स्वरोजगारीतर्फ महिला आकर्षित

कीर्तिपुर, ३० चैत । विकासका लागि सशक्त महिला समाज फर्पिङको संयोजनसँगै सीपमूलक तालिम प्राप्त गरेका महिला स्वरोजगारतर्फ अभिप्रेरित बन्न थालेका छन् । स्वरोजगारका माध्यमबाट महिलामा सशक्तीकरण गराउने लक्ष्य राख्दै काठमाडौं दक्षिणभेगमा क्रियाशील विकासका लागि सशक्त महिला समाजले ०६३ सालयता महिलाहरूलाई विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएको छ ।

संस्थाको स्थापनासँगै विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरेको समाजले हालसम्म टाइलेन मार्बल, प्लम्बिङ, इलेक्ट्रोनिक, सिलाइ–बुनाइजस्ता तालिम महिलाहरूलाई प्रदान गरिसकेको सशक्त महिला समाजकी अध्यक्ष कविता अधिकारीले जानकारी गराइन् । समाजले काठमाडौं दक्षिणभेगका ६ वटा गाविसका महिलालाई सीपमूलक तालिमहरूमा सहभागी गराइरहेको उनले बताइन् ।
विभिन्न तालिममध्ये एक सय २० जना महिलाले सिलाई तालिम सम्पन्न गरेका छन् भने अन्य तालिममा पनि महिलाको उत्साहजनक सहभागिता रहेको छ । तालिमको सफलतासँगै यस क्षेत्रका महिलाहरू स्वरोजगारीतर्फ उन्मुख बन्न थाल्नुले आफूहरूलाई अत्यन्त हर्षित बनाएको अधिकारीको भनाइ रहेको छ ।तालिमका उपलब्धिलाई व्यवहारमा नै लागू गर्दै तालिमप्राप्त महिला स्वरोजगार बन्न थालेसँगै सीपमूलक तालिमप्रति यस क्षेत्रका महिलाहरू आकर्षित बन्न थालेका छन् । तालिमसँगै वैदेशिक रोजगारीका क्षेत्रमा पनि यस क्षेत्रका महिलाहरूले महत्त्वपूर्ण सफलता हासिल गरिरहेको उनको भनाइ छ ।
स्वरोजगारीका माध्यमबाट महिलाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्यअनुरूप नै व्यावसायिक तथा सीप विकास तालिम केन्द्र भैँसेपाटीको सहयोगमा समाजले गत माघदेखि ६ महिने ढाका बुनाइ सञ्चालन गर्दै आएको अधिकारीको भनाइ छ । उनका अनुसार काठमाडौं दक्षिणभेगका ६ वटा गाविसका २७ जना महिलाको सहभागिता रहेको उक्त तालिमको प्रशिक्षक रामलाल श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया