चार दिनपछि गर्भबाट मृत बच्चा निकालियो

Kamala-shahiधनगढी, २७ चैत । पतिको निर्घात कुटपिटका कारण घाइते भएकी पत्नीको पेटमै मरेको बच्चा चिकित्सकले निकालेका छन् । कञ्चनपुर पारसन–९ बिचफाँटाकी कमला शाहीको गर्भमै मरेको बच्चा चार दिनपछि निकालिएको हो ।

बिहीबार साँझ पति सेनु शाहीको कुटपिटका कारण कमलाको गर्भमा रहेको ६ महिनाको बच्चाको मृत्यु भएको थियो । सेनुको कुटपिटबाट गर्भमा रहेको बच्चा मर्नुका साथै कमला पनि अर्धचेत अवस्थामा धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गराइरहेकी छिन् ।
टाउको, पेट तथा अन्य संवेदनशील अंगमा गम्भीर चोट लागेकाले कमलाको गर्भको मृत बच्चा निकाल्न सकिएको थिएन । चिकित्सकले कमला केही होसमा आएपछि आइतबार राति उनलाई सुत्केरी व्यथा लाग्ने औषधि खुवाएर तथा जेल लगाई मृत बच्चा बाहिर निकालेका हुन् । मृत बच्चा पुरुष रहेको चिकित्सकले बताए ।
मृत बच्चा निकालेपछि कमलाको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए । मुस्किलले बोल्न सक्ने कमलाले आफू घरनजिकै धारामा पानी भर्न लागेका बेला मदिरासेवन गरेर आएका सेनुले थप मदिरासेवन गर्न पैसा मागेको तर पैसा छैन भनेपछि एकाएक कुटपिट गरेको बताइन् । ‘दुई चार मुक्का हान्दासम्म होसमा थिएँ, त्यसपछि केके भयो ? केके गर्‍यो ? मलाई केही थाहा छैन,’ कमलाले भनिन्, ‘अनाहकमा कुटाइ पनि खाएँ र गर्भमा रहेको बच्चा पनि गुमाएँ ।’
चार वर्षअघि प्रेमविवाह गरेका सेनुले त्यसअघि अलिअलि मात्र कुटपिट गर्ने गर्दथे । तर, बिहीबार भने मार्ने नियतले नै कुटपिट गरेको कमलाको भनाइ छ । कमलालाई मरणासन्न हुनेगरी कुटपिट गरेर सेनु फरार छन् ।
आर्थिक अवस्था कमजोर भएकी कमलाको साथमा डेढ वर्षकी छोरी सम्झना पनि छिन् । उनको नि:शुल्क स्वास्थ्य उपचारका लागि पहल भइरहेको सुदूरपश्चिमका डिआइजी सुुशीलवर सिंह थापाले बताए । कुटपिट गरेर फरार रहेका सेनुलाई पक्राउ गर्न नेपाल र भारतमा प्रहरी परिचालन गरिसकेको थापाले जानकारी दिए । सोमबार मृत बच्चाको पोस्टमार्टम गरिएको कैलाली प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको मुचुल्का र पोस्टमार्टम रिपोर्ट तयार पारी आवश्यक कारबाहीका लागि कञ्चनपुर प्रहरी कार्यालयलाई लेखेर पठाउने तयारी भइरहेको कैलालीका एसपी घनश्याम अर्यालले बताए । उनले सेनुलाई ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान मुद्दाअन्तर्गत कारबाही हुने बताए ।
बोक्सी आरोपमा कुटपिट भएको घटनाको स्थलगत अध्ययन गर्न आएकी राष्ट्रिय महिला आयोगकी सदस्य तथा प्रवक्ता मोहना अन्सारीले कमला उपचाररत अस्पतालमा गएर भेटेकी थिइन् । उनले कमलाको स्थिति दर्दनाक रहेको र आफूले नि:शुल्क उपचार तथा अन्य कुराका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताएकी थिइन् ।

प्रतिक्रिया