बायोग्यास प्लान्टको प्रयोग बढ्दो

biogasललितपुर : खाना पकाउन दाउराको प्रयोग गर्ने ललितपुरको दक्षिणी भेगमा बायोग्यास प्लान्टको प्रयोग बढ्न थालेको छ ।
सधैँ दाउरामा खाना पकाउँदै आएका आश्राङ्का सविता न्यौपानेले पनि आफ्नो घरमा बायोग्यास प्लान्ट जडान गरेका छन् । केही समय अघिसम्म पनि दाउरामा खाना पकाउने न्यौपानेलाई बायोग्यासले निकै सजिलो बनाएको छ । अब उनलाई न त दाउराका लागि जंगल जानुपर्ने चिन्ता छ, न दाउरामा खाना पकाउँदा हुने असुविधा नै । घरमा उनका तीनवटा गाई भएकाले बायोग्यासका लागि आवश्यक गोबरको जोहो यसैबाट हुने गर्छ ।
घरमा प्रयोग हुने शौचालयको ढल कहाँ फाल्ने भन्ने चिन्ताले पनि उहाँलाई सताउन छाडेको छ । ‘एउटा शौचालयको सेफ्टी ट्यांकी भरिएपछि त्यो छाप्रो नै भत्काएर अर्को नयाँ शौचालय बनाउनुपथ्र्यो’ उनले भने । बायोग्यासको जडानपछि शौचालयको ढल सिधै त्यसैमा जाने गर्छ, त्यसैले अर्को शौचालय कहाँ बनाउने भन्ने चिन्ता पनि छैन ।
यो भेगमा बायोग्यास प्लान्ट जडान गर्न अनुदान दिने भएकाले पनि यस भेगमा बायोग्यास जडान गर्नेको संख्या बढिरहेको प्रविधिज्ञ हीरामणि तिमल्सिनाले बताए । सरकारले अनुदान दिएकाले बायोग्यास प्लान्ट जडान गर्न चाहने परिवारले ६ हजार रुपियाँ मात्र खर्च गरे पुग्छ । आफ्नो घर नजिकैको सानो जग्गामा खाल्डो बनाएर प्लान्ट निर्माण गर्न सकिने भएकाले यसले ठूलो स्थान ओगट्दैन ।

प्रतिक्रिया