माओवादीद्वारा कैलालीमा जग्गा कब्जा

धनगढी, २९ चैत । नेकपा–माओवादीका कार्यकर्ताले कैलालीमा जग्गा र घर कब्जा अभियान सुरु गरेका छन् । बुधबार मात्रै उनीहरूले लालबोझी–२ का नवराजबहादुर सिंहको २२ बिघा जमिन र पक्की घर कब्जा गरेका छन् । उनी नेपाल प्रहरीका पूर्वडिएसपी हुन् ।

सिंहलाई गरिब निमुखा जनतालाई शोषण गरेको आरोप लगाइएको छ । सशस्त्र द्वन्द्वका बेला पनि सिंहको जग्गा कब्जा गरिएको थियो । माओवादी शान्तिप्रक्रियामा आए पनि कब्जा सम्पत्ति फिर्ता गरिएको थियो । माओवादीले पुन: कब्जा गर्न थालेपछि सर्वसाधारणमा त्रास छाएको छ ।
पार्टीले पहिल्यै कब्जा गरेको भए पनि एमाओवादीले गरिब, निमुखा जनता र सहिद तथा बेपत्ताहरूको अपमान गरी पँुजीपति वर्गको पक्षपोषण गरेको आरोप लगाउँदै आफूहरूले पुन: घरजग्गा कब्जा अभियान थालेको माओवादीका कैलाली एरिया नम्बर १० का इन्चार्ज शेरबहादुर देउवाले बताए । उनकै नेतृत्वमा गएको टोलीले सिंहको जग्गा कब्जा गरी झन्डा गाडेको थियो । कब्जा गरिएको जमिन खान, लगाउन नपुग्ने गरिब जनतालाई बाँडिने देउवाले बताए ।
पहिलो चरणमा पार्टी झन्डा गाडेर सिंहको जग्गा कब्जा गरेको देउवाले बताए । क्रमश: पँुजीपति वर्गको घरजग्गा कब्जा गरेर सुकुम्बासी तथा निम्नस्तरका समुदायलाई वितरण गरिने उनले बताए । ‘पार्टीको केन्द्रीय निर्देशनबमोजिम घरजग्गा कब्जा गर्ने अभियान थालिएको हो,’ देउवाले भने । जिल्ला प्रहरी कार्यालय कैलालीले माओवादी कार्यकर्ताले घरजग्गा कब्जा गरेको प्रारम्भिक खबर आएको र बुझ्ने काम भइरहेको जनाएको छ ।

प्रतिक्रिया