देखिने घामको अनुहार र पहाडका सोझा गडवाली या त नेपालीको गन्ध बोकेको चित्रात्मक भाषा पाइन्थ्यो । यसबारे उनको विचार थियो, मानिसलाई ऊ जन्मिएको, हुर्किएको ठाउँले काँटछाँट गरी पक्का आफूमा ढाल्दछ । सन् १९४३ जुलाई १३ मा जन्मँदा मसुरीका धुपीका बोटहरू साक्षी राखेका सुधीर थपलियालले आइआईएम कलकत्ताबाट एमबिए सकेर युरोप र अमेरिकाका देशहरू घुम्दा पनि यी धुपी सल्ला र लालीगुराँसलाई भुल्न सकेनन् । यसैको प्रतिफल उनी सन् १९७७ मा भएको ‘सर एडमन्ड हिलारिज ओसिएन टू स्काई एक्सिपिडिसन’ साथै काराकोरमको अर्को एक्सिपिडिसनको सदस्य भए । मसुरीले कुँदेको उनको हात/पाउ र जिउका ऊर्जाले गर्दा नै उनी भारतका लगभग सबै हिमालकानजिक पुगेका छन् । अत: उनका रचनामा गौतमको बोधीवृक्षजत्तिकै पवित्रता बोकेको मसुरीको रंग र गन्ध आएको कुरा उनले बताए । जूनकिरीजस्तै अन्धकारमा आड र भरोसा दिने जन्मेको माटोको मोहले नै त हो संसारका कुनै पनि कुनाले उनलाई भुलाउन सकेन, थाम्न सकेन । यहीँको माटो, यहीँको हावा अनि पानीले उनी तानिए र अन्तमा दिनभरि घुमेर साँझ फर्कने चराहरूजस्तै उनी आफ्नो गुँड खोज्दै आइपुगे ।
म कहिले उनको विगत त कहिले वर्तमानमा बयली खेल्दै थिएँ । त्यहाँ उपस्थितबाट मेरो कविता सुन्ने मनसाय प्रकट भएपछि उनले मुस्काउँदै इसारा गरे । मैले ‘अ हैन्डफुल अफ डेजर्ट’, ‘एक्जाइल’, ‘फ्रेस अर्थ’ लगायतका छोटा कविता पढेँ । कविता पढिसकेपछिको शून्यतालाई चिर्दै उनले छेउको टेबलबाट एउटा कागज उठाए र हावामा लहराउँदै भने, ‘प्रिय नेपाली कवि † तिम्रो लागि यो उपहार….।’ मेरा कविता पढेपछि उनले आफ्ना धारणाहरू लिपिबद्ध गरेका रहेछन् । उनका धारणाहरू त्यही लेखोटबाट पढे अनि आफ्नो हस्ताक्षर गरी मलाई दिए । उनीप्रतिको मेरो श्रद्धा झनै चुलियो ।
फर्कंदा सडक सुनसान थियो । देहरादुन झर्ने मूलसडकलाई छोडेर झडीपानी झर्ने सडकलाई समाती म अगाडि बढँे । आफूले श्रद्धा गर्ने लेखकलाई भेटेपश्चात् सदा मनमा एकप्रकारको बेचैनीले बास गर्छ । एक प्रकारको हुटहुटी, एकप्रकारको रचनात्मक पागलपन सवार हुन्छ । र, त्यो पागलपनलाई जंगलको एकलास बाटोले अझै बढाइदिएको थियो । एउटा ऊर्जा, एउटा झिल्को लिएर म बार्लोगन्जतिर बढ्दै थिएँ । लेखकले कल्पेको समुन्नत समाज भलै युटोपिया लागोस्, सपना देख्न छोड्नुहुन्न भन्ने उनको भनाइलाई मनभरि बोकेर मनमनै दोहोरो संवाद बोल्दै म सुसेल्दै थिएँ– सिर्जना गीत । मेरा अगाडि टर्चलाइट बाल्दै जूनकिरी परेड खेल्दै थिए, दत्तचित्त थिए कर्ममा । तिनै जूनकिरीमध्ये केही जूनकिरी मेरा अघिअघि उड्दै थिए । ती जूनकिरी नै थिए वा थिए सुधीर थपलियाल ? अहिले पनि हामीलाई छोडेर गएका थपलियालको याद आउँदा जूनकिरीको सम्झना आउँछ अनि देख्छु आँखाअगाडि निभेको जूनकिरी !

प्रतिक्रिया