आर्मस्ट्रङद्वारा मुद्दा खारेजीको माग

आस्टिन (अमेरिका) : लान्स आर्मस्ट्रङले टेक्सास राज्यस्थित अदालतसित डालास प्रमोसन्स कम्पनीले उनीविरुद्ध दायर गरेको मुद्दा खारेज गर्नुपर्ने माग गरेका छन् । एससिए प्रमोसन्स कम्पनीले आर्मस्ट्रङ र उनका म्यानेजर बिल सट्याप्लटनविरुद्ध गत फेब्रुअरीमा डालासस्थित जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
उक्त कम्पनीले आर्मस्ट्रङले सातपटक विश्वविख्यात साइक्लिङ रेस टुर डे’ फ्रान्सको उपाधि जित्ने क्रममा प्रदर्शन क्षमता बढाउने प्रतिबन्धित औषधि सेवन गरेर सबैलाई धोखा दिएको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो ।
एससिए प्रमोसन्स कम्पनीले आर्मस्ट्रङको टोली व्यवस्थापन गर्ने कम्पनी टेलविन्ड स्पोर्ट्सलाई तीमध्ये अनेक जितका लागि ठूलो रकम भुक्तानी गरेको थियो । तर, अहिले ती सबै उपाधि आर्मस्ट्रङसित खोसिसकिएको छ । कम्पनीले उक्त मुद्दामा १.२ करोड डलर रकम क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ ।
हालै मात्र आर्मस्ट्रङलाई प्रतिबन्धित लागुऔषधि सेवन (डोपिङ) गरेर छलपूर्वक नाम, दाम र उपाधि हासिल गरेको प्रमाणित विगतले गर्दा अमेरिकामा हुन लागेको मास्टर्स साउथ सेन्ट्रल जोन पौडी च्याम्पियनसिपमा सहभागी हुनबाट रोक लगाइएको थियो ।
अन्तर्राष्ट्रिय पौडी संघ (फिना) ले आर्मस्ट्रङको सहभागिताबारे आपत्ति जनाएपछि उनलाई त्यसरी प्रतियोगिताबाट निकालिएको हो । यसअघि पौडी प्रयिोगितामा उनले भाग लिने विश्वव्यापी चर्चामा आएको थियो ।
अमेरिकास्थित डोपिङविरोधी संस्थाले आर्मस्ट्रङमाथि साइक्लिङ खेलक्रममा प्रदर्शन क्षमता बढाउने किसिमका प्रतिबन्धित औषधि प्रयोग गरेका कारण सबै किसिमका मान्यताप्राप्त प्रतियोगितामा भाग लिन नपाउने गरी आजीवन प्रतिबन्ध लगाएको थियो । (एजेन्सी)

प्रतिक्रिया