पुस्तकमा निजी प्रकाशनको मनपरी

काठमाडौं, ३० चैत । पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको मूल्य र मापदण्डविपरीत निजी प्रकाशन गृहले संस्थागततर्फ विद्यालय तहको पाठ्यपुस्तक छपाएर बजारमा पठाएको पाइएको छ । उनीहरूले केन्द्रले तोकेको न्यूनतम मापदण्ड र मूल्यभन्दा बढी रकम राखी पुस्तक बिक्री–वितरण गरेको पाइएपछि यस्तो खुलासा भएको छ ।

केन्द्र र अभिभावक संघले बिहीबार संयुक्त रूपमा गरेको अनुगमनबाट निजी प्रकाशन गृहले यस्तो बदमासी गरेको फेला परेको हो । उनीहरूले तोकेभन्दा बढी मूल्य लिने, मूल्यमा स्टिगर टाँस्ने, प्रकाशन मिति नराख्ने, पुस्तकको साइजअनुसार नछापेको पाइएको केन्द्रका उपसचिव समन्तमणि आचार्यले जानकारी गराए । अनुगमन टोलीले बिहीबार राजधानीका केही पुस्तक पसलमा विद्यालय तहको पाठ्यपुस्तकको अनुगमन गरेको थियो ।
उपसचिव आचार्यले केन्द्रले निर्धारण गरेको शुल्क र मापदण्डअनुसार कसैले पनि पुस्तक प्रकाशन नगरेको पाइएको बताए । ‘हामीले निर्धारण गरेको मूल्य र मापदण्डमा कुनै पनि प्रकाशनले पुस्तक छापेको देखिएन,’ उनले भने, ‘कसैले बढी मूल्य राखेका छन् त कसैले तोकेको साइजअनुसार छापेका छैनन् ।’
अनुगमनमा ऐरावती, रेडमोर र संगम पब्लिकेसनले डबल कलरको किताब छापेर मल्टिकलरको पैसा लिएको फेला परेको छ । उनीहरूले कक्षा ६ र ७ का पुस्तकमा डबल कलर राखेर मल्टिकलरको पैसा लिएको आचार्यले बताए । केन्द्रले पुसदेखि प्रतिपेज सादा ९४.५ पैसा, डबल कलर १ रुपियाँ १० पैसा र मल्टिकलर १ रुपियाँ ३१ पैसा तोके पनि उनीहरूले बढी मुल्य राखी पुस्तक बिक्री गरेका छन् ।
यस्तै रिडमोरले कक्षा ८ को लेखा विषयको मूल्यमा स्टिकर टाँस गरेको छ । संघकी उपाध्यक्ष सरिता अर्यालले अनुगमनका क्रममा धेरै पुस्तकको मूल्य बढी रहेको बताइन् । ‘कुनै प्रकाशनले मापदण्ड पूरा गरेको देखिएन,’ अर्यालले सौर्यसँग भनिन्, ‘बढी पैसा लिएर विद्यार्थीको ढाड सेक्ने काम गरिएको छ ।’
जेविडी र क्याम्ब्रिजले कक्षा ९ को गणितमा बढी मूल्य लिएको देखिएको छ । उनीहरूले १ सय ९६ हुनुपर्नेमा २ सय २५ रुपियाँ लिएका छन् भने एसिया प्रकाशनले कक्षा ३ को जिके पुस्तकको आधा सादा र आधा मल्टिकलरमा पुस्तक छापेको भेटिएको छ । यसरी सन्तुलन नमिलाई पुस्तक प्रकाशन गर्न नपाइने व्यवस्था छ ।
आचार्यका अनुसार विद्यार्थी र संगम प्रकाशनले कक्षा ९ र १० को पुस्तकमा केन्द्रले तोकेको साइजमा छापेका छैनन । उनीहरूले तोकेभन्दा बढी साइजमा पुस्तक छापेका छन् । केन्द्रले सबै पुस्तकको १८ गुणा २४ साइज हुनुपर्ने तोकेको छ । संगम प्रकाशनले प्रकाशन मिति नराखी पुस्तक छापेको भेटिएको छ । संगमले कक्षा ८ र ९ का कुनै पनि पुस्तकमा मिति नराखी छापेको छ ।
उनले बढी मूल्य र मापदण्ड पूरा नगरेका पब्लिकेसनलाई कारबाही गरिने जानकारी गराए । ‘तोकेभन्दा बढी रकम लिने र मापदण्ड पूरा नगरेका पब्लिकेसनको अनुमति रद्द गरिन्छ’ उनले भने ।

प्रतिक्रिया