टिम अस्पतालबाट बाहिरिदै एचडिसिएस

team-hospital-(2)काठमाडौं, ३० चैत । डडेलधुरास्थित टिम अस्पतालको व्यवस्थापनबाट मानवविकास तथा सामुदायिक सेवा (एचडिसिएस) बाहिरिन लागेको छ । व्यवस्थापनबाट एचडिसिएस बाहिरिने तयारी भएपछि अस्पतालको भविष्य संकटमा पर्ने देखिएको छ ।

सरकारसँगको साझेदारीमा तीन जिल्लामा सामुदायिक अस्पताल चलाउँदै आएको एचडिसिएस टिमको भौतिक सम्पत्ति तथा व्यवस्थापन हडप्ने उद्देश्यले स्थानीयले अस्पताल सञ्चालनमा अवरोध गर्न खोजेको भन्दै व्यवस्थापनबाट अलग हुन लागेको हो । एचडिसिएसले बिहीबार राजधानीमा एक कार्यक्रम गरी सरकारको समर्थन रहे पनि केही समूहको स्वार्थका कारण आफूहरूले व्यवस्थापनबाट हात झिक्नुपर्ने अवस्था आएको जनाएको छ । एचडिसिएसका कार्यकारी निर्देशक डा. तीर्थ थापाले जटिल परिस्थितिका कारण आफूहरू टिम अस्पताल डडेलधुराको व्यवस्थापनबाट हात झिक्न सक्ने तयारीमा रहेको बताए ।
‘अस्पतालको भौतिक सम्पत्ति तथा व्यवस्थापनमा केही स्थानीयले अवरोध पुर्‍याउन खोजिरहेका छन्, उनीहरूले जसरी पनि अस्पतालको जग्गा र व्यवस्थापन हडप्न खोजेकाले हामीले व्यवस्थापन फिर्ता लिनुपर्ने अवस्था आएको हो,’ कार्यकारी निर्देशक थापाले भने । उनले एचडिसिएसले तत्काल अस्पतालको व्यवस्थापन छाडे हजारौँ स्थानीय बासिन्दा स्वास्थ्यसेवाबाट वञ्चित हुने सम्भावना रहेको जानकारीसमेत दिए ।
मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारी–गैरसरकारी साझेदारी नीतिअनुरूप एचडिसिएसले सन् २००७ देखि अस्पतालको व्यवस्थापन सम्हाल्दै आएको छ । ४० शय्याको अस्पताल यस अवधिसम्ममा स्तरोन्नति गरी ५० शय्यामा सञ्चालन भइरहेको छ । यसका साथै जापान, दक्षिण कोरिया, जर्मनी, फ्रान्स, स्विट्जरल्यान्ड, अमेरिकालगायत राष्ट्र तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा अस्पतालमा नयाँ भवन निर्माण गरिनुका साथै नयाँ स्वास्थ्य–उपकरणमार्फत बिरामीलाई गुणस्तरीय सेवा प्रदान गरिएको डा. थापाले जानकारी दिए । उनले सरकारसँगको सम्झौता १० चैतमा सकिए पनि अर्को व्यवस्था नभएसम्म सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एचडिसिएसलाई पत्राचार गरेको उल्लेख गरे ।
एचडिसिएसका पूर्वअध्यक्ष तथा स्वास्थ्य सेवा विभागका निर्देशक डा. नस्तु शर्माले अस्पतालबाट हात झिक्ने इच्छा एचडिसिएसको नभए पनि बाध्यतावश त्यस्तो अवस्था आएको बताए । डा. शर्माका अनुसार सञ्चालनको जिम्मा लिने बेला ४३ नेपाली र एक विदेशी स्वयंसेवकबाट सेवा भएको अस्पतालमा अहिले ६२ जना नेपाली र ४ जना विदेशी स्वयंसेवक गरी ६६ जना कार्यरत छन्, जसमध्ये ५७ जना डडेलधुराकै छन् ।
यसअघि पाल्पाको तानसेन मिसन अस्पताल र ओखलढुंगा मिसन अस्पतालसमेत पाँच–पाँच वर्ष सफल सञ्चालन गरेको एचडिसिएसले सरकारले पुन: टिम अस्पताल डडेलधुराको जिम्मेवारी दिए १० वर्षभित्र ५० शय्याबाट बढाएर एक सय ५० शय्यासम्म पुर्‍याउने लक्ष्य लिएको जनाएको छ । एचडिसिएसले लमजुङ सदरमुकाममा लमजुङ जिल्ला सामुदायिक अस्पताल र रुकुमको चौरजहारीमा पनि विगत १३ वर्षदेखि सामुदायिक अस्पताल सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया