डिभिजन थ्रीका लागि टिम घोषित

काठमाडौं, ३१ चैत । पाँच जना स्पिनरलाई समावेश गर्दै नेपालले आसन्न आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीका लागि शुक्रबार राष्ट्रिय टिम घोषणा गरेको छ । अर्थोडक्स स्पिनर राहुलकुमार विश्वकर्मा टिममा फर्कदा फास्ट बलर चन्द्र साउद पनि टिममा समावेश भए । युवा स्पिनर भुवन कार्की र फास्ट बलर तथा पूर्वकप्तान विनोद दास भने पुरानो टिमबाट फालिएका छन् ।

पारस खड्काको कप्तानीमा घोषित १४ सदस्यीय राष्ट्रिय टिममा अन्य सबै खेलाडी पुरानै छन् । थप स्पिनरमा शक्ति गौचन, वसन्त रेग्मी, सन्जम रेग्मी र पृथु बाँस्कोटा छन् । नेपालले स्पिनरहरूको प्रभावमा पछिल्लो समय सानदार सफलता हात पारिरहेको छ । भर्खरै सम्पन एसिसी टी–ट्वान्टी एलिट कपमा नेपाल फाइनल पुग्दा स्पिनर अभिन्न अंग थिए ।
टोलीको उपकप्तानमा ज्ञानेन्द्र मल्ललाई निरन्तरता दिइएको छ भने शरद भेषवाकर, अमृत भट्टराई, विनोद भण्डारी, प्रदीप ऐरी, अनिल मण्डल र विकेटकिपर सुवास खकुरेल टोलीका अन्य खेलाडीका रूपमा छन् । नरेश बुढाएर, रामनरेश गिरी, सागर पुन र जितेन्द्रकुमार मुखिया वैकल्पिक खेलाडी रहेका छन् । चन्द्र र राहुल दुवै डिभिजन फोरमा टोलीमा समावेश भए पनि त्यस लगत्तै नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता एसिसी ट्रफीमा भने टिममा समावेश हुन सकेनन् । बर्मुडामा हुने डिभिजन थ्रीमा नेपालले घरेलु टोलीसँग युगान्डा, ओमान, इटाली र अमेरिकाको सामना गर्नेछ । राउन्ड रोविन आधारमा सञ्चालन हुने यस प्रतियोगितामा शीर्ष दुई टोलीले सन् २०१५ को एकदिवसीय विश्वकपका लागि हुने विश्वस्तरको छनोटमा प्रवेश पाउनेछन् । यसैबीच नेपाली टोली डिभिजन थ्रीको तयारीका रूपमा शनिबार भारतको जयपुर जाँदै छ । त्यहाँबाट २० अप्रिलमा नेपाली टोली स्वदेश फर्कने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

प्रतिक्रिया